Logo
११ श्रावण २०८१, शुक्रबार
(November 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिरहा–१  : ‘भद्र’ गिरीलाई ‘जुझारु’ यादवको त्रास

काठमाडौं : प्रदेश र प्रतिनिधिसभा दोस्रो चरणमा हुने निर्वाचनका लागि सिरहाका सबै निर्वाचन क्षेत्रमा राजनीतिक दलहरू मत तान्ने अन्तिम प्रयासमा छन् । कतिपय उम्मेदवार भने मतदाताको घरदैलो पुग्न नभ्याइने आँकलनसहित मत तान्न ‘रोड सो’मा समेत व्यस्त हुन थालेका छन् ।

सिरहा–१ का विभिन्न दलका उम्मेदवारले भने मतदाताको घरघरमा पुग्न असम्भव रहेको भन्दै गाउँका मतदाता भेट्न रोड सो गर्ने विधि अपनाएका छन् । यो क्षेत्रमा पहाडीदेखि भित्री मधेस हुदै भारतीय सीमासँग जोडिएका स्थानीय तहसमेत पर्ने भएकाले घरदैलोमा पुगेर मत माग्न नपाएका कारण सडकमै जुलुस, झाँकीलगायतका प्रदर्शन गर्दै हिँडिरहेको वाम गठबन्धनका तर्फबाट प्रतिस्पर्धामा रहेका एमाले उम्मेदवार गंगाप्रसाद यादवले बताए ।

लहान नगरपालिका, सखुवा ननकारकटी, लक्ष्मीपुर पतारी, भगवानपुर र धनगढीमाईको दुईवटा वडा रहेको सिरहा–१ मा ८० हजार मतदाता छन् । उत्तरमा विकट गाउँ ठाडीदेखि दक्षिणमा भारतीय सीमासम्मका गाउँहरू यस क्षेत्रमा पर्ने भएकाले अधिकांश उम्मेदवार घरदैलोमा पुग्न सकेका छैनन् । कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार प्रदीप गिरीले पनि सडकबाटै कार्यकर्ता परिचालन र पर्चा पम्प्लेटमार्फत प्रचारप्रसारलाई तीव्र पारेका छन् ।

संघीय समाजवादी फोरमका उम्मेदवार राजलाल यादव मधेसी शहीदको सम्मान र शहीद परिवारको  वस्थापनलगायतका मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउँदै कार्यकर्ता भेटघाटमा व्यस्त छन् । स्थानीय तहमा प्राप्त मतलाई जोगाउनसके १० हजारभन्दा बढी मतले जित्ने आँकलनसहित वाम गठबन्धन प्रचारमा छ । उता कांग्रेसका प्रभावशाली नेता गिरी व्यक्तिगत छवि र मतदाताको आकर्षणका कारण आफू जित्नेमा ढुक्क छन् ।

स्थानीय तहको मतअनुसार वाम गठबन्धनको पक्षमा ३२ हजार, नेपाली कांग्रेस १६ हजार र संघीय समाजवादी फोरमको पक्षमा १७ हजार मत छ ।  स्थानीय तह र यो निर्वाचनमा मतदाताको संख्या र एजेन्डामासमेत फरक रहेको भन्दै कांग्रेस उम्मेदवार प्रदीप गिरीको पल्ला पनि भारी रहेको लहान नगरपालिका–२३ का गणेश यादवको बुझाइ छ ।

फोरम र वाम गठबन्धनका उम्मेदवारद्वय यादवका पक्षमा लहान नगरपालिकाभन्दा दक्षिणी भेगका अधिकांश मत वाम गठबन्धन र फोरममा जाने भएकाले टक्करमा कांग्रेस तेस्रोे स्थानमा रहने सखुवा ननकारकटी गाउँपालिका–३ का वाडाध्यक्ष महेन्द्रप्रसाद यादवको दाबी छ । लहान १५ का रौदी चौधरी २०५६ सालमा कांग्रेस उम्मेदवार गिरी सिरहा–५ मा प्रतिनिधिसभाको उम्मेदवार हुँदा सुरक्षा चुनौती देखिएको स्मरण गर्दै यसपटक पनि सो इतिहास दोहिरिने शंका गर्छन् ।

तर कांग्रेसका नेता तथा कार्यकर्ता भने यो आक्षेप मान्न तयार छैनन् । दुवै पक्षले एकले अर्कालाई दोशारोपण गरिरहँदा मतदाताले भने अझै कसलाई मत हाल्ने भन्ने निर्णय गरिनसकेको बताएका छन् । गिरी र यादवबीचको कडा टक्कर हुने अनुमान गरेका यस क्षेत्रका मतदाता विकास र समृद्धिका एजेन्डा बोक्नेलाई मतदान गर्ने बताइरहेका छन् ।
राजधानीबाट

प्रकाशित मिति: Nov 28, 2017

प्रतिक्रिया दिनुहोस्