Logo
४ जेष्ठ २०८१, शुक्रबार
(January 1, 2018)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्दिरको छानामा जलप लगाउन साढे ७ किलो सुन खरिद

मनकामना (गोरखा) : क्षतिग्रस्त मनोकमना मन्दिरलाई जीर्णोद्वार गर्न र छानामा जलप लगाउन साढे ७ किलो सुन खरिद गरिएको छ । प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिरको मन्दिरको पुर्णनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मन्दिरको छानामा रहने तामाको पातामा १८ किलोग्राम सुनको जलप लगाउने कार्य सम्पन्न भएपछि भक्तजनका लागि मन्दिर खुल्ला गरिनेछ । अहिले मन्दिर छेउको टहरोबाट पूजाआजा हुँदै आएको छ ।

मनकामना मन्दिर जीर्णोद्वार समितिका सचिव प्रेमकुमार श्रेष्ठले पुरातत्व बिभागको मापदण्ड अनुसार नै धेरै बर्षसम्म टिक्ने गरी जलप लगाउने कार्य सुरु गरेको बताए । उनका अनुसार पाटनका १२ जना कालीगढले तामाको पातामा सुनको जलप लगाउने कार्यलाई अघि बढाएका छन् । यसका लागि समितिले साँढे सात किलोग्राम सुन खरिद गरिसकेको छ । जलप दीर्घकालीन रुपमा टिकाइ राख्ने हो भने कम्तिमा १८ किलोग्राम सुन आवश्यक पर्ने समितिको अनुमान छ । तामाको पातामा लगाएको सुनको जलप कम्तिमा एक सय बर्ष सुनौलो रहन्छ । पानीले नबिगार्ने उक्त जलप परेवाको बिष्टाले भने बिगार्न सक्ने कालीगढ ज्ञानेन्द्र शाह बताउँछन् ।

जलप लगाइँदै

२४ क्यारेटको सुन पारोमा मिसाएर तामाको पातामा दलिन्छ। त्यसपछि सुनको जलप लगाएको तामाको पातामा ग्यासले ताप दिएपछि तामाको पाता पहेंलो हुन्छ । अहिलेसम्म १३ वटा तामाको पातामा सुनको जलप लगाइसकिएको समितिले बताएको छ । सुन र सुनको जलप लगाएका पाता सुरक्षित तवरले भण्डारण गरिएको छ । मन्दिरको छानो चार हजार स्वायरफिट छ । मनकामना मन्दिरलाई आवश्यक पर्ने तामाको पाता काठमाडौंका सुन्दरकृष्ण शाहीले दान दिएका थिए ।

मन्दिर पुनर्निर्माण गर्दा अहिलेसम्म आठ करोड रुपैयाँ खर्च भइसकेको छ । मन्दिर जीर्णोद्वार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठका अनुसार, मन्दिर पुनर्निर्माणमा चाहिने एक लाख पच्चीस हजार गोटा इट्टा काठमाडौंका हिराकाजी महर्जनले निःशुल्क उपलब्ध गराएका छन् । मन्दिर पुनर्निर्माण गर्न सरकारले आ.ब. ०६७/०६८ मा दिएको एक करोड रुपैयाँमध्ये ५६ लाख रुपैयाँले सुन खरिद गरेको समितिले ४४ लाख रुपैयाँको काठ किनेको थियो ।

प्रकाशित मिति: Dec 31, 2017

प्रतिक्रिया दिनुहोस्