Logo
३१ बैशाख २०८१, सोमबार
(August 17, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकार महासंघमा पनि कांग्रेस–माओवादी पत्रकारबीच गठबन्धन

काठमाडौं : यतिबेला सरकारमा रहेको गठबन्धनको प्रभाव नेपाल पत्रकार महासंघको चुनावमा पनि देखिएको छ त्यहाँपनि सरकार जसतै कांग्रेस–माओवादीका पत्रकारबीच गठबन्धन भएको छ ।  नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि भदौ ४ र ५ गते निर्वाचन हुदैँछ। यो चुनावमा सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) पक्षधर प्रेस युनियन र प्रेस सेन्टरले गठबन्धन गरेका छन्। प्रतिपक्षी दल एमालेको संगठन प्रेस चौतारी भने एक्लै गठबन्धन विरुद्ध प्रतिष्पर्धामा छ।

अघिल्लो पटक प्रेस चौतारीसँग गठबन्धन गरेको माओवादी निकट प्रेस सेन्टर यसपटक प्रेस युनियनसँगको गठबन्धनमा छ । प्रेस सेन्टरबाट महासंघको अध्यक्षमा गोविन्द आचार्यलाई युनियनले समर्थन गरेको छ। उपाध्यक्षमा भने युनियनका विपुल पोखरेल र महासचिवमा रमेश विष्ट उम्मेद्वार बन्ने भएका छन्। प्रेस चौतारीले भने तीर्थ कोइरालालाई उम्मेद्वार बनाएको छ ।

के पत्रकार महासंघ पनि सत्तापक्ष र प्रतिपक्षकै प्रतिष्पर्धामा उत्रन लागेको हो त ? प्रेस सेन्टरबाट अध्यक्षका उम्मेद्वार बनेका गोविन्द आचार्य महासंघ एमालेकरण भएका कारण गठबन्धन गर्नु परेको बताउँछन् । ‘महासंघमा एमालेकरण भयो भन्नेमा प्रेस सेन्टर र प्रेस युनियन सहमत भए’, उनले भने, ‘यसलाई अन्त्य गर्नुपर्छ र लोकतान्त्रिक पत्रकारहरुको साझा संस्था बन्नुपर्छ भन्ने सहमति भयो ।’

उनले कांग्रेस र माओवादी निकट पत्रकारहरू मिल्नुमा सत्ता गठबन्धनको प्रभाव परेको स्वीकारे । ‘राजनीतिक प्रभाव वकिलमा हुन्छ। न्यायाधीश नियुक्तिमा हुन्छ । सामाजिक संघ संस्थामा हुन्छ भनेपछि प्रभाव त हुन्छ’, आचार्यले भने, ‘राजनीतिक रूपमा हेर्दा अहिलेको आवश्यकताको रूपमा लिन सकिन्छ। देशको ध्रुवीकरण यो हो है भन्ने सन्देश हो।’

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीलाई द्वन्द्वबाट शान्ति प्रक्रियामा ल्याएको र अझै संक्रमणको अवस्थामा देश रहेकाले शान्ति प्रक्रियामा आएका दलबीचको सद्भाव आवश्यक रहेको उनले बताए ।राजनीतिक सद्भाव पत्रकारको संगठनमा रहेको उनले बताए । ‘दलहरूको सद्भावसम्म ठीकै कुरा हो’, आचार्यले भने।

प्रेस चौतारीको तर्फबाट अध्यक्षका उम्मेद्वार रहेका तीर्थ कोइराला पनि आफू उम्मेद्वार बन्नुअघि दलहरुसँगै वार्ता गरेको स्वीकार्छन् । ‘मैले धेरै कुरा गरेँ । प्रेस सेन्टर र युनियन मात्र होइन । उहाँहरु भन्दा माथि माथि पनि कुरा भयो। पछि उहाँहरु ब्याक हुनुभयो’, कोइरालाले भने, ‘कांग्रेसका प्रचार हेर्ने र माओवादीको पनि र एमालेकै पनि प्रचार हेर्नेहरूसँग कुरा भएको हो ।’

प्रेस चौतारी र प्रेस सेन्टरबीच अघिल्लोपटकमा जस्तै गठबन्धन कायम राख्ने कि नराख्ने भन्ने द्वन्द्व अन्तिमसम्म भएको थियो । कोइराला प्रेस युनियन र प्रेस सेन्टरको गठबन्धन सत्ता गठबन्धनको रिफ्लेक्सन भएको बताउँछन् । ‘पत्रकार महासंघमा पञ्चायतका बेला पञ्चायत पक्षधर र इतर भन्ने थियो। सैद्धान्तिक विभाजन थियो। अहिले पार्टीगत विभाजन देखिन्छ । गठबन्धनको रिफ्लेक्सन पनि देखिन्छ। हाम्रो राजनीतिक किचलो र असमझदारी पनि पत्रकारहरुमा कता देखिन्छ ।’

पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्ट सत्तापक्ष र प्रतिपक्षको रूपमा गठबन्धन हुनुलाई अनुचित ठहर्‍याउँछन् । ‘पत्रकारितामा सत्तापक्ष र विपक्ष छुट्याउने भन्ने अनौठो भयो । यो कुनै हालतमा उपयुक्त होइन’, बिष्टले भने, ‘अघिल्लोपटक पनि सत्ता गठबन्धन एकप्रकार र महासंघ गठबन्धन अर्को खालको थियो। विगतमा पनि लोकतन्त्र पक्षधर र विरोधी, अनि लेफ्ट र राइट ‘पोलोराइजेशन’ देखिएको हो ।’ उनी सत्ता राजनीतिको ‘रिफ्लेक्सन’ महासंघमा देखिनुमा दलका संघ र संगठनको संगठित रूपमा बढ्दो क्रियाशिलता पहिलो कारणको भएको बताउँछन् ।

दोश्रो कारण भने स्थानीय तहको निर्वाचनमा देखिएको परिणाम अनि भविष्यमा हुने प्रदेश र संसदको निर्वाचनका कारण दलहरुबीचको मनमुटावप्रति असरको रूपमा अर्थ्याउँछन्। स्थानीय तहको पहिलो र दोश्रो चरणको निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरेका थियो भने अधिकांश स्थानीय तहमा एमाले विजयी भएको थियो । तर प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल भने प्रेस सेन्टरसँगको गठबन्धन सत्तारुढ गठबन्धन मान्न तयार छैनन् ।

‘प्रेस सेन्टर र प्रेस चौतारी मिलेर दुईदुई पटक हामीलाई बाहिर राख्ने प्रयत्न भयो। त्यसैले यसपटक गठबन्धन गरेका हौँ’, सिग्देल भन्छन्, ‘गठबन्धनको उद्देश्य साझा चरित्रको पत्रकार महासंघ बनाउन हो । नागरिक समाजको अगुवा बनाउन हो ।’ तीन वर्ष अघि महेन्द्र विष्ट महासंघको अध्यक्ष निर्वाचित हुदैँ गर्दा सत्तामा कांग्रेस र एमाले थिए। तर एमाले पक्षधर चौतारी र प्रतिपक्षमा रहेको माओवादी पक्षधर प्रेस सेन्टरले तालमेल गरेका थिए । यसपटक भने एमाले निकट प्रेस चौतारी एक्लो भएको छ ।

यसैबीच अहिले पत्रकार महासंघमा महासचिव रहेका उजीर मगरले पनि अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । उनले दलको ट्याग लागेका मानिसहरु भन्दा युवा र व्यवसायिक पत्रकारिताको पक्षमा उम्मेद्वारी घोषणा गरेको बताए । ‘मेरो पत्रकारिता बाहेक अन्य कुनै पेशा छैन‘, मगरले भने, ‘तीर्थ कोइराला र गोविन्द आचार्यविरुद्ध मेरो उम्मेद्वारी होइन। उहाँहरुले अन्य पेशामा लाग्नु भएको भए राम्रो हुने भन्ने हो ।’ पत्रकार महासंघमा एक अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, चार सचिव र एक कोषाध्यक्ष सहितको पदाधिकारीको निर्वाचन हुदैँछ ।  सेतोपाटीमा रिर्पोट छ । 

प्रकाशित मिति: Aug 17, 2017

प्रतिक्रिया दिनुहोस्