Logo
१२ श्रावण २०८१, शनिबार
(November 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘मंसिर ९ मा पार्टी एकता’ भन्ने समाचार साँचो हैन, चुनाबपछि मात्रै हुन्छ : दाहाल

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको बताएका छन् । चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहेका अध्यक्ष दाहालले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने जानकारी दिए ।

एमालेसँग माओवादीको पार्टी एकता चुनाबपछि नै हुने दाहालले बताए । ‘हिँजो मंसिर ९ मा दुई पार्टीबीच एकता भन्ने समाचार एकाएक आएछ । त्यो साँचो हैन । कसरी आएछ बुझ्न पाएको छैन । गलत समाचार कहिले कहीँ भाइरल हुन्छ त्यस्तै हो त्यो समाचार । हामीले निर्वाचनपछि नै पार्टी एकता बारे ठोस निर्णय गर्नै भनेर उहिल्यै भनेका हौं। चुनाबअघि हैन’ दाहालले भने ।

उनले विचार मिल्ने पार्टीबीच एकता आवश्यक भएको औँल्याउँदै काँग्रेसलाई पनि विचार मिल्नेसँग एकता गर्न सुझाव दिए। चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका दाहालले आफ्नो प्रतिस्पर्धी जिल्लामा कोही नरहेको दाबी गरे ।

दाहालले कार्यकारी प्रमुख प्रतक्ष्य निर्वाचित गर्ने भन्ने अजेन्डा आफुहरुले नत्यागेको बताएका छन् । ‘निर्वाचन पछाडी यो विषय उठ्छ । हामी कार्यकारी प्रतक्ष्य निर्वाचित गर्नु पर्छ भन्ने मान्यतामा नै छौ’ दाहालले भने । माओवाद छलफलको विषय बन्ने र महाधिवेशनमा छलफल गर्ने गरी दस्तावेजमा राख्ने उनले बताए । ‘पहिला प्रचण्डपथ भन्ने त हाम्रो झण्डै झण्डै आधिकारिक सिद्धान्त बनेको थियो नि। मैले नै अहिले यसलाई ड्रप गरौं भने । पार्टी एकता ठुलो कुरा हो ।

कम्युनिष्टहरुको एकता ठुलो कुरा हो भनेर प्रचण्डपथ मैले नै ड्रप गरेको थिएँ। त्यस्तै माओवाद पनि ड्रप हुन सक्छ । ड्रप गर्ने भनेको विरोध गर्ने भनेको हैन । पछि अनुकुल समयमा छलफलमा लैजाने भनेको हो’ दाहालले भने । मिल्ने कुरालाई आधार बनाएर एकता गर्दै जाने र नमिलेका कुरा छलफल गर्दै टुङ्ग्याउने बताएका दाहालले माओवाद, बहुदलीय जनवादका विषयमा साझा भाषा खोज्न सकिन्छ भने । ‘यो नै बढी राष्ट्रका हितमा छ। अब हामी सिद्धान्तका पछाडी लागेर राष्ट्र र जनतालाई दुख दिने कि राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर सिद्धान्त मिलाउँदै लैजाने भन्ने दुई विकल्पमध्ये एउटा रोज्नु पर्‍यो क्या’ दाहालले भने ।

एमालेसँग पार्टी एकता गर्ने विषयमा माओवाद बाधक नबन्ने उनले बताए । ‘नमिल्ने हो भने मात्रै नमिल्ने कुरा हेरिन्छ । हामी मिल्दै छौं र हामी बीच के के मिल्दो छ त्यो हेरेका छौं। माक्र्सवाद लेलिनवाद हामी दुवैले मान्छौं यो मिल्ने कुरा भयो । द्वन्द्वात्कम ऐतिहासिक भौतिकवादलाई हामी दुवैले विश्व दृष्टीकोण मान्छौं । समाजवाद अबको हामी दुवैको उद्देश्य हो। रणनीति पनि हाम्रो त्यही हो। शान्तिपूर्ण प्रतिस्पर्धा मार्फत नै समाजवाद आउँछ भन्ने कुरा पनि मान्छौं ।

प्रकाशित मिति: Nov 13, 2017

प्रतिक्रिया दिनुहोस्