Logo
७ जेष्ठ २०८१, सोमबार
(October 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुर्घटना छानबिन गर्न सरकारले बनायो समिति, राष्ट्रपतिद्वारा दुःख व्यक्त

धादिङको गजुरीमा ३१ जनाको ज्यान जाने गरी भएका बस दुर्घटनाको छानबिन गर्न सरकारले समिति गठन गरेको छ ।समितिलाई भविष्यमा यस्ता दुर्घटना हुन नदिन राय सुझावसहित सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

गृहमन्त्रालयले शनिबार तीन सदस्यीय समिति गठन गरेको हो । मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक छन् ।

मन्त्रालयले सार्वजनिक यातायात सेवालाई भरपर्दो, सुरक्षित र व्यवस्थित तुल्याउन अपनाउनु पर्ने सबै निगरानी र अनुगमन कार्यलाई कडाईका साथ कार्यान्वयन गर्न पनि स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

राजविराजबाट काठमाडौंतर्फ जाँदै गरेको बद त्रिशुली खोलामा भएको दुर्घटनामा परी सप्तरीका झण्डै डेढ दर्जन व्यक्तिको ज्यान गएपछि जिल्लाका सबै स्थानीय तहले शोक मनाउने भएको छ ।

राष्ट्रपतिद्वारा दुर्घटनाप्रति दुःख व्यक्त

यसैबीच, राष्ट्रपति विद्या भण्डारीले त्रिशुलीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । भण्डारीले वक्तव्यजारी गर्दै दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति गहिरो दुःख व्यक्त गरेकी छन् । उनले घाइतेहरुको स्वाथ्य लाभको कामना गरेकी छन् ।राष्ट्रपति भण्डारीले दुर्घटनामा वेपत्ता भएकाहरुको खोजी गर्न सम्वन्धित निकायको ध्यानाकर्षण समेत गराएकी छन् ।

सबै स्थानीय तहमा आइतबार शोक मनाउने निर्णय

यसैबीच, सबै स्थानीय तहमा आइतबार एक दिनको विदा दिँदै शोक मनाउने निर्णय भएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिएका छन् । जिल्लामा १८ वटा स्थानीय तह छन् ।

जिल्लाको सबै स्थानीय तहका प्रमुखहरुसँग यसबारेमा छलफल भइसकेको राजविराजका प्रमुख यादवले बताए । यसैबीच संघीय समाजवादी फोरम नेपाल र एमाले सप्तरीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादवले बिज्ञप्ती जारी गर्दै घाइतेहरुको शिघ्र स्वाथ्य लाभको कामना गरेका छन् । साथै विज्ञप्तिमा दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क उपचारको ब्यबस्था मिलाउन माग गरिएको छ ।

यस्तै एमाले सप्तरीले पनि मृतकहरुप्रति श्रद्वाञ्जली व्यक्त गर्दै मृत्यु हुनेको परिवारलाई अबिलम्ब क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

प्रकाशित मिति: Oct 28, 2017

प्रतिक्रिया दिनुहोस्