Logo
२९ मंसिर २०८१, शनिबार
(November 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिलोचरणको निर्वाचन : ३१ लाख ९१ हजार मतदाता, ७०२ जना उम्मेदवार

काठमाडौँ । आज आइतबार बिहानैबाट सुरु भएको प्रदेश सभा तथा प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनमा उत्साहका साथ मतदान गर्न प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले सबै मतदाताहरुलाई आह्वान गरेका छन् । प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको यादवले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।

संविधान कार्यान्वयनकै महत्वपूर्ण कडिको रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरणमा भोलि मंसिर १० गते आइतबार ३२ जिल्लामा हुँदैछ ।  यादवले मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदाताको मताधिकारलाई आयोगले सुनिश्चित गरेको जानकारी दिए । ‘मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरिसकेको व्यहोरा जानकारी गराउँदछु,’ उनले भने ।

यादवले कुनै पनि मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान नगर्नु हुन र यदि कसैले त्यस्तो गैरकानुनी कार्य गरेमा कानूनबमोजिम सजायको भागी हुनुपर्ने चेतावनी पनि दिए । प्रमुख आयुक्त यादवले अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित व्यवस्था मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणमा जम्मा ७०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । पहिलो चरणको निर्वाचनमा जम्मा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन् । आइतबार सम्पन्न हुने निर्वाचनमा दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्रमा मतदान हुँदैछ ।

 

प्रकाशित मिति: Nov 26, 2017

प्रतिक्रिया दिनुहोस्