Logo
११ श्रावण २०८१, शुक्रबार
(October 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जडीबुटी निकासीमा जिएसटी लागेपछि जडीबुटी व्यवसायी समस्यामा

भारत सरकारले जडीबुटी निकासीमा वस्तु तथा सेवा कर जिएसटी लगाएपछि नेपाली जडीबुटी व्यवसायी थप समस्यामा परेका छन् ।

यसअघि केही वर्षदेखि भारतको उत्तर प्रदेश सरकारले लगाएको ‘ट्रान्जिट परमिट’को मार खेप्दै आएको नेपाली जडीबुटीमाथि हाल आएर वस्तु तथा सेवा कर जिएसटीसमेत लगाइएकाले व्यवसायीले आफूहरू दोहोरो मारमा परेको जनाएका छन् ।

‘ट्रान्जिट परमिट’ का कारण घट्दै गएको जडीबुटी निकासी जिएसटीका कारण झनै घट्ने जडीबुटी व्यवसायी संघ नेपालका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताउनुभयो । उहाँका अनुसार जडीबुटी निकासीमा अवरोध बनेको ‘ट्रान्जिट परमिट’ को झण्झट हटाउन देशभरिका व्यवसायीले माग गर्दै आएका बेला झन जिएसटी थपिएपछि अब निकासीमा ठूलो समस्या भएकोे छ ।

सरकारको जडीबुटी नीति व्यावहारिक नहुँदा देशभित्रै र बाहिर विभिन्न प्रकारका अनावश्यक प्रक्रिया पूरा गर्नुपरेको र विभिन्न थरिका कर तिर्नु परेकाले करोडौँको जडीबुटी व्यवसाय नै धरासायी हुन थालेको उहाँको भनाइ छ ।

मध्यपश्चिमाञ्चलका पहाडी जिल्लाका किसानले उत्पादन र संकलन गरेको जडीबुटी नेपालगञ्जका व्यवसायीले भारतलगायत तेस्रो देशमा निर्यात गर्दै आएका छन् । जडीबुटीको निकासीमा नयाँ कर थपिँदा जडीबुटी किसानबाट मूल्य घटाएर जडीबुटी खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको व्यवसायीको भनाइ छ । त्यसले गर्दा किसानलाई पनि समस्या पर्ने निश्चित भएको छ ।

जडीबुटी निकासीका लागि सिमानामा पुगेपछि विभिन्न अवरोध गरिँदा व्यवसायीले जडीबुटीअनुसार किलोको दरले अनावश्यक खर्च पनि तिर्नु परेको उनीहरूको गुनासो छ ।

जडीबुटी भारत निकासी गर्दा व्यवसायीले जडीबुटीअनुसार किलोका दरले अनावश्यक खर्च नदिँदासम्म विभिन्न निकायले विभिन्न बहानामा रोक्ने र दुःख दिने गरेका छन् ।

सिमानामा भारतीय सुरक्षाकर्मी र भन्सारका कर्मचारीलाई खर्च नदिँदा झन समस्या भई जडीबुटी नाकामै लामो समयसम्म थन्काउनु पर्दा कुहिन थालेपछि अनावश्यक खर्च दिएर निकासी गरिरहेको एक व्यवसायी बताउँछन् । ‘ट्रान्जिट परमिट’ प्रणाली लागू भएपछि निकासी झन्झटिलो हुँदा अधिकांश व्यवसायीले निकासी नै बन्द गरेपछि धेरै गोदाममा थन्किएको छ ।

नेपालगञ्ज नाकाबाट भारत, अमेरिका, चीन, पाकिस्तान, बंलादेश, फ्रान्स, स्विजरल्याण्ड, अस्ट्रेलिया, जर्मनलगायतका मुलुकमा जडीबुटी निर्यात हुँदै आएको छ । ती मुलुकमा रिठ्ठा, अमला, टिम्मुर, काउलो, सतुवा, बोझो, सालनदाना, चिराइतो, प्राउनबोक्रा, सुठो, सोफनल, दालचिनी, अमरदाना, जटामसीलगायतका जडीबुटी निर्यात हुने गर्छन् ।

प्रकाशित मिति: Oct 30, 2017

प्रतिक्रिया दिनुहोस्