Logo
१२ श्रावण २०८१, शनिबार
(November 2, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२३ वर्षपछि चुनावी प्रतिस्पर्धामा पूर्वसभामुख ढुङ्गाना, काँग्रेसबाट उम्मेदवार

प्रजातन्त्र पुनः स्थापना भएपछि पहिलो सभामुख दमननाथ ढुङ्गाना पुनः चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ । नेपाली काँग्रेसले भक्तपुर क्षेत्र नं २ बाट उहाँलाई प्रतिनिधिसभाको अगामी निर्वाचनको प्रतिस्पर्धामा उतारेको हो ।

विस २०४८ को पहिलो संसदीय निर्वाचनमा उहाँ काठमाडौँ क्षेत्र नं २ बाट विजय हुनुभएको थियो । यसपछि उहाँ प्रजातन्त्र स्थापनापछि पहिलो पटक गठन भएको व्यवस्थापिका–संसद्मा नेकाका तर्फबाट सभामुख पदमा सर्वसम्मतरूपमा चयन हुनुभएको थियो ।

उसो त विसं २०४६ मा प्रजातन्त्र स्थापनाका लागि भएका राजनीतिक आन्दोलन, प्रजातन्त्र स्थापनापछिको अन्तरिम सरकार गठन र अन्तरिम संविधान जारी गर्न उहाँले कानुनी क्षेत्रबाट पु¥याउनुभएको योगदानले तत्कालीन संयुक्त वाममोर्चाका नेतृत्वलाई समेत चकित बनाएको थियो ।

करिब २३ वर्षको अन्तरालमा पूर्वसभामुख ढुङ्गाना विस २०६२÷६३ मा गणतन्त्र स्थापनापछिको तेस्रो निर्वाचनमा होमिनुभएको हो । विस २०५१ को मध्यावधि निर्वाचनमा पराजित भएपछि उहाँ नेकाको मूल राजनीतिभन्दा शान्ति प्रक्रिया टुङ्ग्याउन नागरिक समाजका अगुवामको रूपमा नेतृत्व गर्दै आउनुभएको थियो ।

पाँच निर्वाचनमा विजयी सभापति देउवा र वरिष्ठ नेता पौडेल

प्रजातन्त्र पुनः स्थापना भएपछि सम्पन्न आम निर्वाचनमा विजयी हुँदै आउनुभएका नेका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र नेका वरिष्ठ नेता रामचन्द्र पौडेलले आ–आफ्नै गृह जिल्ला क्रमशः डडेलधुरा र तनहुँबाट चुनावी प्रतिस्पर्धामा होमिनुहुने भएको छ ।

विसं २०४८, २०५१, २०५६, २०६४, २०७० का आम निर्वाचनमा उहाँहरूले आ–आफ्नै जिल्लाबाट जनताको मन जित्नुभएको थियो । उसो त ती निर्वाचनमा हाल नेकाका नेता विजयकुमार गच्छदार पनि विजयी हुँदै आउनु भएको छ ।

संविधानसभाका निर्वाचन विसं २०६४ र विस २०७० का निर्वाचनमा उहाँले मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)को अध्यक्षका रूपमा सुनसरीबाट ती निर्वाचनमा विजयी हुनुभएको थियो ।

प्रत्यक्षमा निर्वाचनमा पहिलो पटक उम्मेदवार

नेकाका नेत्री डा आरजुराणा देउवा प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपटक कैलाली क्षेत्र नं ५ बाट उम्मेदवार चयन हुनुभएको थियो । दोस्रो संविधानसभामा उहाँ समानुपातिक तर्फबाट संविधानसभा सदस्य हुनुहुन्थ्यो ।

यसैगरी नेका संसदीय दलका उपसचेतक ईश्वरीदेवी न्यौपाने पनि पहिलोपटक प्रत्यक्ष निर्वाचनमा कैलाली क्षेत्र नं १ मा टिकट प्राप्त गर्नुभएको छ । यसअघि उहाँ समानुपातिक सदस्य हुनुहुन्थ्यो ।

यसैगरी कैलाली क्षेत्र नं २ बाट नेकाका तर्फबाट मोहनसिंह राठौरले टिकट प्राप्त गर्नुभएको छ । यसअघिको निर्वाचनमा उहाँ नेकपा (एमाले)का तर्फबाट सोही जिल्लाबाट सांसद पदमा निर्वाचित हुनुभएको थियो ।

लामोसयमदेखि नेकाको केन्द्रीय सदस्य रहनुभएका सुनिलकुमार भण्डारीले पनि कैलाली क्षेत्र नं ४ बाट प्रतिनिधिसभाको निर्वाचनमा टिकट प्राप्त गर्नुभएको छ । उहाँले नेपाल परिवार नियोजन संघको अध्यक्ष हुँदा वहुचर्चित गर्भपतनसम्बन्धी ऐन ल्याउन अहम् भूमिका निर्वाह गर्नुभएको थियो ।

यसैगरी नेकाले प्यूठानमा प्राडा गोविन्दराज पोखरेललाई टिकट दिएको छ । पुनः निर्माण प्राधिकरणको कार्यकारी प्रमुखबाट राजीनामा दिई उहाँ चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको हो ।

उपत्यकामा अधिकांश पुरानै

नेकाले काठमाडाँै उपत्यकाभित्र संविधानसभाको दोस्रो निर्वाचन विसं २०७० को निर्वाचनमा वियजी भएकालाई नै पार्टीका तर्फबाट उम्मेदवार बनाएको छ । काठमाडाँैमा नेका पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई क्षेत्र १ बाट चुनावी प्रतिस्पर्धामा उतारेको छ ।

यसैगरी नेताहरू गगनकुमार थापा, भीमसेनदास प्रधान, नवीन्द्रराज जोशी, ध्यानगोविन्द रञ्जित, दीपक कुइँकेल र राजनकुमार केसीले टिकट प्राप्त गर्नुभएको छ । उहाँहरू यसअघिको निर्वाचनमा पनि विजयी हुनुभएको थियो । नयाँ अनुहारमा काठमाडौँ क्षेत्र नं ५ मा डा प्रकाशशरण महत र क्षेत्र नं ३ मा अम्बिका बस्नेतले टिकट प्राप्त गर्नुभएको छ ।

यसैगरी ललितपुरमा चन्द्र महर्जन र मदनबहादुर अमात्यले प्रत्यक्ष तर्फबाट टिकट प्राप्त गर्नुभएको छ । विसं २०७० को संविधानसभा निर्वाचनमा उहाँहरू सोही जिल्लाबाट विजयी हुनुभएको थियो ।

यस्तै भक्तपुरमा बाबुराजा जोशी र दमननाथ ढुङ्गानाले टिकट प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति: Nov 2, 2017

प्रतिक्रिया दिनुहोस्