Logo
२९ मंसिर २०८१, शनिबार
(November 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनाव मुखमा राष्ट्रपति भण्डारी युनाइटेड अरब इमिरेट्स UAE भ्रमणमा जादै

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी चुनाव मुखमै युनाइटेड अरब इमिरेट्स (यूएई) को भ्रमणमा निस्कन लागेकी छन् ।  संविधान जारी भएपछि देशमा हुन लागेको पहिलो निर्वाचनकै बेला राष्ट्रपति विदेश जान हतार गर्नुको कारणबारे राष्ट्रपति कार्यालय भने मौन छ । निर्वाचनपछि बन्ने संसदले नयाँ राष्ट्रपतिको चयन गर्दैछ । निवार्चनको एक साताअघि जम्बो टोलीका साथ उनी चारदिने भ्रमणमा जान लागेकी हुन् । टोलीमा राष्ट्रपति कार्यालयका १८ र परराष्ट्र मन्त्रालयका ७ गरी २५ जना हुनेछन् ।

वर्तमान र अघिल्लो सरकारले दूतावास रहेका सबै मुलुकमा राजदूत नियुक्त गरे पनि यूएईमा लामो समयदेखि राजदूत छैनन् । कृष्णबहादुर महरा बिनाविभागीय भएपछि अहिले परराष्ट्रमन्त्रीसमेत छैनन् । यसको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् । राजदूत र परराष्ट्रमन्त्री दुवै नभएका बेला राष्ट्रपतिको भ्रमण गराउन खोजिनुलाई परराष्ट्र मामिलाका ज्ञाताहरूले आश्चर्यका रूपमा हेरेका छन् । खाडी मुलुकबीच आपसमा कूटनीतिक द्वन्द्व र धु्रवीकरण भइरहेका बेला देशकै अभिभावकको भ्रमणले मुलुककै पक्षधरतासमेत झल्किने उनीहरूको भनाइ छ ।

यूएई, साउदी अरेबिया र इजिप्ट लगायतका मुलुकले कतारमाथि नाकाबन्दी लगाएपछि खाडीमा ठूलो धु्रवीकरण छ । नाकाबन्दीविरुद्ध कतारले र पक्षमा अन्य मुलुकले लबिइङ गर्दै आएका छन् । कतारका प्रतिनिधिले नेपालमै आएर नाकाबन्दीविरुद्ध उभिन आग्रह गरेका थिए । यस्तो द्वन्द्व भइरहेका बेला त्यहींको कुनै एक देशमा जानुलाई अर्थपूर्ण रूपमा लिइने जोखिम पनि रहन्छ । ‘यो क्षेत्रमा नेपालीको संख्या निकै ठूलो छ, राष्ट्रपति एउटा मात्रै देशमा गइदिँदा त्यसैको पक्ष लिएको जस्तो पनि देखिनसक्छ, यसमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालय चुकेको देखिन्छ,’ एक विज्ञले भने ।

परराष्ट्रका एक अधिकारीले मन्त्रालयबाट यो कूटनीतिक परिदृश्य स्पष्ट रूपमा राखिएको बताए । ‘हामीले यो अवस्थाबारे राष्ट्रपति कार्यालयलाई जानकारी गराएका छौं,’ उनले भने, ‘यस्तो परिदृश्यमा राज्य प्रमुखबाट भ्रमण हुनुले अर्कै प्रकारको कूटनीतिक संकेत गर्छ ।’ सद्भावना/औपचारिक जे भनिए पनि यूएईका युवराजको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेकी हुन् । राष्ट्रपति भण्डारीले अगाडिदेखि नै यूएई जाने तयारी गरेकी भए पनि उनलाई औपचारिक निमन्त्रणा मंगलबार मात्र प्राप्त भएको हो ।

नेपालका लागि यूएईका राजदूत सैयद हम्दान नक्पितले राष्ट्रपतिलाई शीतलनिवासमा भेटेर अबुधावीका राजकुमार तथा यूएईका उपप्रमुख मोहम्मद विन अल जाहेद नाहिदको निमन्त्रणा हस्तान्तरण गरेका हुन् । त्यसपछि भ्रमणको अन्य तयारी अघि बढेको परराष्ट्रको भनाइ छ । राष्ट्रपतिले आफ्नो कार्यकालको अन्तिम समयमा विदेश भ्रमणको इच्छा देखाएकाले सरकारले उनको इच्छाको सम्मानबाहेक यो भ्रमणको अर्को पाटो नरहेको प्रधानमन्त्री कार्यालयका अधिकारीले बताए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले यो भ्रमण उपयुक्त देखेरै सरकारले निर्णय गरेको हुनुपर्ने बताए । राष्ट्रपति आफैं कतै नजाने र सरकारबाट निर्णय भएर आएपछि राष्ट्रपति भ्रमणमा जाने उनले उल्लेख गरे । परराष्ट्र प्रवक्ता भरतराज पौड्यालले यसमा कुनै धारणा राख्न चाहेनन् भन्दै चन्द्रशेखर अधिकारीको बाइनाइनमा कान्तिपुरमा खबर छ ।  भ्रमण हुने विषयमा कुराकानी भएको र उपयुक्त समयमा भ्रमणको सबै जानकारी दिने बताए ।

प्रकाशित मिति: Nov 11, 2017

प्रतिक्रिया दिनुहोस्