Logo
११ श्रावण २०८१, शुक्रबार
(November 27, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हार्ने निश्चित भएपछि निधि अस्पतालमै धर्ना बसेको खुलासा !

काठमाडौं : नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधि यतिबेला राजधानीस्थित ओम अस्पतालमा ‘उपचारार्थ’ भर्ना भएका छन् । सामान्य अस्वस्थताका कारण चिकित्सकीय जाँचका लागि भन्दै अस्पताल गएका निधि साता दिन नाघिसक्दा पनि डिस्चार्ज भएका छैनन् । बुझिएअनुसार उनले अझै केही दिन अस्पतालमै आराम गर्नुपर्ने चिकित्सकीय सुझाव छ । धनुषा–३ बाट प्रतिनिधसभाका लागि प्रत्यक्ष उम्मेदवारी दिएका निधि चुनाव प्रचारप्रसारको चटारो छोडेर यसरी ढुक्कैले अस्पताल बसेको सन्दर्भ यतिबेला निकै चासोको विषय र रहश्यपूर्ण पनि ठानिएको छ ।

धेरैले ठानेका छन्– प्रतिष्पर्धी राजेन्द्र महतोलाई मात दिन हम्मे–हम्मे परेपछि बिरामी भएको बहाना बनाएर निधि ‘सहानुभूतिको भोट’ बटुल्न खोजिरहेका छन् । तर यथार्थ भने ठिक उल्टो रहेको बुझिएको छ । अब चुनाव जित्नका लागि होइन हार्नका लागि, अर्थात् निर्वाचन छल्नका लागि निधि अस्पतालको बसाई लम्ब्याइरहेका छन् ।

साँच्चै बिरामी परेको ठानेर यसबीच धेरै शुभचिन्तकहरूले निधिलाई ओम अस्पताल पुगेर स्वास्थ्यलाभको कामना गरेका छन् । अस्पतालसम्मै पुगेर उनको स्वास्थ्यप्रति चिन्ता जताउनेमा नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीदेखि प्रधानमन्त्री शेरबहादुर देउवासमेत छन् । सामान्य छाती दुःखेको भन्दै जनकपुरबाट सोझै ओम अस्पताल छिरेका निधिलाई ‘पछिल्लो चरणमा निमोनिया देखिएकोले अस्पतालमै आराम गर्नुपर्ने अवस्था निम्तिएको’ बताइएको छ ।

महत्वपूर्ण चुनावको बेला, आफूलाई राष्ट्रिय स्तरको नेता दाबी गर्ने निधि आफ्नो क्षेत्रका अलावा मुलुकभर पार्टीको प्रचारमा निस्कनुपर्ने दायित्व बोकेका व्यक्ति हुन् । तर, दर्बिला प्रतिष्पर्धी राजपाका राजेन्द्र महतोलाई मैदानमा एक्लै छोडेर उनी अस्पतालमा ढुक्कले कसरी बस्न सके होलान् ? यसबारे रोचक तथ्य घटना र विचारको जानकारीमा आएको छ । विश्वस्त सुत्रका अनुसार निर्वाचन हार्ने निश्चित भएपछि निधि ‘बिरामी’ भएर अस्पताल गएका हुन् । सुत्रको दाबीअनुसार निधि अब प्रतिनिधिसभामा नभई राज्यसभाका सदस्य बन्ने छन् ।

शुरुमा इन्कार गरे पनि शेरबहादुर देउवालगायत शक्तिशाली भूमिकामा रहेका कतिपय पात्रले ‘कन्भिन्स’ गरेपछि उनी राज्यसभा सदस्यमा मनोनित भएर जान तयार भएका हुन् । विमलेन्द्रलाई राज्यसभा सदस्य बनाउने, धनुषा–३ बाट निर्वाचित प्रतिनिधिचाहिँ राजेन्द्र महतो नै हुने गरी उच्च तहमा एक विशेष सहमति नै भएको छ । विमलेन्द्र र राजेन्द्रका अलावा यस सहमतिमा राजपा अध्यक्ष महन्थ ठाकुर, कांग्रेस सभापति शेरबहादुर देउवालगायत वाह्य शक्तिसमेत संलग्न छन् । चुनाव हार्ने कुरा सम्झाएर पछि राज्यसभाका लागि मनोनित हुन र धनुषा–३ राजेन्द्र महतोलाई छोडिदिनका लागि निधिलाई फकाउन देउवाले विशेष कसरत गर्नुपरेको बताइन्छ ।

निधिले आफ्नो प्रचारप्रसार नगर्ने सहमति भएअनुसार चुनावी मैदान छोड्ने बहाना खोजी गर्दा ‘बिरामी’ बनेर अस्पताल बस्ने उपाय उचित ठानिएको पनि स्रोत दाबी गर्दछ । यसरी, अब धनुषा–३ बाट राजेन्द्र महतो विजयी बन्ने लगभग निश्चित मानिएको छ भने विमलेन्द्र निधिचाहिँ भविष्यमा राज्यसभा सदस्यका रूपमा देखिने छन् ।

@घटना र विचारबाट 

प्रकाशित मिति: Nov 26, 2017

प्रतिक्रिया दिनुहोस्