Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्थ र उपेन्द्र काठमाडौंमा तर यी कार्यमा सक्रिय छन् राजपा-फोरमका अन्य नेता

काठमाडौ : उपेन्द्र यादव र महन्थ ठाकुर बाहेक राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका नेताहरु अझै पनि गाउँगाउँमा डुलिरहेका छन् । बधाई तथा शुभकामना कार्यक्रममा उनीहरु यति व्यस्त छन् कि सम्पर्क गर्न पनि उनीहरुलाई गाह्रो रहेको स्वयम् कार्यकर्ताहरु बताउँछन । एक कार्यकर्ताले भने–चुनाव जित्ने नेताजीहरुलाई फोनै लगाउन गाह्रो छ, लागिहाले पनि फोन उठ्दैन ।’

नेताहरु बधाई थाप्न नै ब्यस्त भएपछि सरकार निर्माण तथा अन्य समसामयिक एजेण्डामा छलफल गर्न बोलाइएको राजपा नेपालको बैठक नै स्थगित भएको छ । राजपाले शुक्रबारको लागि बैठक बोलाएका थिए । नेताहरु राजधानी फर्किन नसक्ने अवस्थामा नरहेका कारण बैठक स्थगित गरिएको सो पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले बताए ।

सर्लाहीमा रहेका नेता यादवले मधेशका नेताहरुलाई अझै एकहप्ता यतै लाग्ने बताए । चुनावको समयमा भन्दा अहिले दौडधुप बढी भइरहेको उनले सुनाए । प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवार समेत रहेका यादव महेन्द्र राय यादवको साथमा विजय जुलुसमा हिँडिरहेका छन् । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले पनि मतदाताको घरघरसम्म पुग्न अझै पाँचदिन जति लाग्ने बताए । उनले भने, ‘मतदाताको घरघरमा पुग्न अझैं ५ दिनजति लाग्छ । जसको मत हामीले लिएका छौं भेटेर धन्यवाद त भन्नुपर्छ ।’

काठमाडौ फर्किन हतार नभएको भन्दै उनले भने, ‘मलाई न प्रधानमन्त्री बन्नुछ न मुख्यमन्त्री बन्नुछ, केही दिन मधेशमै बस्छु ।’ काठमाडौं फर्किन किन ढिलाई हुँदैछ भन्ने जिज्ञासामा अनिल झाले भने, ‘हिमाल र पहाड जस्तो मधेसमा सजिलो छैन । पहाडमा सानो सानो गाउँ हुन्छन् । कम जनसँख्या हुन्छ । घुमेर चाँडै भ्याइन्छ तर तराई मधेशका गाउँपालिका, नगरपालिका ठूला ठूला छन् । एउटा गाउँपालिका घुम्न एकदिनमा भ्याइँदैन ।’ झाले रौतहट १ बाट प्रतिनिधिसभा सदस्यमा जितेका हुन् ।

सर्लाही २ बाट प्रतिनिधिसभा चुनाव जितेका महेन्द्र राय यादवको अवस्था पनि त्यस्तै छ । उनी पनि चार–पाँच दिन फुर्सद हुने कुनै छाँटकाँट नरहेको बताउँछन् । चुनावको समयमा जस्तै विहान छवजेदेखि मतदातालाई बधाई दिन तथा शुभकामन आदान प्रदान गर्न हिडने गरेको उनले बताए । ‘चुनावको समयमा कसैको घरमा गएपनि नगएपनि त्यति फरक पर्दैन तर चुनाव जितेपछि यो कुराको धेरै ख्याल गर्नुपर्छ’, उनले भने, ‘जितेपछि कसैको घरमा गइएन भने गलत सन्देश जानसक्छ । जसले मत दिएर जिताएका छ, उसको घरमा जान अल्छि मान्नु हुँदैन ।’

उनले काठमाडौं फर्किन हतार नभएको भन्दै चिसो मौसममा मधेसी जानताको न्यानो माया पाइरहेका बताए । सप्तरी २ बाट चुनाव जितेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भने मतदाताको घरघरमा गएर धन्यवाद दिएर बुधबार काठमाडौं फर्किएका थिए भन्दै रातोपाटीमा खबर छ । व्यस्तताकै बीचमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेटघाटका लागि बोलाएपछि उनी काठमाडौ फर्किएका हुन् । यस्तै महोत्तरी २ बाट प्रतिनिधिसभामा विजयी भएका राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर पनि तीन–चार दिन मतदाताको घरघर गएर धन्यवाद दिएपछि अस्वस्थ्य भएको भन्दै काठमाडौं फर्किएका थिए ।

प्रकाशित मिति: Dec 21, 2017

प्रतिक्रिया दिनुहोस्