Logo
१२ श्रावण २०८१, शनिबार
(August 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यातायात व्यवस्था ऐनलाई कडाईका साथ कार्यान्वयन गर्न निर्देशन

काठमाडौ :  व्यवस्थापिका संसदको विकास समितिले सबारी तथा यातायात व्यवस्था ऐनलाई कडाईका साथ कार्यान्वयन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ । यातायात क्षेत्रसँग सम्बन्धित संघसंस्थाहरु संस्था दर्ता ऐन अनुसार दर्ता गर्ने र नवीकरण गर्ने कार्य स्थगित गर्न गृह मन्त्रालयलाई र तीन महिना भित्र सबै भाडा ट्याक्सीहरुमा अनिवार्य रुपमा मिटर जोडी बिल प्रिन्ट गर्ने व्यवस्थमा लागु गर्न यातायात व्यवस्था विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र महानगरीय ट्राफिक महाशाखालाई निर्देशन गरेको हो ।

समितिले मिटरमा जान नमान्ने धेरै भाडा असुल गर्ने विरुद्ध उजुरीको व्यवस्था मिलाई ट्याक्सीमा जडान गरिएको मिटर परीक्षण गर्ने लगायत कामलाई व्यवस्थित गर्न यातायात व्यवस्था विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र महानगरीय ट्राफिक महाशाखालाई भनेको छ । विकास समितिको सोमबार बसेको बैठकले सरोकारवाला निकायका पदाधिकारीसंगको छलफल पछि यस्तो निर्देशन दिएको हो ।

समितिले काठमाडौँ उपत्यकाभित्रका विग्रिएका ट्राफिक लाइटहरु मर्मत संभार गर्ने तथा ट्राफिक लाइट नभएका स्थानहरुमा नयाँ ट्राफिक लाइट १ महिनाभित्र जडान गरिसक्ने व्यवस्था मिलाउन महानगरीय ट्राफिक महाशाखालाई निर्देशन दिएको छ । त्यसैगरी मुलुकका सातवटै प्रदेशहरुमा भेइकल फिटनेस सेन्टर निर्माण गरी १ महिनाभित्र कार्यान्वयनमा ल्याउन समितिले यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ ।

बैठकमा महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले ट्राफिकले एक दुई ट्याक्सी र व्यवसायीलाई कारवाही गर्देमा समस्या समाधान नहुने भन्दै ट्याक्सीमा मिटर जडान नगर्ने पदाधिकारीलाई कारवाही गर्नुपर्ने माग गरे । अधिकार प्रत्यायोजन भएमा एक महिना भित्र उपत्यकाको ट्राफिक लाईट व्यवस्थापनको समस्या समाधान गर्ने प्रतिवद्धता पनि उनले जनाए ।

प्रकाशित मिति: Aug 21, 2017

प्रतिक्रिया दिनुहोस्