Logo
११ श्रावण २०८१, शुक्रबार
(December 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेसलाई यसपटक सानो–सानो बट्टामा राख्दैछौं : ओली

सुनसरी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा बेठीक गर्ने तत्वलाई ठीक पर्ने चेतावनी दिएका छन् । उनले राजाले गल्ती गरेकैले गर्दा टिपेर मिल्काई दिएको बताउँदै अरुले गल्ती गरेमा टिपेर मिल्काउन गाह्रो नभएको बताए ।

‘राजतन्त्रलाई उखेलेर मिल्काई दियौं,’ अध्यक्ष ओलीले शनिबार सुनसरी क्षेत्र नं. ३ स्तरीय चुनाबी सभालाई सम्बोधन गदै कांग्रेसप्रति लक्षित गर्दै भने, ‘कांग्रेसलाई यसपटक सानो–सानो बट्टामा राख्दैछौं ।’ कांग्रेसका तर्फबाट शेरबहादुर देउवा नै अन्तिम प्रधानमन्त्री भएको दोहो¥याए ।
‘कांग्रेले अब बहुमत पनि ल्याउन सक्दैन सरकार पनि बनाउन सक्दैन,’ उनले जिकिर गरे, ‘लोकतन्त्रलाई संस्थागत विकास गर्ने काम अब एमाले र माओवादीको हो ।’ उनले दरबार बुझाउनेले लोकतन्त्रको पाठ सिकाउनुको औचित्य नभएको बताए ।
‘२०४६ सालको जनआन्दोलनमा लण्डनका गल्लीमा हुनेले लोकतन्त्र सिकाउने,’ ओलीले प्रश्न गरे । उनले राजनीति देश विकासको निम्ति हुनुपर्ने बताए । ‘राजनीति गरिबी र अस्थीरता हटाउन हो । बेइमानी गर्न, आफन्त र परिवारका सदस्यलाई अघि बढाउन होइन,’ उनले भने ।
नेता ओलीले प्रहरी–प्रशासनलाई संविधान र कानुन अनुसार चल्न आग्रह गरे । ‘प्रहरी–प्रशासन दलको नभएर संविधान र कानुनको शपथ खाने भएकाले गर्दा न्याय दिनु काम हो,’ उनले भने, ‘यदि संविधान र कानुन विपरीत काम प्रहरी–प्रशासनबाट भए त्यो अपराध हुन्छ । चुनाब निश्पक्ष गर्न भूमिका खेल्नुहोस् ।’
उनले सुनसरी क्षेत्र नं. ३ मा एमाले प्रतिनिधिसभा उम्मेदवार भगवती चौधरीले चुनाब जिते पनि हराइन्छ भन्ने भ्रम फैलाइएकाले गर्दा त्यस्तो मसल भएकालाई आफ्नो चुनाबी क्षेत्रमा पठाउन चेतावनी दिए । ओलीको निर्वाचन क्षेत्र झापा ५ हो । ‘जितेपनि हराउने कोही मसल भएको छ भने केही परतिर झापामा मेरो क्षेत्र छ, त्यही आए हुन्छ,’ उनले भने ।
उनले सार्वभौम सत्ता जनतामा निहित भएकाले गर्दा निडर भएर काम गर्न कार्यकर्तालाई निर्देशन दिए । ‘निडर भएर काम गर्नुहोस् । बेठीक गर्न कसैलाई निदनुहोस् । बेठीक गर्नेसँग नलत्रिनुहोस,’ उनले भने ।
कांग्रेस सुनसरी क्षेत्र नं. ३ का उम्मेदवार विजयकुमार गच्छदारको आलोचना गर्दै ओलीले चक्कर लगाएर धेरै धाराको पानी खाएर बुढो रुखको फेदमा सितल ताप्न आएका व्यक्तिले अब केही गर्न नसक्ने बताए । ‘कहिले लोकतन्त्र, कहिले जात र कहिले थारुको नारा फलाक्ने व्यक्तिलाई सवक सिकाउनुपर्छ,’ उनले भने ।
सुनसरी क्षेत्र नं. ३ मा कांग्रेसका नेता विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच प्रतिनिधीसभामा प्रतिस्पर्धा हुँदैछ । गच्छदारले  २०४६ सालपछिका कुनै पनि निर्वाचनमा हारेका छैन । गच्छदार योपटक क्षेत्र नं. ३ बाट छैठौंपटक मैदानमा उत्रिएका छन् । २०६४ सालदेखि मधेसवादी दलमा गएका गच्छदार दस वर्षपछि फेरि पुरानै पार्टीमा फर्किएर प्रतिनिधिसभाका लागि चुनाबी मैदानमा उत्रिएका हुन् ।
वाहालवाला उपप्रधान तथा स्थानीय विकास मन्त्री रहेका गच्छदारले विकास–निर्माण सोचेअनुसार नगरेकैले गर्दा आफूलाई मतदान गर्न एमाले उम्मेदवार भगवतीले सभामा मतदाता समक्ष आग्रह गरिन् । भगवती पूर्व वन राज्य मन्त्री हुन् । एमाले अध्यक्ष ओलीले अब चुनाब जितेपछि भगवतीलाई जसरी भए पनि मन्त्री बनाएर छाड्ने आश्वासन पनि दिए ।
बिजय र भगवती दुहवी नगर क्षेत्रका बासिन्दा हुन् ।  यहाँ काँग्रेसबाट बिजय र बाम गठबन्धनबाट भगवतीसहित नौं जनाले प्रतिनिधिसभा र नौं जनाले प्रदेश सभामा उम्मेदवारी मनोनयन गरी चुनाबी अभियानमा सक्रिय छन् ।
निर्वाचन क्षेत्र विभाजन अनुसार, क्षेत्र नं. ३ मा यसपटक इटहरीका दसवटा वडा समेटिएका छन् । इटहरीका दसवटा वडाबाहेक दुहवी नगरपालिका, गढी र बर्जु पूरै गाउँपालिका समेटिएको छ । इनरुवाको वडा नं. ७ पनि क्षेत्र नं. ३ मै समेटिएको छ ।
यसपटक क्षेत्र नं. ३ मा एक लाख नौ हजार ९१७ मतदाता छन् । जसमा पुरुष ५६ हजार २२३  र महिला ५३ हजार ६९४ जना मतदाता छन् ।

प्रकाशित मिति: Dec 3, 2017

प्रतिक्रिया दिनुहोस्