Logo
२९ असार २०८२, आईतबार
(November 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजनीतिक सम्बन्ध भन्दा सांस्कृतिक-भाषिक सम्बन्ध गहिरो

जनकपुर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्दनारायण देवले नेपाल–भारत बीचको आदिकालीन सम्बन्धलाई नैसर्गिक सम्बन्धको संज्ञा दिँदै सांस्कृतिक र भाषिक सम्बन्ध राजनीतिक सम्बन्धभन्दा गहिरो हुने गरेको बताएका छन् ।

मिथिला–अवध सांस्कृतिक संरक्षण परिषद्ले शुक्रबारदेखि जनकपुरमा आयोजना गरेको दुई दिवसीय ‘रामायण सर्किट तथा मिथिला–अवध सम्बन्ध’ विषयक अन्तर्राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री देवले भने– ‘नेपाल–भारत बीचको सम्बन्ध दुई समान संस्कृति तथा सभ्यता बीचको सम्बन्ध हो । यसलाई कुनै पनि शक्तिले तोड्न सक्दैन ।’

राजनीतिक कारणले केही नेता तथा राजनीतिक दल यस अद्वितीय सम्बन्धबारे अनर्गल प्रचार समेत गर्ने गरेको उनले आरोप लगाए । मिथिला सभ्यतालाई विश्वकै पुराना तथा समृद्ध सभ्यताको संज्ञा दिँदै मन्त्री देवले मैथिली भाषा, साहित्य, कला संस्कृति, भूगोल तथा इतिहासलाई सम्मान गर्ने बेला आएको बताए ।

नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पूरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सदीक्षाअनुसार रामायण सर्किटसम्बन्धी कार्यक्रमलाई मूर्तरुप दिन लागिएको बताए । उनले भने– ‘रामायण सर्किटअन्तर्गत जनकपुर र अयोध्याबीच भगिनी सहडसम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ । अब दुवै देश मिलेर यसको कार्यान्वयनमा जानु पर्दछ ।’

जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा अयोध्या सोध संस्थानका निर्देशक प्रोफेसर योगेन्द्र प्रताप सिंह, प्राध्यापक डा.भोगेन्द्र झा तथा जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवलगायत वक्ताहरुले सम्बोधन गरेका थिए । दुई दिवसीय कार्यक्रमको क्रममा नेपाल र भारतका आधा दर्जन विद्वानहरुद्वारा कार्यपत्र प्रस्तुत हुने आयोजक मिथिला अवध सांस्कृतिक संरक्षण परिषद्का अध्यक्ष सुनिल चौधरीले बताए ।

प्रकाशित मिति: Nov 4, 2017

प्रतिक्रिया दिनुहोस्