Logo
२१ मंसिर २०८१, शुक्रबार
(November 18, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टेलिभिजनको प्रसारण एनालग प्रणालीमा भए / नभएको बारे अनुगमन

काठमाडौं । सरकारले एनालग प्रणालीमा प्रसारण भइरहेको टेलिभिजन प्रसारण डिजिटल प्रणालीमा रूपान्तरण भए\नभएको बारे अनुगमन गरेको छ । सरकारले राष्ट्रिय प्रसारण नियमावली, २०५२ (आठौँ संशोधन) को नियम ४ बमोजिम महानगरपालिका क्षेत्रमा गत वैशाख १५ गतेसम्म र उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा यही कात्तिक १५ गतेसम्म एनालग प्रणालीमा प्रसारण भइरहेको टेलिभिजन प्रसारणलाई डिजिटल प्रणालीमा रूपान्तरण गरी सफा, स्पष्ट, गुणस्तरीय प्रसारण गर्न सम्बन्धित सबै संस्थालाई अनुरोध गरेको थियो ।

सोहीअनुरुप सूचना तथा सञ्चार मन्त्रालय, नीति, योजना अनुगमन तथा मूल्याङ्कन शाखा प्रमुख तथा उपसचिव रुद्रादेवी शर्माको नेतृत्वको टोलीले बिहीवारदेखि अनुगमन शुरु गरेको हो । “हरेक गतिविधि प्रविधिमैत्री बनाउने सन्दर्भमा यो नेपालको आन्तरिक आवश्यकता पनि हो, सन् २०१७ सम्ममा सबै केबललाई डिजिटलाइजेशन गर्ने सरकारको निर्णयअनुरुप चरणबद्ध रूपमा एनालग प्रणालीलाई हटाउँदै लगिएको हो”, उपसचिव शर्माले भने । उनका अनुसार करीब ८ सय ५२ टिभी एनालग प्रणालीमा छन् । त्यसैगरी करीब २५ प्रतिशत डिजिटलाइजेशन भइसकेका छन् । आगामी २०७५ वैशाखसम्म सबै गाउँपालिकामा अनुगमन गरिने छ । एनालग प्रणालीबाट डिजिटलाइजेशन गरिएकामा सेवा प्रदायकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया आएको मन्त्रालयले बताएको छ । अनुगमन टोलीमा अम्बिकाप्रसाद शर्मा र सरोज पौडेल पनि छन् ।

टोलीले शुक्रवार मात्रै भक्तपुर सूर्यविनायकस्थित भक्तपुर टिभी प्रालि, सिनामङ्गलस्थित केबल टिभी एण्ड नेट र बुद्धनगरस्थित सहयोग केबल नेट प्रालिमा अनुगमन गरेको छ । अनुगमनका क्रममा सबै स्थानमा एनालग बन्द गरी डिजिटल रुपमा सञ्चालन गरिएको पाइएको छ । रासस

प्रकाशित मिति: Nov 18, 2017

प्रतिक्रिया दिनुहोस्