Logo
१२ श्रावण २०८१, शनिबार
(November 25, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली विद्यार्थीहरु अवैध कलेजमा पढ्दै, बंगलादेशमा मेडिकल शिक्षा पढ्न जान रोक

काठमाडौं : सरकारले बंगलादेशमा मेडिकल शिक्षा पढ्न जान रोक लगाएको छ । बंगलादेशका अवैधानिक कलेजहरुमा नेपाली विद्यार्थीहरुले एमबीबीएस र बीडीएस पढिरहेको खुलासा भएपछि रोक लगाएका हुन् । करिब २ सय जना नेपाली विद्यार्थीहरु बंगलादेशका ३७ अवैधानिक कलेजमा पढिरहेको जानकारी बंगलादेशस्थित नेपाली दूतावासले नेपाल मेडिकल काउन्सीललाई गराएको छ ।

दूतावासका अनुसार बीडीएस र एमबीबीएस पढाउने केही कलेजहरु कालोसूचीमा परेका छन् र ती कलेजहरुमा करिब २ सय नेपाली विद्यार्थीहरु पढिरहेका छन् । धेरै नेपाली विद्यार्थीहरु मेडिकल शिक्षा पढ्न बंगलादेश जाने गरेका छन् । एजेन्टहरुले बंगलादेशमा पढ्न पठाउने गर्दछन् । राम्रोसँग नबुझिकन पढ्न जाँदा नेपाली विद्यार्थीहरु फसेको काउन्सीलको ठहर छ । विदेशमा एमबीबीएस पढेकाहरुले नेपाल मेडिकल काउन्सीलले लिने टेस्ट परीक्षा उत्तीर्ण गर्नुपर्दछ ।

नेपाल मेडिकल काउन्सीलका प्रवक्ता डा. दिलिप शर्माका अनुसार आफूहरु फसेको जानकारी पाएलगत्तै नेपाली विद्यार्थी र तिनका अभिभावकहरुले पनि काउन्सीलमा उजरी दिने क्रम जारी छ । बंगलादेशमा नेपालीले पढिरहेका कुनै कलेजहरुले सरकारी मापदण्ड पूरा नगरेको, विश्वविद्यालयबाट सम्वन्धन नलिएको र कुनै दर्ता नै नभएको पाइएको छ ।

बंगलादेशमा एमबीबीएस पढ्न करिब ५० देखि ६० लाख रुपैयाँसम्म खर्च लाग्छ । यो रकम किस्ताबन्दीमा तिर्न मिल्ने र भिसा पनि सजिलै पाइने भएकाले धेरै नेपाली विद्यार्थीहरु बंगलादेशमा पढ्न जाने गरेका छन् । एक तथ्यांक अनुसार नेपालबाट मेडिकल शिक्षा पढ्न विदेश जानेहरुमध्ये ७२ प्रतिशत बंगलादेशमा गएका छन् । सन् २०१६ मा ४७८ जना विदेश पढ्न गएकामा ३२८ जना बंगलादेशमा गएको पाइएको छ ।

 

प्रकाशित मिति: Nov 25, 2017

प्रतिक्रिया दिनुहोस्