Logo
२७ बैशाख २०८१, बिहीबार
(October 28, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्पेनमा संवैधानिक संकट : सरकारद्वारा क्याटालोनियामा प्रत्यक्ष शासन लागु, संसद विघटन

क्याटालोनियाको संसदले स्पेनबाट स्वतन्त्रताको घोषणा गरेपछि शुक्रबार स्पेनी सरकारले क्याटलान संसद विघटन गरेको छ । स्पेनी प्रधानमन्त्री मारियानो राजोयले डिसेम्बर २१ मा क्याटालोनियामा निर्वाचन घोषणा गरेका छन् ।

गत अक्टोबर १ मा क्याटालोनियामा स्वतन्त्रताको बारेमा जनमतसंग्रह गरिएको थियो। त्यसलाई स्पेनी सरकारले अवैधानिक घोषणा गरेको थियो । क्याटालोनियाले आफूलाई स्वतन्त्र राज्य घोषित गरेको र स्पेनी सरकारले प्रत्यक्ष शासन लागु गरेको बताइरहँदा स्पेनमा संवैधानिक संकट देखा परेको छ ।

प्रहरीको हस्तक्षेपका बाबजूद करिब ४३ प्रतिशत जनताले जनमतसंग्रहमा भाग लिएका थिए र तीमध्ये ९० प्रतिशतले स्वतन्त्रताको पक्षमा मतदान गरेका थिए । तर मतपरिणामलाई अस्वीकार गर्दै स्पेनी सरकारले क्याटलान सरकार खारेज गर्ने प्रक्रिया अगाडि बढाएपछि क्षेत्रीय संसदले स्वतन्त्रता घोषणा गरेको थियो ।

क्याटलान संसदमा स्वतन्त्रताको पक्षमा ७० र विपक्षमा १० मत परेको थियो। अन्यले मतदान बहिष्कार गरेका थिए । शुक्रबारै स्पेनी सिनेटले प्रधानमन्त्री राजोयको सरकारलाई क्याटालोनियामा प्रत्यक्ष शासनको अधिकार प्रदान गरेको थियो । त्यसपछि बसेको मन्त्रिपरिषदको आपतकालीन बैठकपछि राजोयले पुइज्दोमोन र उनको क्याबिनेट बर्खास्त हुने, संसद विघटन हुने र नयाँ क्षेत्रीय निर्वाचन हुने बताएका थिए ।

क्याटलान प्रहरी प्रमुखलाई पनि बर्खास्त गरिएको छ । पुइज्दोमोनलगायतका नेताहरुलाई विद्रोहको आरोपमा मुद्दा चलाइने पनि बताइएको छ । उनले स्पेनी सरकारले क्याटालोनियामा ‘वैधता’ फर्काउने बताएका छन् । पुइज्दोमोनले भने क्याटालोनिया अब स्पेनको क्षेत्राधिकारभित्र नपर्ने बताइसकेका छन् ।

यद्यपि मड्रिडले क्याटालोनियामाथि कसरी प्रत्यक्ष शासन लागु गर्नेछ भन्ने विषयमा केही स्पष्ट भइसकेको छैन। स्वतन्त्रता पक्षधरहरुले क्याटालोनियामा मड्रिड सरकारको आदेशलाई नागरिक अवज्ञा गर्न तथा शान्तिपूर्ण प्रतिरोध गर्न आग्रह गरेका छन् ।

क्याटालोनिया स्पेनको धनीमध्ये एक क्षेत्र हो। स्पेनको जम्मा जनसंख्यामध्ये १६ प्रतिशत क्याटालोनियामा बसोबास गर्दछन् तर कुल गार्हस्थ उत्पादमा सो क्षेत्रको योगदान १९ प्रतिशत छ । त्यस्तै स्पेनको जम्म निर्यातको २५.६ प्रतिशत हिस्सा पनि क्याटालोनियाबाटै जान्छ । लामो समयदेखि स्वायत्तता प्राप्त गर्दै आएका क्याटलानबासीको ठूलो संख्या आफूहरुलाई मड्रिडले शोषण गरेको ठान्दछन् ।

क्याटलान संसदले स्वतन्त्रताको पक्षमा मतदान गरेपछि बार्सिलोनाको सडकमा त्यसको स्वागत गर्दै जुलुस निस्केको थियो । केहीले स्वतन्त्रताको विरोध गर्दै एकताका लागि पनि नाराबाजी गरेका थिए । एजेन्सी

प्रकाशित मिति: Oct 28, 2017

प्रतिक्रिया दिनुहोस्