Logo
१२ श्रावण २०८१, शनिबार
(November 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

म्यादी प्रहरीका परिवारलाई राज्यले २५ लाख उपलब्ध गराउने

दाङ :  दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले विस्फोटमा परी मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई रु २५ लाख राज्यले राहतस्वरुप उपलब्ध गराउने बताएका छन् ।

तुलसीपुर उपमहनगरपालिका–१२ क्वाङ्गीस्थित चौधरीको निवासमा श्रद्धाञ्जलि दिन पुग्नुभएका प्रजिअ श्रेष्ठले त्यस्तो जानकारी दिए ।

बीमावापतको रु १५ लाख र राज्यले राहतस्वरुप उपलब्ध गराउने रु १० लाखसमेत गरी रु २५ लाख रकम पीडित परिवारलाई उपलब्ध गराइने उनको भनाइ थियो । निर्वाचन प्रयोजनका लागि देशभर ९६ हजार म्यादी प्रहरी भर्ना भएको भए पनि चौधरी पहिलो सहिद भएको उनले बताए । उनले विनोदकी पत्नी १९ वर्षीया अञ्जना चौधरीलाई रोजगारको व्यवस्था तथा उनकी डेढ वर्षीया छोरी प्रमिसाको अध्ययनको व्यवस्थापन गरिने समेत बताए ।

त्यस्तै, संघीय प्रहरी इकाइका कार्यालयका प्रमुख एसएसपी दिलीपबहादुर चौधरीले कर्तव्य पालनका सिलसिलामा मृत्युवरण गरेका विनोदलाई राज्यको नियमअनुसार पाउने सबै सुविधा प्रदान गर्न भूमिका खेल्ने बताए ।

चौधरी परिवारलाई ५ नं प्रदेश प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक मधुप्रसाद पुडासैनीले किरिया खर्चका लागि व्यक्तिगतरुपमा प्रदान गरेको रु २५ हजार नगद र जिल्ला प्रहरी कार्यालय दाङकोतर्फबाट एसपी दुर्गा सिंहले नगद रु २५ हजार गरी रु ५० हजार प्रदान गरिएको थियो ।

त्यसैगरी श्रद्धाञ्जलि दिन पुगेका तुलसीपुर उमपहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उपमहानगरपालिकाकोतर्फबाट किरिया खर्चबापत रु २५ हजार र चौधरीकी डेढ वर्षीया छोरी प्रमिसा चौधरीको कक्षा १२ सम्मको सम्पूर्ण पढाई खर्च व्यहोर्ने घोषणा गरे ।

बम विष्फोटमा परी मृत्युवरण गरेका विनोद चौधरीको आज अन्त्यष्टि गरिएको छ । उनको बबई नदीमा अन्तिम दाहसंस्कार गरिएको हो ।

प्रकाशित मिति: Nov 30, 2017

प्रतिक्रिया दिनुहोस्