Logo
१२ श्रावण २०८१, शनिबार
(November 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाबुरामको प्रचारसामग्री प्रहरीले च्यातेको आरोप

गोरखा : गोरखा २ बाट लोकतान्त्रिक गठबन्धनका उमेदवार डा. बाबुराम भट्टराईको प्रचार सामग्री प्रहरीले च्यातेको र निर्वाचनमा खटिएका कर्मचारी बढीजसो वाम गठबन्धनको मात्रै भएको विषय उठेपछि चर्काचर्की भएको छ । राजनीतिक दल र पत्रकारहरुबाट सुझाव लिन मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहीबार बिहान गोरखामा राखेको बैठकमा चर्काचर्की भएको हो ।

बैठकमा लोकतान्त्रिक गठबन्धनको तर्फबाट नयाँ शक्तिका नेता तथा पूर्वसभासद ज्ञानेन्द्र कुमालले बाबुराम भट्टराईको प्रचार सामग्रीहरु एघार किलोस्थित प्रहरी चौकीका प्रहरीहरुले छानीछानी च्यातेको आरोप लगाए । उनले भने, ‘प्रहरीले बाबुराम भट्टराईको पर्चा, पोस्टरहरु च्यातेको छ ।

हतियारधारी फरार हुने तर घरमा बसिरहेका व्यक्तिलाई प्रहरीले कुनै दिन विप्लव समूहमा हिँडेको आरोपमा पक्राउ गरी थुनामा राख्नु गैरजिम्मेवारीपन बाहेक केही हुन नसक्ने कुमालले बताए । वाम गठबन्धनबाट गोरखा २ का उम्मेद्वार नारायणकाजी श्रेष्ठको प्रचार सामग्रीहरु सार्वजानिक ठाउँमा टाँसिएको, झुण्डाइएको छ भन्दै उनले एकलौटी प्रचार गर्न नदिइने पनि बताए ।

बैठकमा बोल्दै नेपाली कांग्रेसका नेता नारायण लामिछानेले मतदान अधिकृत तथा कर्मचारी खटाउँदा एकलौटी ढंगले खटाइएको दाबी गरे । मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले निर्वाचनका लागि २२४२ जना कर्मचारी छनौट गरी परिचालन गर्नुपर्ने भएकाले छोटो अवधिमा धेरै प्रयास गरी कर्मचारी परिचालन गर्न लागिएको बताए । पार्टी हेरेर कर्मचारी खटाएको छैन भन्दै उनले कार्यालयबाट आएका नाम हेरेर पदअनुसार उपर्युक्त ठाउँमा कर्मचारी खटाइएको बताएका छन् ।

निजामति कर्मचारीलाई पहिलो प्राथमिकता दिइएको छ भने अपुग ठाउँमा शिक्षक खटाइएको उनले बताए । बैठकमा बोल्दै प्रजिअ बस्नेतले प्रहरी र प्रशासनलाई एताउता तान्न नखोज्नुस् भन्दै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन दलहरुले सहयोग गर्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजङ्ग थापाले दलहरुले हेलिकोप्टर चढ्नेदेखि सार्वजानिक ठाउँमा प्रचार सामग्री टाँसेर आचारसंहिताको उलंघन गर्दै आएको बताएका छन् ।

 

प्रकाशित मिति: Nov 16, 2017

प्रतिक्रिया दिनुहोस्