Logo
२२ बैशाख २०८१, शनिबार
(August 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कानुन विरुद्ध सांसद नै : खेलकुदक्षेत्रमा तरङ्ग

काठमाडौं । व्यवस्थापिका संसदका सांसद् मोहन राईको हर्कतले यतिबेला खेलकुदमा नौलो तरङ्ग उत्पन्न भएको छ । समानुपातिकबाट सांसद् बनेका राई कानुन राम्रोसंँग बुझेका र कानुनको पालना पनि गर्दै आएका सांसद्का रुपमा चिनिदैआएका व्यक्ति हुन् । तर, कानुन बनाउने निकायकै सदस्य राईले सोही कानुनको उपहास गरेपछि अहिले उनको चर्चा चुलिएको हो ।

कानुनी राज्यमा कानुनको पालना गराउनुको साटो सर्वोेच्चले अवैधानिक घोषणा गरेको नेपाल ओलम्पिक कमिटीसँग साँठगाँठ गर्दै नवनियुक्त मन्त्री राजेन्द्रकुमार केसीलाई भ्रममा पार्ने कोशिस गरेपछि राई विवादमा तानिएका हुन् । प्राप्त जानकारीअनुसार अवैधानिक ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव टेन्डी लामालाई राईले चार–पाँच पटक मन्त्रीसँग भेटाउन लगेको मन्त्रालय स्रोतबाट थाहा भएको छ । मन्त्री केसीसँगको भेटमा राईले बारम्बार एउटै मामला उठाएर सो पूरा गरिदिन आग्रह गरेको खुलासा भएको छ ।

राईले जीवनराम अध्यक्ष रहेको अवैधानिक ओलम्पिक कमिटीलाई मान्यता दिनुपर्छ, अन्तर्राष्ट्रिय मान्यता पनि श्रेष्ठलाई नै छ, नेपाली खेलकुदको हितको लागि श्रेष्ठलाई नै मान्यता दिनुपर्छ भन्दै गैरकानुनी कुरा गरेर मन्त्रीलाई भ्रममा पार्दै दबाब दिएको सुत्र बताउँछ ।
विगतमा खेलकुदमन्त्री एमालेको हुँदा मौनता साधेर बसेका राई खेलकुद मन्त्रालय कांग्रेसको कोटामा परेपछि किन यसरी सक्रिय भई चलखेलमा उत्रिए भन्ने विषय अहिले रहस्यपूर्ण बनेको छ । सुत्रका अनुसार श्रेष्ठले सातदोबाटोस्थित पौडी पोखरीको ठेक्का दिलाएवापत राईले यस्तो कसरत गरेको हुनसक्ने अनुमान गरिएको छ ।

त्यस्तै श्रेष्ठले राईलाई नेपाल सितोरियो कराँते संघको अध्यक्ष बनाइदिने आश्वासन दिएका कारणले पनि राईले बारम्बार यस्तो रवैया अपनाएको बुझिएको छ । सुत्रका अनुसार यतिबेला करातेबाट दावा गुरुङलाई हटाएर राईलाई ल्याउने खेलमा श्रेष्ठ दिलोज्यानले लागेका छन् । नेकाका नेता प्रकाशमान सिंहले रुक्मशम्सेर राणाको नेपाल ओलम्पिक कमिटीलाई सहयोग गर्न मन्त्री केसीलाई भनेको अवस्थामा तिनै प्रकाशमानले सांसद बनाएका राई सिंहको खिलाप देखिनुमा ठूलो आर्थिक चलखेल भएको हुनसक्ने कांग्रसी वृतमा चर्चा चलेको छ । अन्यथा राई कांग्रेसी भएर कांग्रेसकै विरुद्धमा मन्त्रीको कान फुक्न किन जान्थे भन्ने प्रश्न कांग्रेसवृत्तमा चलेको छ ।

त्यस्तै, राष्ट्रिय खेलकुद परिषदले मुख्य प्रशिक्षक फेरबदल गरेकोमा पनि राईले हस्तक्षेप गर्न खोजेको सुत्रले बताएको छ । नेपाल ब्याडमिन्टन संघको मुख्य प्रशिक्षकबाट रजनी जोशीलाई हटाएर सुदीप योन्जनलाई ल्याइपछि राईले उक्त निर्णय सच्याउन र जोशीलाई नहटाउन राखेपका पदाधिकारीहरुलाई दबाव दिएको चर्चा खेलकुदमा चलेको छ । पाँच वर्ष मुख्य प्रशिक्षक खाईसकेकी जोशीलाई मुख्य प्रशिक्षकबाट हटाउँदा राईले किन आपत्ति प्रकट गरे, त्यो अहिले पनि चासोको विषय रहेको छ ।

यसरी आफ्नो हैसियत बिर्सिएर कानुनलाई समेत चुनौती दिन राई किन खेलकुदको मैदानमा उत्रिएका हुन्, योचाहिँ ….लाई भन्दा देख्नेलाई लाज भनेझैँ भएको छ । त्यस्तै, यो विषयमा राईसँग सम्पर्क गर्दा उनले खेलकुद मन्त्रीसँग भेटको लागि समय मिलाई दिन श्रेष्ठले अनुरोध गरेपछि भेट गराइदिएको र आफूले कुनै गैरकानुनी कार्य नगरेको प्रतिक्रिया दिए ।

 

– श्रीविक्रम भण्डारीबाट

प्रकाशित मिति: Aug 10, 2017

प्रतिक्रिया दिनुहोस्