Logo
१२ श्रावण २०८१, शनिबार
(August 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किम जोङ उनलाई भेटेर वार्ता गर्ने भन्दै एमाले नेपाल उत्तरकोरिया जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले उत्तर कोरियाका वर्तमान शासक किम जोङ उनसँग वार्ता गर्ने प्रस्ताव राखेका छन् । साथै उनले आफ्नो पार्टी नेकपा एमाले कोरिया प्रायद्वीपमा शान्ति स्थापनाको पक्षमा रहेको बताएका छन् । सरकारको अशन्तुष्टि रहँदारहँदै शुक्रबार साँझ उत्तर कोरियाको एक साता लामो भ्रमणमा जान लागेका नेपालले कोरियाली दूतावास र अन्य संयन्त्रमार्फत किम जोङ उनसँग वार्ता गर्ने सन्देश पठाएका हुन् ।

उत्तर कोरियाले हालैमात्र लामो दूरीको मिसाइल परीक्षण गरेर अमेरिका, जापान र दक्षिण कोरियालाई युद्धको धम्की दिइरहेकै बेला पूर्वप्रधानमन्त्री नेपालको प्योङयाङ भ्रमणलाई सरकारले सहज रुपमा लिएको छैन । परराष्ट्र मन्त्रालयले नेपालसँग यसबारेमा जानकारी समेत लिएको छ । पूर्वपरराष्ट्र मन्त्रीसमेत रहेका नेपालले भने आफ्नो भ्रमण अन्तर्राष्ट्रिय कार्यक्रम भएको र फिलिपिन्सका सभामुखले समेत आग्रह गरेकाले हुन लागेको भन्दै यसलाई सहज रुपमा लिनुपर्ने बताए । यसबारेमा आफूले सरकारसँग पनि छलफल गरेको नेपालले बताए ।

उनले भने- ‘नेपाल सधैंभरि शान्तिको पक्षमा छ । हाम्रो पार्टी पनि कोरिया प्रायद्वीपमा शान्ति स्थापना हुनुपर्छ भन्ने पक्षमा छ । मैले उत्तर कोरियाली अधिकारीहरुसँग पनि शान्तिको पक्षमा नेपालको धारणा राख्नेछु । अहिलेको तनाव कम होस् भन्ने हाम्रो चाहना राख्ने यो राम्रो अवसर पनि हो । आफ्नो उत्तर कोरिया भ्रमणलाई लिएर अमेरिका, जापान र दक्षिण कोरियाले अशन्तुष्टि जनाएको जानकारी नपाएको नेता नेपालले बताए । उनले भने- ‘म शान्तिको प्रस्ताव लिएर जान लागेको हुँ, यसमा कसैले अशन्तुष्ट हुनुपर्ने कुरा छैन ।’

इन्टरनेशनल फेस्टिभल इन प्रेज अफ ग्रेट पर्सन्स अफ माउन्ट पिकेटु नामक कार्यक्रममा सहभागी हुन नेपालको नेतृत्वमा सांसदहरुको टोली उत्तर कोरिया जान लागेको हो । टोलीमा माओवादीका हरिबोल गजुरेल, फोरम लोकतान्त्रिककी छाया शर्मा, परिवार दलका एकनाथ ढकाल लगायतका सांसद छन् भन्दै अनलाइन खबरमा रिर्पोट छ ।

यद्यपि रहस्यमयी र कठोर शासकका रुपमा संसारभर चर्चित भइरहेका किम जोङ उनसँग नेता नेपालको भेट निश्चित भइसकेको छैन । एमाले नेता नेपालले २४ वर्षअघि उत्तर कोरियाका संस्थापक नेता एवं किम जोङका हजुरबा किम इल सुङसँग भेटवार्ता गरेका थिए । उत्तर कोरिया जानुअघि अनलाइन न्यूज पोर्टल अनलाइखबरसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने- ‘मैले त्यहाँका नेता किम जोङ उनसँग पनि भेटेर शान्तिका लागि नेपालको प्रस्ताव राख्ने प्रस्ताव राखेको छु । तर, भेटघाट हुने नहुने तय भएको छैन र अहिले उनीहरुले भन्दैनन् पनि । तर उनका डेपुटीसँग भने भेट हुनेछ ।’

नेपालले उत्तर कोरिया जाँदै गर्दा २४ वर्षअघि किम इल सुङसँगको भेटवार्ता पनि स्मरण गरेका छन् । ‘त्योबेला बामदेव गौतम र मोदनाथ प्रश्रतिसहित मैले किम इल सुङसँग ३ घण्टा वार्ता गरेको थिएँ’ पूर्वप्रधानमन्त्री नेपालले भने ‘अहिले उत्तर कोरिया फेरि चर्चामा छ, योबेला म शान्तिको लागि पहल गर्नेछु’ ।

 

प्रकाशित मिति: Aug 11, 2017

प्रतिक्रिया दिनुहोस्