Logo
७ बैशाख २०८१, शुक्रबार
(December 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुस अन्तिम साता ईपीजीको छैटौं बैठक

काठमाडौँ : नेपाल र भारतबीचका सन्धि र सम्झौता पुनरावलोकनका लागि सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को छैटौं बैठक पुस अन्तिम साता तय भएको छ । नेपाली टोली पुन:संरचना गर्ने कि गठन प्रक्रिया परिवर्तन गर्ने भन्ने अन्योल देखिएकै अवस्थामा यो बैठक हुन लागेको हो । समूहको म्याद सकिने आगामी असारभित्र तीनवटा बैठक बस्नुपर्ने हुन्छ ।

पाँचौं बैठकसम्म भएका दुईपक्षीय छलफललाई अन्तिम रूप दिन दिल्लीमा गत कात्तिक २५ र २६ मा तय भएको छैटौं बैठक अन्तिम समयमा स्थगन भएको थियो । एक अधिकारीका अनुसार समितिको निश्चित समयसीमा, कार्यादेश र बजेट रहेकाले यसमा समय थप्न मिल्दैन । यसअघि दुईपक्षीय बैठकले तय गरेका र कार्यान्वयनमा आउन नसकेका विषयमा आन्तरिक छलफल भइरहेको जनाइए पनि देखिने गरी थप काम हुन सकेको छैन ।

सांसदको हैसियतमा ईपीजी सदस्य रहेका राजन भट्टराई काठमाडौं ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपछि उनको सदस्यताले निरन्तरता पाउने कि नपाउने भन्ने अन्योलबारे परराष्ट्र अधिकारीले छलफल अघि बढाएका छन् । यसबारे निक्र्याेल गर्न आइतबार ईपीजीका नेपाली सदस्यहरुको बैठक बस्दै छ ।

ईपीजीमा दुवैतर्फबाट ४/४ सदस्य छन् । ३ भिन्न क्षेत्रका विज्ञ र एक जना सांसद । २०७१ साउनमा नेपाल र भारतका परराष्ट्रमन्त्रीहरूबीच ईपीजीमा प्रतिनिधित्वबारे भएको सहमतिअनुसार प्रक्रिया अघि बढेको थियो । भट्टराई सांसदको कोटाबाट ईपीजी सदस्य बने पनि मन्त्रिपरिषद्बाट सिफारिस हुँदा सांसद नलेखिएकाले उनको सदस्यतामा कुनै असर नपर्ने तर्क पनि गरिएको छ ।

टोलीलाई संसद्मा समेत जिम्मेवार बनाउने तवरले यसको प्रतिनिधित्वमा सहमति भएको थियो । भट्टराई त्यतिबेला समानुपातिकतर्फका सांसद थिए । यसअघि दिल्लीमा तय भएको छैटौं बैठक नेपालको निर्वाचन र भारतीय टोलीका सदस्य जयन्त प्रसादको स्वास्थ्यका कारण स्थगन भएको थियो । #फाइल फोटो

प्रकाशित मिति: Dec 22, 2017

प्रतिक्रिया दिनुहोस्