Logo
८ जेष्ठ २०८१, मंगलबार
(December 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

९ घण्टापछि ग्यास प्लान्टको आगलागी नियन्त्रणमा, २ जनाको जलेर मृत्यु

वीरगञ्ज : वीरगञ्ज महानगरपालिका–२२ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा लागेको आगलागी नियन्त्रणमा अाएकाे छ । यसअघि भीषण आगालागीका कारण सुरक्षाकर्मीसहितका दमकलको टीम एक किलोमिटर परै रोकिएका थिए । बिहान करीब ७ बजेको आसपासबाट सुरु भएको आगलागी अहिले दिउँसो ३ बजे यता नियन्त्रणमा आएको प्रहरी भनाई छ ।

आगलागी नियन्त्रणमा अाएपछि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी उद्योगभित्र प्रवेश गरेर क्षतिको विवरण संकलनका साथै आवश्यक काम थालेको छ । ९ घण्टापछि आगलागी नियन्त्रणमा अाएकाे सशस्त्र प्रहरी प्रवक्ता डिआईजी बाबुराम पाण्डेले जानकारी दिए । उनका अनुसार भरेर राखिएका २ ट्रक ग्यास सिलिन्टर पड्किएको छ भने अझैं पनि ठाउँठाउँका आगोका ज्वालाहरु देखिइरहेका छन् । यद्यपी अब भने दमकलको सहायताले आगो निभाउन सहज देखिएको छ ।

आगो निभाउन गएको महानगरपालिकाको दमकल जल्दा त्यसमा कार्यरत दुईजना कर्मचारीको जलेर मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए । आगलागी भएसँगै त्यहाँ पुगेको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलले आगो निभाउने प्रयास गर्दा गर्दै ती दुबै जना कर्मचारीको जलेर मृत्यु भएको हो ।

प्लान्टमा ग्यास लिकिज भएर आगलागी सुरु भएको बताइएको छ । आगो नियन्त्रण बाहिर गएपछि प्रहरीले जगरनाथपुर सुखचैना लगायतका एक किलोमिटर वरिपरि रहेको बस्ती खाली समेत गराइएको छ ।

मृत्यु हुनेमा मधुसूदन मिश्र र यादवप्रसाद अधिकारी रहेका छन् । यस्तै बारुणयन्त्रका कर्मचारी अम्विका पटेल, सञ्जीव नेपाल, अरुण महतोलगायत ६ जना जलेर सख्त घाइते भएको दमकलका निमित्त इन्चार्ज शेरबहादुर कार्कीले बताए ।

सो आगलागीमा परी सख्त घाइते भएकामध्ये अग्नि नियन्त्रक अरुणकुमार महतो र सञ्जीव नेपाललाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

 

प्रकाशित मिति: Dec 20, 2017

प्रतिक्रिया दिनुहोस्