Logo
१२ श्रावण २०८१, शनिबार
(December 22, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकल संक्रमणिय की बहुमतिय मा ५ दल २ खेमामा

काठमाडौँ : प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक बसेको प्रमुख पाँच दलको बैठकमा कुनै सहमती जुट्न नसकेपछि निष्कर्षविहीन टुंगिएको छ । बैठकमा नेपाली कांग्रेसले एकल संक्रमणिय आधारमा राष्ट्रिय सभा गठन हुनुपर्ने, राष्ट्रियसभा गठनपछि मात्रै सरकार गठन गर्नुपर्ने अडान राखेको थियो भने मधेस केन्द्रित दलबाट उपेन्द्र यादव र महन्थ ठाकुरले पनि आफूहरु एकल संक्रमणीयकै पक्षमा रहेको बताएका थिए । तर नेकपा एमाले र माओवादीले भने फरक मत राखेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटार स्थित बसेको बैठकमा ५ दलका नेताहरु उपस्थित भएता पनि बैठक भने दुई खेमामा रुपान्तरित भएको थियो । एकल संक्रमणिय आधारमा की बहुमतिय आधारमा भनी बैठकमा सहभागी नेताहरु दुई खेमामा बाँडिएका थिए । निर्वाचन लगतै निर्वाचन आयोगको माग अनुसार सरकारले तयार पारेको राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएपनि अध्यादेश त्यही अड्किएपछि यसको गाँठो फुकाउन प्रधानमन्त्री देउवाले शुक्रवार बिहान पाँच दलको बैठक बोलाएका थिए ।

तर, दलहरु आ–आफ्नै अडानबाट टसकोमस नभएपछि पहिलो बैठक नै निष्कर्षविहीन बनेको हो । निर्वाचनपछि राष्ट्रिय दल बनेका एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका शीर्ष नेताहरुको बैठकले राष्ट्रिय सभा गठन, समानुपातिकतर्फका सांसदको नाम आयोगमा पठाउनेसहितका विषयमा छलफल गरेका थिए ।
बैठकपछि काङ्ग्रेस नेता रामचन्द्र पौडेलले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि राष्ट्रपति समक्ष सरकारले पेश गरेको अध्यादेश प्रमाणिकरण नभएसम्म सहमति नहुने बताए ।  ‘अध्यादेश नआएसम्म सहमति हुदैन, राष्ट्रिय सभा गठन नभएसम्म प्रतिनिधिसभा पूर्ण हुँदैन, पौडेलले सञ्चारकर्मीसँग भने । उनले सहमतिका लागि माओवादी केही लचक हुन खोजेपनि एमालेले आफ्नो अडान नछाड्दा सहमति नभएको दावी गरे ।

बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले सरकारले पहिला सहमति गरेर अध्यादेश राष्ट्रपतिकोमा पठाउनुपर्नेमा पहिला अध्यादेश पठाएर अहिले सहमति खोजेकाले सहमति नभएको बताए । नेता श्रेष्ठले संसद सकिएपछि सरकारले अरुलाई छल्न अध्यादेश ल्याएको भन्दै यसमा आफूहरुको सहमति नहुने बताए । नयाँ सरकार र नयाँ प्रकृया रोक्न सरकारले फरक बाटोबाट अध्यादेश ल्याएको भन्दै उनले राष्ट्रियसभा निर्वाचनमा सहमति नजुटेपनि केन्द्रीय सरकार निर्माणको प्रकृया नरोकिने बताए । उनले अझै सहमतिका लागि दलहरुबीच प्रयास हुने पनि जानकारी दिए ।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सम्बन्धी अध्यादेश नै असंवैधानिक रहेको बताएका थिए । तर, सत्तारुढ दल कांग्रेसका नेताहरुले अध्यादेश कानुनसम्मत भएको भन्दै राष्ट्रपतिले प्रमाणीकरण गरेपछि राष्ट्रिय सभा गठन र नयाँ सरकार गठनको प्रक्रिया सहज रुपमा अघि बढ्ने बताएका थिए । एमाले अध्यक्ष ओली बालुवाटार पुग्नु अघि प्रधानमन्त्री देउवाले मधेसकेन्द्रित दुई दलका नेतासँग छलफल गरेका थिए ।

बैठकमा कांग्रेसबाट प्रधानमन्त्रीसहित नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, विमलेन्द्र निधि, एमालेबाट अध्यक्ष केपी ओली, नेता माधव नेपाल, सुवासचन्द्र नेम्वाङ र माओवादीबाट अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा सहभागी थिए । त्यस्तै राजपाबाट अध्यक्ष महन्ठ ठाकुर र संघीय समाजवादी फोरमबाट अध्यक्ष उपेन्द्र यादव सहभागी रहेका थिए ।

दलहरुबीच राष्ट्रिय सभा सदस्य निर्वाचन एकल संक्रमणीय वा बहुमतिय प्रणाली अन्र्तगत गर्ने भन्नेमा काङ्ग्रेस र बाम गठबन्धनबीच विवाद हुदै आएको छ । काङ्ग्रेस एकल संक्रमणीय प्रणालीको पक्षमा छ भने एमाले–माओवादी बहुमतिय प्रणालीको पक्षमा छन् ।

प्रकाशित मिति: Dec 22, 2017

प्रतिक्रिया दिनुहोस्