Logo
२९ मंसिर २०८१, शनिबार
(December 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाँदाजाँदै ‘अलोकप्रिय’ निर्णय गर्दै देउवा

हेमराज पौडेल, काठमाडौं : आम निर्वाचनबाट वाम गठबन्धनले बहुमत ल्याइसकेको बेला शेर बहादुर देउवा नेतृत्वको सरकार काम चलाउ सरकारको हैसियतमा लगभग पुगिसकेको छ ।

यो सरकारले कुनै पनि महत्वकांक्षी निर्णय गर्न नहुने वाम गठबन्धनका शिर्षस्थ नेताहरुले बताइरहेको बेला देउवा नेतृत्वको सरकारले मापदण्डबिनै आर्थिक सहायता वितरण क्रमलाई जारी राख्ने तयारी गरेको छ ।

समाचार स्रोतका अनुशार देउवाले आर्थिक साहयताका नाममा ५ सय बढीलाई झन्डै ८ करोड रुपैयाँ वितरण गर्न प्रक्रिया अघि बढाएको बुझिएको छ । वाम गठबन्धन नयाँ सरकार गठनको संघारमा पुगेकै बेला देउवा नेतृत्वको सरकारले त्यति ठूलो परिमाणमा रकम बाँड्ने तयारी गरेको हो ।

यसले जाँदाजाँदै शेरबहादुर फेरि अलोकप्रिय बन्ने निश्चित देखिएको छ । गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाको निर्देशनमा गृह मन्त्रालयले आर्थिक सहायता दिन तयार पारेको प्रस्ताव मंगलबार मन्त्रिपरिषद्मा पुगेको बताइएको छ । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले रकम वितरणको निर्णय गर्नेछ । गृहले ५० हजारदेखि ५ लाख रुपैयाँ दिन प्रस्ताव गरेको छ ।

यसअघि ६ कात्तिकमा सरकारले ३ सय १० कार्यकर्तालाई एकै दिन ४ करोड ५८ लाख, ६ असोजमा ८ सय ८७ जनालाई १० करोड, साउनरभदौमा ४ करोड ७६ लाख वितरण गरेको थियो ।

अहिलेको सूचीमा सत्तासीन दलका कार्यकर्ता तथा उच्च नेता निकटका व्यक्ति छन् । गृह मन्त्रालयका अनुसार आर्थिक सहायता पाउनेको सूचीमा प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुरा तथा आसपासका कैलाली, कञ्चनपुर जिल्लाका कार्यकर्ता बढी छन् । यस्तै, विभिन्न मन्त्री निकटका कार्यकर्ता पनि उक्त सूचीमा रहेको बुझिन्छ ।

प्रकाशित मिति: Dec 20, 2017

प्रतिक्रिया दिनुहोस्