आ–आफ्नो ठाउँलाई अस्थायी मुकाम तोक्न दवाव !
काठमाडौं । अस्थायी मुकाम आ–आफ्नो ठाउँलाई तोक्न स्थनीय दलका प्रतिनिधिहरुले सरकारले दबाब दिइरहेको बुझिएको छ ।
वाम गठबन्धनले विरोध गरे पनि सरकार प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख नियुक्त गर्ने तयारीमा गरिरहेको बेला निर्वाचन लगत्तै विभिन्न क्षेत्रबाट स्थानीय दलका प्रतिनिधीले आफ्नो क्षेत्रलाई प्रदेशको अस्थायी मुकाम तोक्न दवाव दिइरहेको बालुवाटार स्रोतले जनाएको हो ।
जस्तै प्रदेश नं ५ का लागि बुटवललाई राजधानी घोषणा गर्न दवाव परेको छ । त्यस्तै, दाङका दलका नेता÷कार्यकर्ताले घोराही र तुल्सीपुरलाई प्रदेश ५ को राजधानी घोषणा गर्न दवाव दिएका छन् । यस्तै प्रदेश नं ३ को राजधानी ललितपुर र भत्तपुरलाई बनाउन छुट्टा छुट्टै लविङ भइरहेका छन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रदेश नं ४ बाहेक हरेक प्रदेशको अस्थायी राजधानी कहाँ बनाउने भन्नेबारे विवाद छ । यस्ता विषयले पनि सरकारलाई मुकाम तोक्न असजिलो भएको छ ।
सरकारले प्रदेशको राजधानी तोक्न सकिने सबै सम्भावित क्षेत्रमा प्रदेश कार्यालय रहने भवनहरुको अध्ययन भएको जनाएको छ । तर अधिकाशं त्यस्ता ठाउँमा प्रयोग भइरहेका भवनहरुलाई प्रस्ताव गरिएको छ । त्यस्ता भवनबाट प्रदेश कार्यालय संचालन गर्न मुस्कील छ ।
समाचार स्रोतका अनुसार प्रदेश प्रमुख नियुत्तीकै लागि सोमबार मन्त्रिपरिषदको बैठक नबसेको बताए । यसअघि सरकारका प्रवक्ता मोहन बस्नेतले सोमबारको मन्त्रिपरिषदको बैठकले प्रदेशको अस्थायी मुकाम तोक्ने बताएका थिए ।
यता, प्रधानमन्त्री देउवाको सचिवालयले बढीमा १० पुसभित्र नियुक्त गर्ने अन्तिम गृहकार्य भइरहेको जनकारी दिएको छ । अस्थायी मुकाम तोक्नुपूर्व सरकारले विभिन्न संभावित क्षेत्रहरुको अध्ययन गरेको थियो । सरकारले एउटा प्रदेशका लागि दुइ वा त्यो भन्दा बढी क्षेत्र प्रस्ताव गरेको थियो ।
यता, प्रदेश प्रमुखको नियुक्तीको सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो मन्त्रिपरिषद् बैठकमा राजनीतिक पृष्ठभूमि नभएका, समाजका प्रतिष्ठित व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्त गरिने बताएका थिए ।
यी हुन प्रदेश प्रमुखका आकंक्षी
स्रोतका अनुसार सरकारले एक प्रदेशका लागि कम्तीमा तीनजनाको नाममा छलफल गरिरहेको छ । तर, टुंगो लागिसकेको छैन । शिक्षाविद् केदारभक्त माथेमा, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्वकार्यबाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ, पूर्वसचिवहरू विद्याधर मल्लिक, दामोदर गौतम, भोजराज घिमिरे, तीर्थमान शाक्य, विमल कोइरालाको नाममा छलफल चलेको छ ।
पूर्वसचिवहरू माधव रेग्मी, शान्तराज सुवेदी, शान्तबहादुर श्रेष्ठ, विश्वप्रकाश पण्डित, कृष्ण ज्ञवाली, भोला सिवाकोटीले पनि प्रदेश प्रमुखका लागि लबिङ गरिरहेका बुझिएको छ ।
यसरी दवाव र लबिङ दोहोरो रुपमा चलेको छ । उता वाम गठबन्धनले भने यो सरकार काम चलाउ भएकाले वर्तमान सरकारले महत्वपूर्ण खाले कुनै निर्णय गर्न नहुने बताउँदै आएको छ । यसवीचमा देउवालाई पक्कैपनि प्रदेश मुकाम र प्रमुख तोक्न सहज हुनेछैन् ।