Logo
१२ श्रावण २०८१, शनिबार
(November 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माथिल्लो कर्णाली र अरुण तेस्रोमा लगानी जुटाउन भारतीय कम्पनीलाई म्याद थप

काठमाडौं : दुई ठूला जलविद्युत् आयोजनामा लगानी बोर्डले लगानी जुटाउने समयावधि थप गरेको छ । अरुण तेस्रोको निर्माण गर्न जिम्मा पाएको सतलज र माथिल्लो कर्णाली जीएमआरलाई लगानी जुटाउने म्याद थप गरेको हो । बोर्डले अरुण तेस्रोमा थप ६ महिना समय दिएर लगानी जुटाउन सतलजलाई मौका दिएको छ । जीएमआरलाई भने फाइनान्सियल क्लोजर गर्ने म्याद एक वर्ष थप गर्ने निर्णय भएको हो ।

बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतमा बसेको बैठकले ठूला परियोजना होल्ड गरिरहेका दुबै भारतीय कम्पनीलाई लगानी जुटाउन थप समय दिने निर्णय गरेको छ । मन्त्रिपरिषदले बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेकै दिन लगानी बोर्डले समयमै लगानी जुटाउन नसकेका भारतीय कम्पनीलाई थप समय उपलब्ध गराउने निर्णय गरेको हो ।

जीएमआरको यसअघि ३ वर्ष समय थप गरिसकेको हो । वनको जग्गा प्राप्ती समयमै अघि नबढेको भन्दै यसले फाइनान्सियल क्लोजरको लागि थप समय चाहिने भन्दै बोर्डमा आवेदन दिएको थियो । लगानी बोर्डका प्रवक्ता उत्तम भक्त वाग्लेका अनुसार यसलाई अहिले भने सरकारले बनको जग्गा उपलब्ध गराइसकेको छ । उनका अनुसार आयोजना स्थलको नजिकै रहेको निजी जग्गा प्राप्तीका लागि भने यसलाई अझै समस्या छ । यो समस्या सल्टाउनका लागि स्थानीयसँग छलफल भइरहेको वाग्ले बताउँछन् ।

जीएमआरले ३ सय मेगावाट बिजुली बिक्री गर्न हरियाणा सरकारसँग र ३ सयदेखि ५ सय मेगावाट विद्युत् विक्रीका लागि एनभीभीएन भारत र बंगलादेशसँगग पनि समझदारी गरिसकेको छ । साथै अरुण थ्री जलविद्युत् आयोजना पनि वनकै कारण अड्किएर बसेको थियो । यसलाई पनि गत अगष्टमा बसेको मन्त्रिपरिषदको बैठकले बनेको जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । वन विभागसँग सम्झौता गरी यसले पनि बनको रुख कटानको प्रक्रिया अघि बढाएको छ ।

साथै यसको पहुँचमार्ग निर्माणका क्रममा केही जग्गामा विवाद उत्पन्न भएको छ । मुआब्जा नपाएको भन्दै स्थानीयले विवाद निकालेपछि पहुँचमार्ग निर्माणको केही काम प्रभावित हुन पुगेको छ । पहुँचमार्ग मध्ये ४.५ किमी क्षेत्रमा विवाद उत्पन्न भएको छ ।

प्रकाशित मिति: Nov 13, 2017

प्रतिक्रिया दिनुहोस्