Logo
३१ बैशाख २०८१, सोमबार
(October 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लगातार चार घन्टा बाढीमा बगेर पनि जीवित

धरान : चार घन्टा लगातार बाढीमा बगेर पनि इटहरीकी सानुमाया राईको जीवन बाँचेको छ । उनीसँगै सुतेकी दिदीको शव विराटनगरमा भेटिएको थियो । भिनाजु र भदा बेपत्ता छन् । बुढीखोलाको बाढीमा झन्डै १० किलोमिटर बगेर पनि सानुमाया बाँच्न सफल भएकी हुन् । सानुमाया र उनकी दिदीको परिवारलाई बाढीले बुढीखोलामा हालेको थियो । उनी दुहबीसम्म बगेकी थिइन् ।

सानुमाया दुहबी पुगेपछि बाढीबाट पाखा लागिन् । बगेका रूखका मुडा समाएर हेलिँदै गर्दा आफू बाँचेको उनले बताइन् । अहिले इटहरी–५ जनता बस्तीमा रहेको मामाघरमा बसेकी छिन् । गत २७ साउन राति इटहरी–४ का लालु साहको घरमा अचानक बाढी पस्यो । सडकैसडक उर्लिएर आएको बाढी उनको झुपडीमा पसेको थियो । भाग्न खोज्दाखोज्दै श्रीमतीलाई बाढीले तान्यो । उनले च्याप्प हात समाए । तर, धेरै बेर समातिरहन सकेनन् । हेर्दाहेर्दै उनकी श्रीमती बाढीमा हराइन् ।

उनले श्रीमतीको शव मात्र पाए । घर बाढीले भत्काएको छ । डुबानका कारण अझै घर जान सक्ने अवस्था छैन । उनी अहिले मन्दिरमा श्रीमतीको किरिया गरिरहेका छन् । मन्दिरमा भेटिएका साहले भने, ‘धेरै कोसिस गरेँ, तान्दातान्दै श्रीमतीलाई बाढीले लग्यो, अब त मेरो सहारा नै केही रहेन ।’ १० वर्षदेखि उनी झुपडी बनाएर गैरीगाउँमा बस्दै आएका थिए । बसपार्कमा पानी बेचेर उनी जीविकोपार्जन गर्छन् ।

भोजपुर घोडेटार घर भई इटहरी–४ बस्ने ३२ वर्षीया माया राई, उनका तीन वर्षीय छोरा रूपेश र आठ वर्षीया छोरी रूपसनीले पनि बाढीमा ज्यान गुमाए । इटहरी–१० की ३५ वर्षीया अनिता धिमाल र इटहरी–४ का ४० वर्षीया ईश्वर सुनुवारको पनि बाढीकै कारण ज्यान गयो । इटहरी–४ को गैरीगाउँ यति वेला खण्डहर बनेको छ । बाढीले घरबार सबै बगाएपछि यहाँका करिब दुुई सय स्थानीय इटहरीको श्रीकृष्ण प्रणामी मन्दिरमा बसेका छन् ।

राति मन्दिरमा बास बस्ने उनीहरू दिउँसो माटोले पुरिएको घरमा सामान खोतल्न पुग्छन् । सुनसरीमा अहिलेसम्म १२ जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्द माझीले जानकारी दिए । उनका अनुसार तीनजना अझै बेपत्ता छन् । तीन हजार घर पूर्ण रूपमा क्षतिग्रस्त छन् । देवेन्द्र कार्कीको बाइलानमा नयाँपत्रिकामा समाचार छ । 

प्रकाशित मिति: Aug 17, 2017

प्रतिक्रिया दिनुहोस्