Logo
१२ श्रावण २०८१, शनिबार
(November 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हो, मलार्इ टक्लाका सहयोगीको समर्थन छ : निधी

काठमाडौंं : नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधिले आफूलार्इ जेलमा रहेका पूर्व सांसद सञ्जय साह ‘टक्ला’का सहयोगीहरुको समर्थन रहेको खुलासा गरेका छन् ।

राजधानीमा भएको एक पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
साह जनकपुर बम विस्फोट काण्ड र संचार उद्दमी अरुण सिंहनिया हत्या अभियोगमा हाल जेलमा छन् । धनुषाबाट २०७० सालको संविधानसभा निर्वाचन जितेका साह रजेन्द्र महतो नेतृत्वको सदभावनाका उपाध्यक्ष थिए ।

धनुषा-३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका निधि चुनावी प्रचारप्रसारका क्रममा बिरामी भएपछि उपचारका क्रममा राजधानीको ओम हस्पिटलमा भर्ना भएका थिए । निमोनिया भएका कारण डाक्टरको सल्लाहमा केही दिन अस्पताल भर्ना भएका निधि सोमबार डिस्चार्ज भएका थिए । उनी बुधबार नै धनुषा जाँदैछन् ।

सिंहदरबारमा पत्रकारहरुसँगको भेटघाटमा निधिले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारप्रति आपत्ति जनाउँदै गाली र उखानटुक्का बोल्दैमा नेताको ल्याकत नदेखिने बताए ।

‘कांग्रेसका नेतामा जति नेपालका कुनैपनि पार्टीका नेतामा क्षमता छैन। अर्कालार्इ गाली गर्दैमा, उखान टुक्का बोल्दैमा नेताको ल्याकत देखिँदैन,’ निधिले भने, ‘कांग्रेस जिम्मेवार र शालीन पार्टी हो । त्यसैले कांग्रेसले अरुले जस्तो छाडा बोली बोल्दैन ।’

कांग्रेसको बहुमत आउँछ
निधिले कांग्रेसले दुई नम्बर प्रदेशमा बहुमत ल्याउने दाबी पनि गरे । प्रदेश–२ को विकास तथा समृद्धिका लागि कांग्रेस एकमात्र विकल्प भएको भन्दै निधिले यो निर्वाचनमा त्यस क्षेत्रबाट कांग्रेसले बहुमत ल्याउने दाबी गरेका हुन् ।

महतोले कसरी चुनाव जित्नुहुन्छ?
निधिले धनुषामा आफ्नो बहुमत पक्का भएका कारण आफ्ना प्रतिस्पर्धी राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले चुनाव जित्ने सम्भावना नरहेको दाबी पनि गरे ।

धनुषा–३ बाट यस पटक प्रतिनिधिसभामा निधिको प्रतिस्पर्धा महतोसँग हुँदैछ । निधिले महतो आफ्नै निर्वाचन क्षेत्रमा कमजोर रहेको महसुस गरेर धनुषा ३ मा आएको दाबी पनि गरे ।

‘आफ्नो क्षेत्रमा कमजोर महसुस गरेर आएको मान्छे म जन्मेहुर्केको क्षेत्रमा कसरी चुनाव जित्नुहोला, यो उहाँको चिन्ताको विषय हो,’ निधिले भने । महतोप्रती मेरो कुनै नाकारात्मक मनसाय नरहेको बताउदै तर उनले मेरै विरुद्ध उम्मेदवारी दिएर गल्ती गरेको बताए ।

 

प्रकाशित मिति: Nov 29, 2017

प्रतिक्रिया दिनुहोस्