Logo
१२ श्रावण २०८१, शनिबार
(December 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चेम्बर एक्स्पो २०७४ : अन्तरराष्ट्रिय लगानी आकर्षित गर्न जोड

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यापारघाटा कम गर्न अन्तरराष्ट्रिय लगानीलाई आकर्षित गर्नुपर्नेमा जोड दिएकी छन् । बिहीवारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको ‘तेस्रो चेम्बर एक्स्पो २०७४’ को उद्घाटन गर्दै उनले मुलुकको व्यापारघाटा चुलिँदै गएकाले आयात प्रतिस्थापन अपरिहार्य भएको बताइन् । उनले युवा शक्ति पलायन हुनुले मुलुकको आर्थिक विकासमा नकारात्मक सन्देश प्रवाह भएको र त्यसलाई रोक्न निजीक्षेत्रले दिगो लगानीमा ध्यान दिनुपर्ने धारणा राखिन् ।

वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले महोत्सवबाट क्रेता विक्रेताबीच सम्बन्ध सुमधुर भई लगानीतर्फ नयाँ सम्भावनाको खोजी हुने विश्वास व्यक्त गरे । नेपालले व्यापारघाटा बेहोरिरहेको स्वीकार गर्दै उनले त्यसलाई कम गर्नका लागि निजीक्षेत्रसँग विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकले दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्न खोजेकाले सरकारको उक्त अठोटलाई मूर्त रूप दिन निजी क्षेत्र सदैव सकारात्मक हुने विश्वास व्यक्त गरे ।

मेलामा नेपाल, भारत, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, चीन, कोरिया, जापानलगायत विभिन्न मुलुकका ९० कम्पनीको सहभागिता रहेको छ । २ सय ५० स्टल रहेको उक्त मेलामा साझेदार देश दक्षिण कोरियाका २३ तथा फोकस कण्ट्री थाइल्याण्डका १५ ओटा स्टल रहने आयोजकले बताएका छन् ।

मेलामा अटोमोबाइल, विद्युतीय सामग्री, फर्निसिङ, होम एप्लायन्स, फेशन वेयर तथा एक्सेसरिज, मोबाइल तथा ग्याजेटजस्ता वस्तु प्रदर्शनी तथा विक्रीका लागि राखिएका छन् ।

मेला वाणिज्य मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको हो । मेला मङ्सिर १८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: Dec 1, 2017

प्रतिक्रिया दिनुहोस्