Logo
१२ श्रावण २०८१, शनिबार
(November 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६१ करोड भ्रष्टाचार : लेखापालको जागिर, राजधानीसहित चार ठाउँमा घर !

नागरिक टाइम्स, काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौँ रुपैयाँ अपचलन गरेको आरोपमा यातायात व्यवस्था कार्यालय कोसी इटहरीका लेखापाल सुरेश अधिकारीमाथि अनुसन्धान थालेको छ । अख्तियारले गत आइतबार काठमाडौंको रानीबारीबाट उनलाई पक्राउ गरेको हो ।

इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा ०६७ फागुनदेखि काम गर्दै आएका उनले विभिन्न शीर्षकमा जम्मा हुनुपर्ने राजस्व रकम कम्प्युटरमा गलत डाटा इन्ट्री गरेर हिनामिना गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।अधिकारीमाथि ६१ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दायर भएको सहसचिव तथा आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए ।

तीन उपसचिवसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

०७०-७२ को अवधिमा राजस्व दाखिला नगरेको आरोपमा अख्तियारले तीन उपसचिव, दुई अधिकृत र तीन लेखापाल गरी आठजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । छानबिनका क्रममा लेखापाल अधिकारीसहित केही कर्मचारी निलम्बनमा परेका थिए । लेखापाल अधिकारी दुई वर्षअगाडि सरुवामा पर्दा पनि रमाना नलिएर जबर्जस्ती यातायात कार्यालय कोसीमै बसेका थिए । सेटिङ मिलाएर कमाउधन्दा गर्दै आएका अधिकारीले अन्यन्त्र सरुवा लिन नमानेको बताइएको छ ।

कसमाथि कति बिगो मागदाबी ?

राजस्व हिनामिना प्रकरणमा अख्तियारले यातायात कार्यालयका तत्कालीन प्रमुख रमेशप्रसाद दाहालविरुद्ध १२ करोड ३० लाख, उपसचिव विष्णुप्रसाद पौडेलविरुद्ध २३ करोड ७७ लाख र अर्का उपसचिव नयराज नेपालविरुद्ध २५ करोड १३ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । लेखा अधिकृत कुमारबहादुर कटुवालविरुद्ध दुई करोड १४ लाख र टीकाराम अधिकारीविरुद्ध ५७ करोड २५ लाख, लेखापाल सुरेश अधिकारीविरुद्ध कुल बिगोको सबै हिस्सा अर्थात् ६१ करोड २१ लाख रुपैयाँ, देवराज नेपालमाथि ४५ करोड ६१ लाख, रुद्रप्रसाद दाहालविरुद्ध २१ करोड ६३ लाख रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा अख्तियारले मुद्दा दायर गरिसकेको छ ।

लेखापालको जागिर : राजधानीसहित चार ठाउँमा घर

लेखापाल सुरेश अधिकारीले इटहरी, काठमाडौं र विराटनगरमा घर जोडेका छन् । उनको इटहरीमा एक, विराटनगरमा दुई र काठमाडाैँमा एउटा सुविधासम्पन्न घर भएको स्रोतले जनाएको छ । हाल उनको सबै सम्पत्ति अख्तियारले रोक्का गरेको छ ।

उनले सवा करोड मूल्य पर्ने टोयटाको फर्चुनर गाडी चढ्दै आएका छन् । यो सम्पत्तिले नै भ्रष्टाचार प्रमाणित हुने आयोगको इटहरी कार्यालयमा कार्यरत डिएसपी मुकुन्द रिजालले बताए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रकाशित मिति: Nov 10, 2017

प्रतिक्रिया दिनुहोस्