Logo
११ श्रावण २०८१, शुक्रबार
(December 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एक-दुई दिनभित्रै एमाले र माओवादीवीच पार्टी एकता : ओली

काठमाडौं, ५ पुस । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एक दुई दिनभित्रै एमाले र माओवादी केन्द्रवीच पार्टी एकता हुने स्पष्ट पारेका छन् । उनले भने,‘केही तत्वहरु अहिलेपनि हाम्रो एकता भाँड्न लागिपरेका छन्, यताको कुरा उता पुर्याउने र उताको कुरा यता ल्याउने गरिरहेका छन्, अब ढुक्क रहनुहोस्, नआँत्तिनुहोस पार्टी एकता हुन्छ।’ उनले एमाले र माओवादी खोजेरपनि नपाईने भन्दै छिट्टै एकीकृत पार्टी बन्ने विश्वास दिलाए ।

उनले भने,‘अरु कसैले भनेजस्तो हल्लाको पछि नलाग्नुहोस्, एमालेले माओवादी निल्छ भन्ने कुरा गलत हो, अब एमालेले माओवादी निल्छ, माओवादीले एमाले निल्छ, नयाँ पार्टी बन्छ ।’ उपत्यकाबाट विजयी वाम गठबन्धनका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुलाई बधाइ दिन बुधबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले दुई पार्टीवीच एकता हुनेमा शंका नगर्न आग्रह गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले छिट्टै सरकार गठन हुने समेत विश्वास दिलाए । उनले विजयी सांसदहरुको ईमान तलमाथि पाईए पार्टीलाई सह्य नहुने समेत चेतावनी दिए । फरक प्रसँगमा अध्यक्ष ओलीले कांग्रेसप्रति व्यंग्य गर्दै चुनावमा नहार्ने हो भने चुनावमा भाग नै नलिए हुन्छ भन्ने अभिव्यक्ति दिए । ओलीले आफ्नो स्वास्थ्यबारे धेरै प्रश्न सामना गर्नु परेको भन्दै स्वास्थ्य राम्रै रहेको बताएका छन्। आयुका बारेमा पनि उनले प्रष्ट्याउँदै आयु सीमित हुने बताए।
प्रतिनिधि तथा प्रदेश सभा चुनावमा विजयी वाम उम्मेद्वारलाई बधाइ दिन आयोजित कार्यक्रममा ओलीले स्वास्थ्य र आयुबारे जानकारी दिन केहीबेर समय खर्चे ।

उनले दोहोर्याए–‘आयु कति छ छोड्दिनुस् न, असीमित आयु कसैको पनि हुँदैन। आयुको सीमा हुन्छ। इमानमा सीमा हुँदैन। हामी पूर्ण इमानका साथ काम गर्छौं ।’ आयु त सीमित छ भने इमान पनि सीमित हुनुपर्छ भन्ने हुँदैन भन्दै अध्यक्ष ओलीले भने ‘हाम्रा कतिपय कुरा सीमित होलान् तर देश र जनताका लागि पूर्ण इमानका साथ काम गरिन्छ।’

राष्ट्रियसभासम्बन्धी अध्यादेश संविधानविपरीत 

ओलीले सरकारले राष्ट्रपतिसमक्ष पेस गरेको राष्ट्रियसभासम्बन्धी अध्यादेश संविधानविपरीत भएकाले जारी हुन सम्भव नरहेको बताए । उनले बहुमतीय प्रणालीबाट राष्ट्रियसभा गठन हुने भनी संसदीय समितिबाट समेत पारित भइसकेको विधेयकलाई लत्याएर वर्तमान सरकारले आफूखुशी एकल संक्रमणीय प्रणालीको व्यवस्था गरी पेस गरेको अध्यादेश जारी हुन सम्भव नरहेको दाबी गरे ।

सरकारका प्रवक्ताले मंगलबार दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै अध्यक्ष ओलीले राष्ट्रपतिलाई विवादमा नतान्न आग्रह गरे । अध्यक्ष ओलीले जनादेशबमोजिम मुलुकको स्थिरता र समृद्धि तथा वाम पार्टीबीचको एकतामा कुनै शंका नराख्न पनि आग्रह गरे । उनले एमाले र माओवादी केन्द्रले एकले अर्काेलाई निल्ने नभई दुवैले दुवैलाई निलेर समाजवादउन्मुख तेस्रो नयाँ पार्टी बन्ने पनि स्पष्ट गरे ।  #तस्विर : मुकुन्द कालिकोटे

प्रकाशित मिति: Dec 20, 2017

प्रतिक्रिया दिनुहोस्