Logo
११ श्रावण २०८१, शुक्रबार
(December 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकै पार्टी का ३ नेता तर एउटै क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धी

काठमाडौं । तीन महिनाअघिसम्म एउटै पार्टीमा रही एउटै झण्डा बोकेर हिँड्ने तीन सहकर्मी अहिले छुट्टाछुट्टै पार्टीको झण्डा बोकेर चुनावी मैदानमा उत्रिएपछि सर्लाही–२ को निर्वाचन रोचक बनेको छ ।

सोही क्षेत्रबाट राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवसँगै राजपाको महामन्त्री पद परित्याग गर्दै नेपाली कांग्रेसबाट जंगीलाल राय र राजपाको जिल्ला अध्यक्ष परित्याग गर्दै नेकपा (माओवादी केन्द्र) बाट दिनेश राय यादव चुनावी प्रतिस्पर्धामा उत्रेपछि यो निर्वाचन क्षेत्रको प्रतिस्पर्धा रोचक बनेको हो।

राजपाका अध्यक्ष मण्डलका मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतो र महेन्द्रराय यादवको गृहजिल्ला पनि हो सर्लाही । त्यसैले, यो जिल्लामा राजापाका तीन पूर्व सहकर्मीबीच यो क्षेत्रमा भइरहेको प्रतिस्पर्धालाई धेरैले चासोपूर्वक हेरेका छन्।

संघीय समाजवादी फोरम–राजपा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकोले फोरमको सहयोग महेन्द्रलाई र वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकोले नेकपा (एमाले) को सहयोग दिनेशलाई रहेको छ।

स्थानीय तहको मतपरिणामको आधारमा यो क्षेत्रमा कांग्रेस र राजपाका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। ती दुईबीचको प्रतिस्पर्धाबाट आफूलाई फाइदा पुग्ने आकलन वाम गठबन्धनको छ।

अन्य दलभन्दा यो क्षेत्रमा राजपा नै सबैभन्दा बलियो रहेको मानिन्छ। तरपनि सो पार्टीकै नेताहरुले पार्टी छाडी अन्य पार्टीबाट उम्मेदवार बनेकाले कस्तो परिणाम आउने हो भन्ने चासो सर्वत्र छ।

राजपाका उम्मेदवार महेन्द्रले कांग्रेसका उम्मेदवार जंगिलाल र (माओवादी केन्द्र) का उम्मेदवार दिनेश दुबैजनाले मधेसी जनतालाई धोका दिँदै मधेसी मुद्दा छोडेर गएकाले जनताले उनीहरुलाई निर्वाचनमार्फत दण्डित गर्ने दावी गरे। निर्वाचनको माहोल हेर्दा आफ्नो कुनै प्रतिस्पर्धी नै नदेखिएको र आफू जित्नेमा ढुक्क रहेको उनले बताए।

कांग्रेस उम्मेदवार जंगीलालले राजपा जस्तो क्षेत्रीय दलले मधेसीको समस्या समाधान गर्न नसक्ने तथा मधेशी पार्टीहरुसँग कुनै पार्टीगत एजेण्डानै नरहेकाले सो दल छोडी आफूले काग्रेस रोजेको र जनताले आफूलाई रोज्ने दावी गरे।

विकास, सम्बृद्धि, सद्भाव, प्रजातन्त्र र मधेसको माग सम्बोधनका लागि काग्रेसलाई मतदान गर्नुको विकल्प नरहेकाले आफ्नो जित सुनिश्चित रहेको जंगीलालले बताए।

माओवादी केन्द्रका उम्मेदवार दिनेशले यो क्षेत्रको शिक्षा, स्वास्थ्य, विकासको लागि तथा विगतमा आफूले गरेको निस्वार्थ सेवाका कारण जित्नेमा ढुक्क रहेको बताए। भारतमा राम र रहिम तथा इराकमा सुन्नी र सिया भनेर जनता भिडाए जस्तै नेपालमा पनि जातिका आधारमा नेपाली जनता भिडाउन खोजेकाले आफूले राजपा छाडेको र जनताले आफूलाई विजयी बनाउने विश्वास गरे ।

२०७० को संविधानसभा चुनावमा राजपाका उम्मेदवार महेन्द्रराय अहिलेकै निर्वाचन क्षेत्रबाट विजयी भएका थिए। कांग्रेस उम्मेदवार रहेका जंगीलाल साविकको क्षत्र नं ५ बाट विजयी भएका थिए । निर्वाचन क्षेत्र निर्धारणका क्रममा दुबै सांसदको क्षेत्र अहिले एउटै क्षेत्रमा परेको हो।
@nepalkhabar

प्रकाशित मिति: Dec 4, 2017

प्रतिक्रिया दिनुहोस्