Logo
७ जेष्ठ २०८१, सोमबार
(October 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुरै सप्तरी शोकमग्न, स्थानीय निकाय र शिक्षण संस्था बन्द

त्रिशुली नदीमा बस खस्दा मृत्यु भएकाहरुको शव आज सप्तरी ल्याइँदा पुरा क्षेत्र नै शोकाकुल बनेको छ । उक्त दुर्घटनामा शव बरामद भएका ३१ जना मध्ये २४ जना सप्तरीका बासिन्दा छन् । जिल्लाका २ जना अझै बेपता छन् । तिलाठीस्थित स्मारक चोकमा चार शव पुग्दा आफन्त र गाउँलेको भिड शोकाकुल देखिन्थ्यो ।

शोकमा आइतबार जिल्लाका स्थानीय तह र मातहतका सरकारी कार्यालय बन्द छ । यस्तै निजी तथा सरकारी शिक्षण संस्थाहरु समेत शोकमा बन्द गरिएको छ । आफन्त मध्ये कोही बेहोस भएर ढलेका थिए त कसैका बोली बन्द भएको थियो । धरैका आँखाबाट आँशुका धारा बोगिरहेको देखिन्थ्यो ।

दुर्घटनामा ज्यान गुमाएका चारैजनालाई अन्तिम संसकारका लागि कोसी ब्यारेज लगिएको वडाध्यक्ष दिनेश्वर मिश्रले बताए । उता तिलाठीकै सन्जितको ससुराली गाउँ राजविराज नगरपालिकाको गोठममा पनि अवस्था उस्तै छ ।

सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहका अनुसार घटनामा परी मृत्यु भएका सप्तरीका २४ जना मध्ये १२ जनाको शव घरमा ल्याईसकिएको छ । अन्यको शव पनि धादिङबाट ल्याउने क्रममा छन् । बिहान १० बजे एकै परिवारको चारजनाको मृत्यु भएको र एक बालक बेपता भएको तिलाठीमा शव पुग्दा सिंगो गाउँभर नै रुवावासी चलेको थियो ।

तिलाठीका पण्डित रमानाथ झाका जेठा छोरा ३५ वर्षिय सन्जितकुमार झा, कान्छा छोरा ३० वर्षिय अन्जितकुमार झा, सन्जितकी श्रीमती सिम्मी झा, सन्जितका जेठा छोरा ८ वर्षिय अभिनवको मृत्यु भएको छ । सन्जितका कान्छा छोरा ३ वर्षिय प्रतिक बेपता छन् ।

सन्जितसँगै राजधानी गईरहेका उनका सालो २० वर्षका बिटु भनिने आदित्य झा, बिटुकी काकी ७५ वर्षिय चन्द्रिका झाको समेत उक्त घटनामा ज्यान गएको छ । यस्तै सन्जितकी साली २३ वर्षीया पुजा बेपता छिन् । गोठममा उनका सालो र काकी सासुको ज्यान गएको छ भने साली बेपता छिन् ।

यस्तै रुवावासीको अवस्था छ बोदेवरसाइन नगरपालिकामा । उक्त नगरपालिकाका १० जनाको ज्यान गएको छ । जसमध्ये मानराजाको चतुरनारायण प्रमाणीका चार छोरीको ज्यान गएको छ । यस्तै कृष्णा सवरण गाउँपालिकाकी एक आमा–छोरीको ज्यान गएको छ ।

 

प्रकाशित मिति: Oct 29, 2017

प्रतिक्रिया दिनुहोस्