Logo
११ श्रावण २०८१, शुक्रबार
(December 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरी २ का उम्मेदवारहरु दक्षिणक्षेत्र केन्द्रित बन्दै

सुनसरी । विभिन्न पार्टीहरुबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारहरु प्रतिष्ठानको लडाईमा आ–आफ्नो साख जोगाउन नेपाली कांग्रेसको पकड क्षेत्रको रुपमा लिईने गरेको दक्षिणक्षेत्रमा केन्द्रित भएका छन ।

क्षेत्रको उत्तरतर्फको पहाडी र थारु मतदाताहरुको घरमा एकसरो पुगेका सबै उम्मेदवारहरु यतिवेला निर्वाचनमा निर्णायक बन्ने अनुमान गरिएका दक्षिणी क्षेत्रका मतदाताहरुलाई प्रभावित पार्ने रणनीतिका साथ अघि बढेका छन ।

यसक्रममा नेपाली कांग्रेसको जिल्ला उपसभापतिसमेत रहिसकेका नेकपा एमालेको तर्फबाट प्रदेश २ (ख) को उम्मेदवार बनेका रामप्रसाद मेहता यतिवेला आफूले कांग्रेस छाड्नुको कारण प्रष्ट्याउँदै मतदाताहरुलाई भावनात्मक रुपमा आफ्नो पक्षमा पार्न सक्रिय छन ।

आफ्नो चुनावी प्रचार प्रसारको अधिकांश समय दक्षिण क्षेत्रमै खर्चिएका मेहता यतिवेला पनि दक्षिण क्षेत्रकै घरदैलोमा ब्यस्त छन ।

उनले मंगलबार कप्तानगञ्जमा घरदैलो गरे । कांग्रेस रहँदा आफैले संगठन गरेको र नजिकका नातेदारहरुको पनि ठूलै बसोबास रहेको कप्तानगञ्जमा उनको घरदैलोमा उल्लेख्य सहभागिता थियो ।

उनले सोक्रममा आफूले नेपाली कांग्रेसमा रहँदा खेलेको भूमिका, कामको चर्चासहित त्यसबापत आफूलाई पार्टीबाट निस्कन बाध्य पारेको भन्दै आफ्नो विगतको भूमिको सम्मान र आफ्नो दाऊमा रहेको राजनीतिक जीवनको रक्षा गर्न आग्रह गरेका थिए ।

उनले नेपाली कांग्रेसमा रहँदा कहिल्यै अवसर नपाएको तर एमालेले प्रवेश गर्नासाथ मधेसी समूदायको सम्मान गर्दै उम्मेदवार बनाएको भन्दै नेकपा एमालेलाई मधेस विरोध देखाएर अन्यदलहरुले मधेसी जनतालाई झुक्याईरहेकोले त्यसमा सचेत हुन आब्हान गरेका थिए ।

उनले भने– कांग्रेसमा बस्दा मलाई पनि त्यस्तै लाग्थ्यो तर एमालेमा आएपछि बल्ल थाहाँ पाए एमालेले गर्ने मधेसप्रतिको सम्मान ।

मेहताले आफूसहित बामगठबन्धनका उम्मेदवारलाई अत्याधिक मत दिएर विजयी बनाउँन आग्रह गर्दै आगामि प्रदेश र केन्द्र सरकार बामगठबन्धनको नेतृत्वमा बन्ने निश्चित प्रायः रहेकोले बामगठबन्धनका उम्मेदवार विजयी भए बास्तविक रुपमा विकासको काम अघि बढ्ने दावी गरे ।

मेहता लामो समयदेखि दक्षिण क्षेत्रको कप्तानगञ्ज, देवानगञ्ज, साहेबगञ्ज, मध्यहर्षाही, राजगञ्ज सिनवारी र गौतमपुर क्षेत्रमा केन्द्रीत रहँदै आफू निकटरहेकाहरुलाई धमाधम एमालेमा प्रवेश गराउने देखि परिचालन गर्नेसम्मको कामलाई तिब्र बनाईरहेका छन ।

उनी कांग्रेस छाड्नु परेकोले आफ्नो लामो राजनीतिक जीवनलाई दाऊमा राखेर चुनावमा होमिएकोले कांग्रेसको गढ मानिने ति क्षेत्रलाई तोडेर आफ्नो पक्षमा पार्ने कसरतमा छन । उनलाई त्यसको लागि कांग्रेसमै रहेका उनी निकट र आफन्तहरुले सहयोग गरिरहेका छन ।

रामप्रसादलाई कांग्रेसको गढ भत्काएर आफ्नो पक्षमा चुनावी नतिजा पार्ने र आफ्नो राजनीतिक जीवनलाई जिबन्त राख्ने चुनौति छ ।

अर्कोतर्फ नेपाली कांग्रेसका उम्मेदवारहरु पनि कांग्रेसको गढलाई बचाउँदै चुनावी नतिजालाई आफ्नो पक्षमा पार्ने कसरतमा ब्यस्त बनेका छन ।

२०४६ सालपछि एक पटक मधेसी जनअधिकार फोरमले बाहेक सधै कांग्रेसका उम्मेदवार विजयी रहँदै आएको सो क्षेत्रमा यसपटक पनि आफ्नो जितको रेकर्डलाई जोगाई राख्न कांग्रेसलाई चुनौति बनेको छ ।

त्यसैकारण कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिताराम मेहता र प्रदेशसभा उम्मेदवार राजिब कोइराला पनि यतिवेला दक्षिणतर्फ केन्द्रित छन ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुको उपस्थितिमा देवानगञ्जमा आमसभा गरेको कांग्रेसका उम्मेदवार मेहता र कोइरालाले मंगलबार साहेबगञ्जमा आफ्नो घरदैलो सम्पन्न गरेका छन ।

उनीहरुसँगै समानुपातिक उम्मेदवार ज्योति शुब्बा पनि घरदैलोमा ब्यस्त छिन । उम्मेदवारद्धय रामप्रसादले पार्टी छाड्नुको कारण प्रष्ट्याउँदै कांग्रेसकै पक्षमा मतदान गर्न आग्रह गर्दै आएका छन ।

उनीहरुलाई आफ्नो परम्परागत गढ रहेको दक्षिण क्षेत्रलाई यथावत राख्दै जित सुनिश्चित गर्ने ठूलो चुनौति छ । चुनाव मात्रै नभई प्रतिष्ठा जोगाउने लडाई भएकोले अहिले बामगठबन्धन र नेपाली कांग्रेसका उम्मेदवारहरु दक्षिण क्षेत्रका मतदाताहरुलाई लक्षित गरेर आक्रमक रुपमा अघि बढीरहेका छन ।

बामगठबन्धनका प्रतिनिधिसभाका डम्मर सुवेदी हिमाल उम्मेदवार नयाँ अनुहार भएको र यो क्षेत्रमा बामगठबन्धनको मत र नेपाली कांग्रेसको मतमा समेत केही फरक रहेकोले यसक्षेत्रबाट यसअघि पनि विजयी भएका र परिचित रहेका नेपाली कांग्रेसका उम्मेदवार सीताराम मेहताबिचको प्रतिष्पर्घा कडा नहुने देखिएपछि कांग्रेसमै सभापति रहेका राजिब कोइराला र उपसभापति रहेका रामप्रसाद मेहताको आधार क्षेत्र एउटै रहेको तथा संगठन निर्माणमा पनि समान भूमिका रहेकोले उनीहरुबिच देखिएको कडा भिडन्तलाई सबैले चासोको रुपमा हेरेका छन ।

यद्यपि कस्को पक्षमा चुनाव जाँला र कस्को प्रतिष्ठा बच्ला त्यसको लागि भने मतगणनालाई भने कुर्नै पर्छ ।

प्रकाशित मिति: Dec 1, 2017

प्रतिक्रिया दिनुहोस्