Logo
१२ श्रावण २०८१, शनिबार
(August 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतलाई तह लगाउन, ओली-याङ गोप्य वार्ता !

काठमाडौं : चीनका उपप्रधानमन्त्री वाङ याङ र नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार सोल्टी होटलमा आधा घण्टा गोप्य वार्ता हुनुलाई आशंका र भरोसाको रुपमा लिइएको छ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग सामूहिक रुपमा भेटवार्ता गरेका याङले ओलीसँग गोप्य भेटवार्ता गर्नुलाई आशा र आशंका दुवै रुपमा विश्लेषण गरिएको हो।

नेपालको संविधानसभाले संविधान घोषणा गरेपछि भारतले नाकाबन्दी लगाएको बेला चीनबाट इन्धन आपूर्ति गर्न नीतिगत व्यवस्था गरेका कारण ओलीप्रति चीनको भरोसा बढेको हो। एमाले भित्र गैरसरकारी संस्था सञ्चालकको संख्या बढी भएका कारण चीन एमाले प्रति ससंकित पनि छ। अधिकांश गैरसरकारी संस्थामा यूरोप र अमेरिकी लगानी छ।

नेपालमा ओली नेतृत्वको सरकारमा माओवादीको समर्थन चीनका लागि सहज सत्ता थियो। नेपालमा बढाउँदै लगेको लगानीको सुरक्षाका लागि त्यो सरकार चीनका लागि आशालाग्दो पनि थियो। संघीयताका मामिलामा लिएको अडानका कारण पनि चीन एमालेप्रति लोभिएको हो। तराई मधेशमा दुई प्रदेश र पहाडमा धेरै प्रदेश बनाउने माओवादीको नीति चीनलाई पटक्कै मन परेको छैन। आफ्नो सीमामा धेरै प्रदेश हुँदा त्यसले निम्त्याउन सक्ने सुरक्षा चुनौतीलाई चीनले राम्ररी बुझेको छ।

ओलीसँगको भेटमा चिनियाँ नेताहरुले दक्षिण एशियाको राजनीतिलाई केन्द्रमा राखेर छलफल गर्ने गरेका छन्। दक्षिण एशियामा भारतको प्रभाव खुम्च्याउने रणनीति अन्तर्गत चीन आक्रामक शैलीमा प्रस्तुत हुन थालेको छ। दोक्लाम विवादपछि चीन भुटानसँग कूटनीतिक सम्बन्ध विस्तार गर्ने योजनामा अगाडि बढेको छ। तर, भारत भुटानलाई आफ्नो नियन्त्रण भन्दा बाहिर पुगेको देख्न चाहँदैन।
ओलीप्रति नकारात्मक बन्दै आएका भारतीय राजदूत मञ्जिवसिंह पुरीले बोलाएको कार्यक्रममा आफू नगएर ओलीले आफ्नो पार्टीका अन्य नेतालाई पठाइदिएका थिए।

दोक्लाममा भारतले प्रदर्शन गरेको गतिविधि चीनले पटक्कै मन पराएको छैन। दोक्लाम विवादमा चीन नेपाललाई तटस्थ राख्न चाहन्छ भने भारत आफ्नो पक्षमा पार्न चाहन्छ। भारत भ्रमणमा जाँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतले दोक्लाम विवादमा आफ्नो पक्षमा उभिन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दबाब दिन सक्छ। त्यस्तो अवस्थामा देउवाले प्रदर्शन गर्ने कूटनीतिक कुशलता नेपालका लागि महत्वपूर्ण हुनेछ।

दलाई लामाका प्रतिनिधिहरुसँग बसेर भाषण दिएको विषयले देउवाप्रति चीनको सकारात्मक धारणा बन्न सकेको छैन। प्रधानमन्त्री देउवालाई याङले भेटदा बढी कुटनीतिक हाउभाउ बुझेका छन् भने औपचारिकता बढी प्रदर्शन गरेका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङको सन्देश लिएर आएका याङको नेपालमा भ्रमण यसकारण पनि महत्वपूर्ण छ। किनभने उनी चाँडै चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समिति सदस्य हुनेछन्। चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समितिमा सात सदस्य मात्र रहन्छन् र महासचिव राष्ट्रपति छन्।
स्रोतका अनुसार मित्रको हैसियतमा याङले ओलीलाई माओवादी केन्द्रलाई नपन्छाउन र नजिकमा राख्न सल्लाह दिएका छन्।

माओवादी केन्द्र र नेपाली कांग्रेसलाई एउटै कित्तामा राखेर पेलेर जाने नीति लिनु राम्रो होइन,’ याङले ओलीलाई दिएको सुझाव उद्धृत गर्दै स्रोतले भन्यो, ‘दुवैलाई एक्ल्याएर अगाडि बढन सकिदैन।’ ओलीले केही समय पहिले ल्हासामा पनि चिनियाँ नेतासँग भेटवार्ता गरेका थिए भने प्रचण्डले बैंककमा चिनियाँ प्रतिनिधिसँग भेटेका थिए। ल्हासा र बैंककको भेटवार्ता एमाले र माओवादीलाई नजिकमा ल्याउने एउटा कसरत पनि हो।

नेपालमा बढिरहेको आफ्नो लगानीको सुरक्षा गर्न आफू अनुकुलको सरकार बनाउन ओली र प्रचण्डलाई नजिकमा ल्याउनु चीनको बाध्यता हो। शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने प्रचण्डको नीति चीनका लागि रुचिको विषय होइन। प्रचण्डले पार्टीको बैठकमा आफू फेरि पनि प्रधानमन्त्री बन्ने बताएका छन्। असारमा त निर्वाचन हुन सक्यो भने मंसिर, पुस र माघमा पनि निर्वाचन हुनसक्छ भन्ने विश्वास प्रचण्डले व्यक्त गर्ने गरेका छन्।

प्रचण्डको चाहना ओली र देउवा दुवैको समर्थनमा आफू प्रधानमन्त्री बन्ने र त्यो सरकारले निर्वाचन गराउने भन्ने देखिन्छ। ओली र देउवा दुवैको समर्थन पाउन नसकेमा उनीहरु मध्ये एक जनाको समर्थन पाउनेमा प्रचण्ड ढुक्क देखिन्छन्। संभवत मंसिरसम्म पुग्दा ओलीको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नेछन्। त्यो सरकारले प्रान्तको संभव नभएपनि प्रतिनिधिसभाको निर्वाचन गराउन सक्नेछ। माघ ७ गतेसम्म प्रान्त र प्रतिनिधिसभाको निर्वाचन गर्नै पर्ने बाध्यतामा दलहरु छन्। संविधान संशोधन गरी प्रतिनिधिसभाको म्याद बढाएर त्यो संवैधानिक बाध्यता गुजार्ने वा तोकिएकै मितिमा निर्वाचन गराएर संविधानलाई सही मार्गमा हिँडाउने विकल्प राजनीतिक दल सामू छन्।

प्रचण्डले उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय स्वरुप नेपालको राजनीतिक स्थिरताका लागि महत्वपूर्ण कदम हुन सक्छ। यो कुरा चीनले पनि बुझेको छ। त्यसैले प्रचण्ड र ओलीलाई नजिकमा राख्दा नेपालमा राजनीतिक स्थायित्व कायम राख्न सकिने र त्यसो हुँदा दक्षिण एशियाको व्यापारमा नेपाल मार्फत् विस्तार गर्ने चीनको योजना छ। तिब्बतको रेललाई नेपालमा जोडने चाहना प्रचण्ड र ओलीको मात्रै चाहना होइन, चीनको आवश्यकता पनि हो। लुम्बिनीसम्म रेल पुर्याउने योजना नेपाली पर्यटकलाई लुम्बिनी पुरयाउने मात्रै होइन, चीनका उत्पादन भारतमा पुरयाउने सहज माध्ममको खोजी पनि हो । अन्नपुर्णमा समाचार छ । 

प्रकाशित मिति: Aug 16, 2017

प्रतिक्रिया दिनुहोस्