Logo
२८ बैशाख २०८१, शुक्रबार
(November 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली फुटबलको चर्चित स्ट्राइकर अनिल गुरुङको सुखद बिदाइ

काठमाडौं : नेपाली फुटबलको चर्चाकै शिखरमा रहेका ३० बर्षीय स्ट्राइकर अनिल गुरुङले राष्ट्रिय टोलीबाट मंगलबार सन्यास लिएका छन् । राष्ट्रिय टोलीबाट ५० खेल खेलेका अनिलले फिलिपिन्ससँगको खेलसँगै सन्यास लिएका हुन् । नेपाली फुटबलको हेटक्वार्टर एन्फा मैदानमा मंगलबार फिलिपिन्स र नेपाली टोली भिड्दा खेल ८१ औं मिनेटमा चल्दै थियो । अनिल मैदानबाहिर वार्मअफ गर्दै थिए । अनिलका हजारौं सर्मथक प्यारापिटमा अनिल अनिल भनेर कराउँदै थिए। अनिलले सन्यास लिने विषय यसअघि नै सबैलाई थाहा थियो ।

अनिल राष्ट्रिय टोलीमा ५० औं क्याप पुर्‍याएर सन्यासको घोषणा गर्न यस अघिनै आतुर थिए । उनी पछिल्लो समय यसैको पर्खाइमा थिए । ८१ औं मिनेटमा सुजल श्रेष्ठको स्थानमा मैदान छिरेका अनिलले १० मिनेट खेल्दै राष्ट्रिय टोलीलाई विट मारेका छन् । खेल सकिने वित्तिकै अखिल नेपाल फुटबल संघ (एन्फा) ले अनिलको विदाईमा कार्यक्रम गर्‍यो । अनिललाई एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले कोट लगाई दिए र प्रशंसा पत्र प्रदान गरे ।

त्यसपछि अनिललाई एन्फा पदाधिकारी र उनका खेलाडी साथीले विदाई गरे । आफ्नो विदाईलाई भब्य र सुखद मानेका अनिलले जाँदाजाँदै खेलाडीलाई सुझाव दिदै भने-‘मिहिनेत गर्दै गयो भने मेरो स्थानमा तिमिहरु हुनेछौं । हामीले नेपाली फुटबललाई माथि लैजान धेरै मिहिनेत गर्नुपर्छ।’  एन्फाको विदाई पछि मैदानलाई ढोगेर भावुक बनेका अनिलले यही मैदानमा आफुले धेरै पसिना बगाएको र यसैले आफुलाई चिनाएको बताए । उनले आफुलाई यस स्थानसम्म पु¥याउन पोखराको सहारा एकेडेमी, सहारा युके, एन्फा, समर्थक र मिडियाले ठूलो सहयोग गरेको बनाए ।

नेपाली टोलीको कप्तानको ब्यान्डसँगै सन्यास लिएका अनिलले घरेलु फुटबल भने खेल्ने बताएका छन् । ‘फुटबलमै अझ धेरै गर्न बाँकी छ । लिग फुटबलमा अझै राम्रो खेल्न सक्छु । त्यो सँगै सानो ब्यवसायक पनि गरिरहेको छु । तर लिग नहुँदा खेलाडीलाई गाह्रो भएको छ,’ अनिलले भने । संयोग बस जर्सी नम्बर १० लगाएर मैदानमा भिड्दै आएका अनिलका लागि १० नम्बर पनि निकै फाप्यो । उनले राष्ट्रिय टोलीबाट १० बर्ष खेले ।

सन् २०१० को विश्वकप अन्तर्गत सन् २००७ मा ओमनसँग खेलिएको विश्वकप छनोट खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका अनिलले सन् २०१७ सम्म आइपुग्दा १० बर्ष खेल्दै नौ गोल गरे । यदि उनले अन्तिम खेलमा गोल गरेको भए राष्ट्रिय टोलीका लागि उनको गोल संख्या पनि १० नै हुने थियो ।

प्रकाशित मिति: Nov 14, 2017

प्रतिक्रिया दिनुहोस्