Logo
७ जेष्ठ २०८१, सोमबार
(January 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बामदेव र नारायणकाजीका लागि कसरत : सांसददेखि राष्ट्रपति-उपराष्ट्रपतिसम्म

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनमा पराजित नेकपा एमाले र माओवादी केन्द्रका दुई जना नेताको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । बर्दिया क्षेत्र नम्बर १ बाट पराजित एमाले वरिष्ठ उपाध्यक्ष बामदेव गौतम र गोर्खा २ बाट पराजित माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई कसरी व्यवस्थापन गर्ने भनेर दुई पार्टीबीचमा बहसको विषय बनेको छ । दुई नेताको व्यवस्थापनका लागि आन्तरिक रुपमा गृहकार्य समेत भइरहेको श्रोतले जनाएको छ । त्यसका लागि केही विकल्प अघि सारिएका छन् । अघि सारिएका विकल्पमा गौतमको व्यवस्थापन केही सहज जस्तो देखिए पनि श्रेष्ठको व्यवस्थापन भने चुनौतीपूर्ण देखिएको छ ।

वामदेवको पहिलो विकल्प
गौतमलाई सांसद बनाउन प्रतिनिधिसभा तर्फको सिट खालि गरेर उपनिर्वाचन मार्फत सांसद बनाउने विकल्पमा छलफल चलिरहेको छ । त्यसका लागि पनि तीन वटा विकल्प छन्, जुन निक्कै अनिश्चित छन् । पहिलो एमालेका नेता झलनाथ खनालको चाहना अनुसार राष्ट्रपति बनाएर ठाउँ खालि गर्ने । उनले राष्ट्रपति बन्ने चाहना देखाईरहेका छन् । त्यस अनुसार उनलाई राष्ट्रपति बनाएर उनको निर्वाचन क्षेत्र इलाम २ खाली हुनेछ । त्यहाँ लगेर बामदेवलाई उठाएर जिताउने पहिलो र तुलनात्मक रुपमा केही सहज विकल्प देखिएको छ । तर राष्ट्रपति एमालेले नै पाउँछ÷पाउँदैन त्यो अझै निक्र्यौल भइसकेको छैन । एमालेले राष्ट्रपति पाएमा पार्टी एकता पछि सभामुखमा माओवादीले दावी गर्नेछ । आफूले सभामुख नपाएमा भने माओवादीले राष्ट्रपति दावी गर्नेछ र त्यसका लागि नेता रामबहादुर थापा बादललाई अघि सारिने सम्भावना छ । त्यसो भएमा बामदेवका लागि पहिलो विकल्प बन्द हुनेछ ।

दोस्रो विकल्प
बामदेवलाई प्रतिनिधिसभामा छिराउन यो पनि सोच बनाइएको छ कि एमालेले जितेको ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवाल प्रहरीको डिआइजि विवादमा मुद्धा सर्वोच्च अदालतमा पुगेको छ र मुद्दा सिलवालले हारेमा सांसद बन्नबाट बञ्चित हुनेछन् । त्यस्तो अवस्थामा ललितपुर १ मा पुनः चुनाव गर्नुपर्ने हुन्छ । त्यसो भएमा गौतमलाई ललितपुर १ को उम्मेदवार बनाइनेछ ।

तेस्रो विकल्प
पहिलो र दोस्रो विकल्पले काम नगरेमा बामदेव गौतमलाई राष्ट्रपति वा उपराष्ट्रपति बनाएर व्यवस्थापन गरिनेछ । राष्ट्रपति वा उपराष्ट्रपति बन्न प्रतिनिसभामा चुनाव जितेको हुन नपर्ने भएकाले यो विकल्प उनका लागि खुल्ला त हुनेछ । तर बामदेव गौतम जत्तिको राजनीतिमा सकृय व्यक्ति सेरेमोनियल पदमा चित्त बुझाएर बस्लान त भन्ने प्रश्न भने जायज छ । त्यसो हुन नदिन वामदेव आफैलाई आफू निकट व्यक्तिको संसद सिट खालि गराउनका लागि मनाउन पनि सुझाव दिइएको स्रोतको दावी छ ।

नारायणकाजीका विकल्प
धेरैको चाहना विपरित माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई गोर्खा क्षेत्र नम्बर २ बाट चुनाव लडे, त्यसमा श्रेष्ठ पराजित भए । माओवादीका दोस्रो वरियताका नेताले चुनाव हारेपछि उनलाई कसरी व्यवस्थापन गर्ने भन्ने माओवादीमा टाउको दुखाइको विषय भएको छ । गौतमको जस्तो केही सहज विकल्प नभएपनि केही प्रयास गरिएको छ । उनका लागि सबैभन्दा सहज विकल्प भनेको राष्ट्रिय सभाको सदस्य बनाउने हो ।

तर उनले त्यो विकल्प अस्वीकार गरेमा भने माओवादीले पाउने एउटा पद राष्ट्रपति वा उपराष्ट्रपति नै हो भन्दै समाचार दैनिकमा खबर छ ।  त्यो पनि उपयुक्त नभएमा सांसद नभई पार्टीमा मात्र क्रियासिल हुने हो । माओवादीका एक नेताका अनुसार दुई पार्टीका दुई नेतालाई व्यवस्थापन गर्न हरेक विकल्पमा छलफल जारी राखिएको छ । कतिपयले सकारात्मक धारणा राखेपनि, कतिपयले चुनाव हारेकोले धेरै चिन्ता गर्न नहुनेमा पनि जोड दिएका स्रोत बताउँछ । ‘उसो भए किन चुनाव गरेको त, सिधै घोषणा गरिदिएको भए हुन्थ्यो नि ?’ असहमत पक्षको भनाई उधृत गर्दै स्रोतले भन्यो– ‘चुनाव हारेपछि पनि व्यवस्थापन !’

प्रकाशित मिति: Dec 31, 2017

प्रतिक्रिया दिनुहोस्