Logo
७ जेष्ठ २०८१, सोमबार
(November 1, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खुलासा : महन्थ, उपेन्द्र, महेन्द्र र शरतसिंहलाई आफ्नै ‘वागी उम्मेदवार’ बाट तनाव ! 

  • तेजकुमार सिंह, काठमाडौं : 

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रीय जनता पार्टी नेपालको बीच चुनावी तालमेलको औपचारिक घोषणा भए लगत्तै सो पार्टीका बागी नेताहरु आफ्नै अध्यक्षको बिरोधमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सप्तरी- २ बाट आफ्नो उम्मेदवारी घोषणा गरेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको बिरोधमा राजपाका सहमहासचिव भोगेन्द्र ठाकुरले आफ्नो स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् ।

ठाकुर पहिलेको तमलोपामा आबद्ध थिए र उनी राजपा अध्यक्ष मण्डलका संयोजक महंथ ठाकुरका अतिनिकट मध्ये एक नेता हुन् । भोगेन्द्र ठाकुरले उपेन्द्र यादव बिरुद्ध घोषणा गरे लगत्तै बालुवाटार बैठकमा संगै रहेका यादव र ठाकुरबीच भनाभन समेत भएको बुझिएको छ । स्वतन्त्र उम्मेदवारी संगै ठाकुरले राजपाको साधारण सदस्यता समेतबाट राजीनामा दिने घोषणा गरेका छन् ।

महंथ ठाकुर निकट मानिने भोगेन्द्र ठाकुरले उपेन्द्र यादव बिरुद्ध उम्मेदवारी घोषणा गरेको केही समय भित्रै राजपामा शरतसिंह भण्डारी नजिक मानिने निवर्तमान सभासद चंदेश्वर झाले महोत्तरी-३ मा महंथ ठाकुर बिरूद्ध आफ्नो स्वतंत्र उम्मेदवारीको घोषणा गरेका छन् । दोस्रो संविधान सभा चुनावमा स्वतंत्र उम्मेदवारको रूपमा चुनाव जितेका चन्देश्वर झा स्थानीय निर्वाचन भन्दा केही समय पहिलेनै राजपामा प्रवेश गरेका थिए ।

झाका अनुसार राजपा अध्यक्ष मण्डलका सदस्य शरतसिंह भंडारीले महोत्तरी -३ बाट प्रतिनिधि सभाको चुनावमा टिकट दिने शर्तमा पार्टी प्रवेश गराएका थिए । तर महंथ ठाकुरको चर्चा महोत्तरी- ३ बाट चले पछि चन्देश्वर झाले ‘बागी उम्मेदवार’ को रूप आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् । शरतसिंह भण्डारीको इशारामा महंथ ठाकुरको बिरुद्ध ‘बागी उम्मेदवारी’ को घोषणा भएपछि भण्डारी लड़ने महोत्तरी- २ मा महेन्द्र यादव नजिक मानिने देवेन्द्र यादवले ‘बागी उम्मेदवारी’ दिने व्यापक चर्चा चलेको छ ।

स्थानीय चुनावमा भण्डारीले देवेन्द्र यादव नजिकका सबै कार्यकर्ताको टिकट काटे पछि भण्डारी संग रिसाएका देवेन्द्र यादवले भण्डारीकै बिरोधमा उम्मेद्वारी दिने तयारी थालेका छन् । बिगतमा सदभावना निकट रहेका देवेन्द्र यादव अहिले महेन्द्र यादव नजिकका नेताका रूपमा चिनिन्छन । महेन्द्र यादवले आफ्ना नजिकका नेतालाई शरदसिंह भण्डारीको बिरुद्धमा मैदानमा ल्याउने भए पछि आफै पनि तनावमा छन् ।

राजपाका महासचिव र निवर्तमान सांसद समेत रहेका जंगीलाल राय यादवले महेन्द्र यादवको बिरोधमा सर्लाही-२ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसबाट उम्मेदवारी दिने भएका छन् । स्थानीय चुनावको मुखमै राजपा छाडेका जंगीलालले हालै नेपाली कांग्रेसको सदस्यता ग्रहण गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले सर्लाही-२ बाट टिकट दिने वचन दिएका थिए ।

प्रकाशित मिति: Oct 31, 2017

प्रतिक्रिया दिनुहोस्