Logo
१२ श्रावण २०८१, शनिबार
(December 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वीरगञ्ज–रक्सौल नाका बन्द गर्ने स्थानियको चेतावनी

वीरगञ्ज : सीमावर्ती भारतीय शहर रक्सौलका बासिन्दाले वीरगञ्ज–रक्सौल नाका बन्द गर्ने चेतावनी दिएका छन् । भारतीय रेलवेले नेपालका लागि आउने क्लिङ्कर र अन्य डष्टी कार्गो रक्सौलमा अव्यवस्थित रूपमा लोडअनलोड गरेको भन्दै त्यहाँका स्थानीय आन्दोलित भएका हुन् । चरणबद्ध आन्दोलन गर्दै आएका रक्सौलवासीले यही डिसेम्बर २५ (पुस १०) देखि नाका ठप्प पार्ने घोषणा गरेपछि स्वदेशी आयातकर्ता चिन्तित देखिएका छन् ।

रेलवे यार्डमा अनलोड गरिने डष्टी कार्गोका कारण वायु प्रदूषण बढेको भन्दै उनीहरूले रक्सौलबाट लोडअनलोड अन्यत्र सार्न माग गरेका छन् । सङ्घर्ष समिति बनाएर सोमवारदेखि रक्सौल बजारमा प्रदर्शन गर्दै आएकामा २४ तारीखसम्म माग पूरा नभएर त्यसको भोलिपल्टदेखि नेपालतर्फको आवागमन ठप्प हुने गरी धर्ना दिने बताएका छन् । यो नाकाबाट क्लिङ्कर, कोइला, फ्लाइयास, जिप्सम, स्ल्याग, आइरनओरलगायत औद्योगिक कच्चा पदार्थ भित्रिन्छन् ।

ठूलो परिमाणमा आयात हुने क्लिङ्करको धूलोले मानव स्वास्थ्यमा गम्भीर समस्या पारेको भन्दै रक्सौलका बासिन्दाले विगत १० वर्षदेखि विरोध गर्दै आए पनि रेलवेले अहिलेसम्म उचित निकास दिन सकेको छैन । यसबाट स्वदेशी उद्योगले कच्चा पदार्थको आयातमा समस्या झेल्दै आउनु परेको छ ।

रक्सौलका बासिन्दाले यार्ड स्थानान्तरणको माग गर्दै आएका छन् । न्यायालयसम्म पु¥याइएको मुद्दामा त्यहाँको अदालतले यार्ड अन्तै सार्न आदेश दिइसकेको छ । विगतमासमेत यस्ता आन्दोलन भएका थिए । आन्दोलनलाई त्यहाँको राजनीतिले सघाइरहेको छ । गतवर्ष मङ्सिरमै नेपालतर्फको आवागमन अवरुद्ध पारेका थिए । त्यसबेला रक्सौल प्रशासनको चेतावनीपछि प्रदर्शनकारी पछि हटेका थिए । रेलवेले रक्सौलबाट करीब १८ किलोमिटर दक्षिणमा पर्ने रामगढवामा यार्ड निर्माणको प्रक्रिया अघि बढाएको छ । निर्माणमा विलम्ब भएपछि रक्सौलवासी अहिले फेरि आन्दोलनमा उत्रिएका हुन् ।

बारा र पर्साका १३ ओटा सिमेण्ट उद्योगले यही नाकाबाट कच्चा पदार्थ क्लिङ्कर भिœयाउँछन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सचिव एवम् आयातकर्ता माधव राजपालले रक्सौलका बासिन्दाले मुख्य नाका बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको बताए । ‘अहिले रक्सौलमा विरोध, जागरण र खबरदारीसभाजस्ता प्रदर्शन भइरहेका छन्,’ राजपालले भने, ‘नाका नै बन्द भएमा औद्योगिक कच्चा पदार्थ र अन्य दैनिक उपभोग्य वस्तुको आयात ठप्प हुन्छ ।’

कुल वैदेशिक व्यापारमध्ये ५० प्रतिशतभन्दा बढी आयात हुने नाका बन्द भएपछि औद्योगिक कच्चा पदार्थसँगै आपूर्ति व्यवस्थापन नै खलबलिने आयातकर्ताको भनाइ छ । पेट्रोलियम पदार्थको अधिकांश परिमाण यही नाकाबाट भित्रिन्छ ।

सङ्घका सचिव राजपाल भारतीय रेलवे र त्यहाँका बासिन्दाबीचको समस्यामा स्वदेशी आयातकर्ता पीडित हुँदै आएको बताउँछन् । ‘यो समस्या रेलवेको भएकाले उसले तत्काल समाधान निकाल्नुपर्छ । उनीहरूको व्यवसाय र बासिन्दाको लडाइँको चेपुवामा हामी पर्नु दुःखद विषय हो,’ उनले भने ।

रेलवेले रामगढवामा बनाइरहेको यार्डमा झनै समस्या हुनसक्ने आशङ्का आयातकर्ताको छ । वीरगञ्जबाट नजिकै रहेको रक्सौलबाट मालसामान भिœयाउनै कठिनाइ भइरहेकोमा १८ किलोमिटरको दूरीले आयात झनै समस्याग्रस्त हुने दाबी उनीहरूको छ । ‘रामगढवाका बासिन्दाले पनि प्रदूषणको विरोध गर्न सक्ने सम्भावना नभएको होइन,’ आयातकर्ताले भने ।
स्टार सिमेण्ट उद्योगका सञ्चालक राजेश क्याल समस्याको दीर्घकालीन समाधान खोजिनुपर्ने बताउँछन् । सञ्चालक क्याल वीरगञ्ज सुक्खा बन्दरगाहसम्म रेलसेवा आइपुगेकाले रक्सौलको सट्टा वीरगञ्जमै अनलोडको व्यवस्था मिलाउन सुझाव दिन्छन् । ‘रेलवेलाई पथलैयासम्म विस्तार गरी पायक पर्ने ठाउँमा अनलोड गर्न सकिन्छ । यसो गर्दा इन्धन र अन्य औद्योगिक कच्चा पदार्थको आयातसमेत सहज हुन सक्छ,’ क्यालको भनाइ छ ।

आयातकर्ताले यो समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराइसकेका छन् । नेपाल शालिमार सिमेण्ट प्रालिका सञ्चालक अशोककुमार वैद सरकारले समस्याको निकासमा प्रभावकारी पहल नगरेको आरोप लगाउँछन् । वर्षौंदेखि भोग्दै आएको समस्यामा सरकार गम्भीर नबनेको उनको भनाइ छ ।

समाधानका लागि सरकारलाई आग्रह गरिएको राजपालले बताए । नेपाल सरकारले जग्गा उपलब्ध गराएमा भारतीय पक्ष रेलसेवा विस्तारका लागि तयार देखिएको नेपाल–भारत सहयोग मञ्चका अध्यक्षसमेत रहेका वैदले बताए । वीरगञ्जको भारतीय महावाणिज्य दूतावासमा समस्याबारेमा जानकारी दिइएको र यो कूटनीतिक निकाय रेलसेवा विस्तारमा सकारात्मक रहेको भनाइ वैदको छ ।

प्रकाशित मिति: Dec 17, 2017

प्रतिक्रिया दिनुहोस्