Logo
११ श्रावण २०८१, शुक्रबार
(December 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘प्रचण्डलाई अध्यक्ष मान्न सकिन्न बरु मधेसी दलसँग मिलेर सरकार बनाउँछौँ’

काठमाडौँ : चुनाव अघि एमाले माओवादी एकता भई नयाँ कम्युनिष्ट पार्टी बन्ने दावी गरिएतापनि चुनावपछि भने पार्टी एकता प्रक्रिया झन झन पेचिलो बन्दै गएको छ । एमाले–माओवादी एकतापछि बन्ने कम्युनिष्ट पार्टीको अध्यक्ष को बन्ने भन्ने विषयमा एमालेभित्र ठुलै विवाद छ । एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेताहरु तत्काल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अध्यक्ष बनाउन नहुने पक्षमा छन् भने, एमाले नेता झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमको प्यानल प्रचण्डलाई अध्यक्ष मानेर एकता गर्नुपर्ने पक्षमा छन् ।

एमाले माओवादी चुनावी तालमेलमा जानुअघि नै कार्यकारी पद विभाजन गर्नुपर्छ भन्ने सहमति दुवै दलबीच भएको थियो । तर निर्वाचनको परिणामपछि एमालेका नेतृत्वहरुले बोली फेरिरहेका छन् । त्यसै क्रममा हालै बसेको एमालेको स्थायी कमिटि बैठकमा ओलीले प्रचण्डलाई तत्काल अध्यक्ष मान्न नसक्ने प्रष्ट पारेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे एमाले उपाध्यक्ष वामदेव गौतमको घरमा बसेको बैठकमा शीर्ष नेतालाई बिफ्रिङ गर्दै ओलीले हाल प्रचण्डलाई अध्यक्ष मान्दा सरकार सञ्चालन र संगठन परिचालनमा बाधा पुग्न सक्ने ओलीको विश्लेषण थियो ।

ओलीले प्रचण्डलाई १ वर्षपछि भने अध्यक्ष मान्न सक्ने वातवरण सिर्जित हुने बताएका थिए । प्रचण्डलाई अध्यक्ष मान्नु परेको खण्डमा मधेसी दलसँग मिलेर सरकार बनाउन सक्ने विकल्प समेत ओलीले बैठकमा राखेका थिए भन्दै उज्यालो नेपालमा समाचार छ ।  ‘मैले हालै उपेन्द्र यादवजीसँग पनि कुरा गरेको छु, उहाँहरु संविधान संशोधनकोे ग्यारेण्टी भएको खण्डमा सरकारमा आउने वचन दिनुभएको छ, प्रचण्डलाई अध्यक्ष नै दिनुपर्ने हो भने अहिले हामी मधेसी दलसँग मिलेर सरकार बनाउँछौँ, पार्टी एकताको विषयमा संयोजन समितिमा छलफल हुँदै जान्छ ।’ बैठकमा ओलीले भनेका थिए ।

तर एमाले नेता माधव नेपालले माओवादीसँग मिलेर सरकार बनाउनुको विकल्प नभएको बताएका थिए । प्रचण्डलाई अध्यक्ष मानेर पार्टी एकता गर्दै वाम गठबन्धनको सरकार बनाउनुपर्ने नेपालको धारणा थियो ।

प्रकाशित मिति: Dec 24, 2017

प्रतिक्रिया दिनुहोस्