Logo
११ श्रावण २०८१, शुक्रबार
(November 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संस्थापक समूहका एक सदस्य बाहिरिनुपर्ने भएपछि, हिमालयन बैंकमा सेयरधनीबीच विवाद

काठमाडौं : हिमालयन बैंकमा संस्थापक सेयरधनीबीचको विवाद चर्किएको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) ले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व चारबाट तीनमा झारेपछि एकजना संस्थापक समूहका सदस्य बाहिरिनुपर्ने भएपछि विवाद चर्किएको हो ।

संस्थापकमध्येबाट सञ्चालकहरू सलिम अम्लारी (हबिव बैंक), सुशील विक्रम थापा (आभा इन्टरनेसनल) र प्रचण्डबहादुर श्रेष्ठ (छाया इन्टरनेसनल) ले प्रतिनिधित्व गरिरहेका छन्। मनोजबहादुर श्रेष्ठ (एन ट्रेडिङ ) सञ्चालक समितिको अध्यक्ष छन् । एन ट्रेडिङ र छाया इन्टरनेसनल नरसिंहबहादुर श्रेष्ठको परिवारको हो । अध्यक्ष मनोजबहादुर र सञ्चालक प्रचण्डबहादुर नरसिंहबहादुरका छोरा हुन्। एन ट्रेडिङको १२.७१ प्रतिशत र छाया इन्टरनेसनलको ८.८९ प्रतिशत सेयर छ ।

आभा इन्टरनेसनल हिमालयशमशेर राणाको हो, जसको ११.३८ प्रतिशत सेयर छ । बैंकमा ११.८५ प्रतिशत सेयर रहेको खेतान समूहको म्युचुअल ट्रेडिङलाई प्रतिनिधित्व नगराइएपछि विवाद चर्किएको हो । बैंकमा पाकिस्तानको हबिव बैंकको २० प्रतिशत र कर्मचारी सञ्चय कोषको १४ प्रतिशत सेयर छ । उनीहरूको प्रतिनिधित्व बैंक सञ्चालक समितिमा छ  भन्दै सुजित महतको बाइलाइनमा अन्नपुर्णमा समाचार छ ।

केही अघिसम्म अरुण केसीले सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका थिए। केसीले खेतान समूह छाडेपछि म्युचुअल ट्रेडिङले सञ्चालक समितिबाट उनको मनोनयन फिर्ता गरी प्रसाद ज्ञवालीलाई गत भदौ ८ मा सिफारिस गरेको थियो । ज्ञवालीको नाम बैंकको सञ्चालक समितिमा प्रवेश नगराइएपछि विवाद चर्किएको हो । बाफियाले संस्थापक सेयरधनी समूहको सञ्चालक समितिमा प्रतिनिधित्व संख्या चारबाट तीनवटामा घटाइदिएको छ। सञ्चालक समितिमा म्युचुअल ट्रेडिङको मनोनयन गर्न बहालवाला एकजना सञ्चालकलाई हटाउनुपर्ने भएपछि समितिले नयाँ सञ्चालक मनोनयनमा चासो नदिएको हो ।

बैंकमा ११.५७ प्रतिशत सेयर भएको म्युचुअल ट्रेडिङलाई प्रतिनिधित्वविहीन बनाई ८.८७ प्रतिशत सेयर भएको छाया इन्टरनेसनलको प्रतिनिधित्वलाई निरन्तरता दिइएपछि कम्पनी रजिस्ट्रार कार्यालय र राष्ट्र बैंकमा पनि निवेदन दिएको छ । बैंकमा २१.६ प्रतिशत सेयर हुने नरसिंहबहादुर श्रेष्ठको परिवारबाट अध्यक्ष र सञ्चालक गरी दुईजनाको प्रतिनिधित्व छ। तर, ११.८५ प्रतिशत सेयर हुने खेतान समूहलाई बाहिर राखिएको छ । बढी सेयर हुँदाहुँदै पनि प्रतिनिधित्वबाट अलग गरिएपछि म्युचुअल ट्रेडिङले विशेष साधारणसभाको माग गरी निवेदन दिएको थियो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार सेयर योगदानमुताविक नयाँ सञ्चालक समिति गठनका लागि उसले विशेष साधारण सभा माग गरेको थियो। बाफियाअनुसार सञ्चालक समिति समायोजन गर्न राष्ट्र बैंकले निर्देशन दिइसकेको छ । तैपनि, सञ्चालक समितिले खेतान समूहको माग सुनुवाइ गरेको छैन । बैंकका प्रमुख कार्यकारी (सीईओ) अशोक राणाले बैंकमा त्यस्तो कुनै विवाद नभएको बताउँछन्। ‘बाफियाअनुसार सञ्चालक समिति समायोजन गर्नुपर्नेचाहिँ हो,’ उनले भने ।

हिमालयन बैंकमा लामो समयदेखि अध्यक्ष श्रेष्ठ र सीईओ राणाबीच विवाद छ। एक सञ्चालकका अनुसार विवाद गरिरहे पनि स्वार्थ मिल्दा दुवै एक हुने गर्छन् । केहीअघि सीईओ र सञ्चालक समिति दुवैको पदावधि सकिन लाग्दा दुवैले एकअर्कालाई सघाई पदावधि लम्ब्याएका थिए । हबिव बैंकको प्रतिनिधित्व गर्ने सधँै गुटबन्दीमा नलागी मौन रहने गर्छन् ।

प्रकाशित मिति: Nov 11, 2017

प्रतिक्रिया दिनुहोस्