Logo
१२ श्रावण २०८१, शनिबार
(November 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हरेक वर्ष एक हजारभन्दा बढी रिलिज तर यी हुन् धेरै चलेका बलिउडका १० फिल्म

भारतमा हरेक वर्ष एक हजारभन्दा बढी फिल्म बन्ने गरेका छन् । तीमध्ये केही ठूलो ब्यानर र सुपरस्टार कलाकारका हुने गर्छन् भने धेरैजसो फिल्म सानो ब्यानर, कम बजेट, औसत तथा नयाँ कलाकारका हुने गर्छन् । यस्ता फिल्म हलमा लागेको र उत्रिएको समेत थाहा हुँदैन । बलिउडमा केही त्यस्ता ठूला ब्यानर छन्, जसले सुपरहिट फिल्म दिएका छन् । ठूलामध्येको एउटा ब्यानर हो– यशराज फिल्म प्रोडक्सन । सो ब्यानरले सन् १९९५ मा निर्माण गरेको ‘दिलवाले दुल्हनिया लेजाएंगे’ यस्तो फिल्म हो, जुन फिल्म हलमा अहिलेसम्मकै सबैभन्दा धेरै समय चलेर रेकर्ड राखेको छ । यो फिल्म मुम्बईको मराठ मन्दिर थिएटरमा एक हजार नौ हप्ता अर्थात् झन्डै २० वर्ष लगातार चलेको थियो । भारतीय अनलाइनले धेरै समय हलमा चलेका १० बलिउड फिल्मबारे रिपोर्ट तयार गरेको छ :

सोले : २८६ साता
सन् १९७५ को १५ अगस्टमा रिलिज भएकोे ‘सोले’ पनि बम्पर हिट फिल्म हो । रमेश सिप्पीको निर्देशनमा बनेको फिल्ममा अमिताभ बच्चन, धर्मेन्द्र, हेमा मालिनी, सञ्जीवकुमार, अमजद खान, जया भादुरी प्रमुख भूमिकामा छन् । एक्सन फिल्म सोले लगातार दुई सय ८६ हप्ता अर्थात् भन्डै ६ वर्ष चलेको थियो ।

दिलवाले दुल्हनिया लेजाएंगे: १००९ साता
आदित्य चोपडाको निर्देशनमा सन् १९९५ मा बनेको ‘दिलवाले दुल्हनिया लेजाएंगे’ ब्लकबस्टर फिल्म हो । सोही वर्षको अक्टोबर २० मा रिलिज भएको फिल्ममा शाहरुख खान, काजोल, अमरिस पुरी, फरिदा जलाललगायतले अभिनय गरेका छन् । यश चोपडाले निर्माण गरेको फिल्मका सबै गीत चर्चित छन् । यो फिल्म मुम्बईका मराठ मन्दिर थिएटरमा लगातार एक हजार नौ हप्ता अर्थात् झन्डै २० वर्ष चलेको थियो

किस्मत : १८७ साता
ज्ञान मुखर्जीको निर्देशनमा बनेको ‘किस्मत’ पनि बम्पर हिट फिल्म हो । सन् १९४३ मा बनेको सो फिल्म मुम्बईका केही हलमा एक सय ८७ हप्ता अर्थात् साढे तीन वर्ष लगातार प्रदर्शन भएको थियो । फिल्ममा अशोककुमार, मुम्ताज शान्ति, शाह नवाजलगायतले अभिनय गरेका थिए ।

मुगल ए आजम : १५० साता
सन् १९६० को अगस्ट ५ मा रिलिज भएको फिल्म ‘मुगल ए आजम’ लगातार एक सय ५० हप्ता चलेको थियो । के असिफको निर्देशनमा बनेको एपिक हिस्टोरिकल ड्रामा जनराको फिल्ममा पृथ्वीराज कपुर, मधुवाला, दिलीपकुमार, दुर्गा खोटेलगायतले अभिनय गरेका थिए ।

बरसात : १०० साता
सन् १९४९ को अप्रिल २२ मा रिलिज भएको ‘बरसात’ एक सय साता अर्थात् झन्डै दुई वर्ष लगातार हलमा चलिरहेको थियो । राज कपुरको निर्देशनमा बनेको फिल्ममा राज कपुर, नरगिस, प्रेमनाथ, निम्मीलगायतका कलाकारले अभिनय गरेका छन् । प्रेमकथानक बरसातका निर्माता राज कपुर आफैँ हुन् ।

मैने प्यार किया : ५० साता
सलमान खानले हिरोका रूपमा डेब्यु गरेको ‘मैने प्यार किया’ लगातार ५० हप्ता चलेको थियो । राजश्री प्रोडक्सनको ब्यानरमा सुरज बरजात्याले निर्देशन गरेको मैने प्यार किया सन् १९८९ को फिल्म हो । फिल्ममा सलमानका साथ भाग्यश्री मुख्य भूमिकामा छिन् । सलमानले यो फिल्मभन्दा अघि ‘बिबी हो तो ऐसी’मा सहायक भूमिका निर्वाह गरेका थिए ।

हम आपके है कौन : ५० साता
सन् १९९४ अगस्ट ५ मा रिलिज भएको सलमान खान अभिनीत अर्काे ब्लकबस्टर फिल्म हो, ‘हम आपके है कौन’ । यो फिल्म पनि लगातार ५० हप्ता चलेको थियो । सुरज बरजात्याको लेखन र निर्देशनमा बनेको फिल्ममा सलमानका साथमा माधुरी दीक्षित, रेणुका सहानीलगायतले अभिनय गरेका छन् ।

राजा हिन्दुस्तानी : ५० साता
आमिर खान र करिश्मा कपुर अभिनीत ब्लकबस्टर हिट फिल्म हो, ‘राजा हिन्दुस्तानी’ । सन् १९९६ नोभेम्बर १५ मा रिलिज भएको फिल्म लगातार ५० हप्ता चलेको थियो । धर्मेश दर्शनको निर्देशनमा बनेको फिल्मका सबै गीत हिट भएका थिए ।

कहो ना प्यार है : ५० साता
ऋत्विक रोशनको डेब्यु फिल्म ‘कहो ना प्यार है’ ब्लकबस्टर भएको थियो । सन् २००० जनवरी १४ मा रिलिज भएको राकेश रोशन निर्देशित यो फिल्म हलमा लगातार ५० हप्ता अर्थात् झन्डै एक वर्ष चलेको थियो । फिल्ममा ऋत्विकका साथमा अमिशा पटेल मुख्य भूमिकामा छिन् ।

मोहब्बते : ५० साता
सन् २००० को अक्टोबर २७ मा रिलिज भएको ‘मोहब्बते’ हलमा लगातार ५० हप्ताभन्दा बढी चलेको थियो । आदित्य चोपडा निर्देशित फिल्ममा अमिताभ बच्चन, शाहरुख खान, ऐश्वर्या राय, उदय चोपडालगायतले अभिनय गरेका छन् ।एजेन्सी

प्रकाशित मिति: Nov 27, 2017

प्रतिक्रिया दिनुहोस्