Logo
१२ श्रावण २०८१, शनिबार
(August 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिमस्टेक बैठक आजदेखि : ६ मुलुकका पाहुनाहरु आउदै 

काठमाडौं : नेपाल अध्यक्ष र बंगलादेश महासचिव रहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास (बिमस्टेक) को बैठक बिहीबार राजधानीमा सुरु हुँदैछ । बैठकमा भाग लिन ६ वटै सदस्य राष्ट्रका विदेश सचिवलगायत अधिकारी काठमाडौं आइपुगेका छन् जसमा नेपाल आयोजक नै रहेको छ । बिहीबार अपराह्नसम्म विदेशमन्त्रीहरू काठमाडौं आइपुग्ने छन् ।

भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र म्यान्मार सदस्य रहेको उक्त संगठन सार्क र पूर्वी एसियाली संगठन आसियानको पुलका रूपमा स्थापना भएको हो । त्यसमा सार्कका तीन मुलुक अफगानिस्तान, पाकिस्तान र माल्दिभ्स सदस्य छैनन् । यही कारण बिमस्टेकलाई ‘माइनस पाकिस्तान’ भनिन्छ । यसको स्थापनाकालमा अफगानिस्तान सार्कको समेत सदस्य थिएन । बिमस्टेक अध्यक्ष मुलुक नेपालले पहिलो पटक गर्न लागेको बैठकको तयारी पूरा गरिसकेको छ । बैठकबारे मिडियालाई जानकारी गराइएको छैन । तर, भारतीय दूतावासले बिहीबार अपराहन १२:५० बजे स्वराज आइपुग्ने जानकारी दिएको छ ।

आन्तरिक राजनीतिक अवस्था र सदस्य मुलुकहरूको अनुकूलताले बैठकमा ढिलाइ भए पनि अन्तत: नेपालले सम्मेलन गर्ने भएको हो । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को समेत अध्यक्ष रहेको नेपालले सार्क र बिमस्टेक कुनलाई बढी प्राथमिकता दिने भन्ने अन्योल रहिरहेको अवस्थामा यो बैठक हुन लागेको हो । दुई वर्षअघि मात्र बिमस्टेकको सचिवालय बंगलादेशमा स्थापना भएको छ । त्यसअघि परराष्ट्र मन्त्रालयमा रहेको डेस्कको ‘रुटिन’ प्रक्रियामा यो संगठन चलिरहेको थियो ।

तेस्रो शिखर सम्मेलन र यसअघिका मन्त्रीस्तरीय बैठकका निर्णय कार्यान्वयनको समीक्षाका साथै बिमस्टेकअन्तर्गतका पारस्परिक सहयोगका विषयलाई द्रुत गतिमा कार्यान्वयन गर्नेबारे १५ औं बैठक केन्द्रित हुने जनाइएको छ । बिमस्टेकका निर्णय कार्यान्वयन समीक्षाका लागि बिहीबार बिहानदेखि परराष्ट्र सचिवस्तरीय बैठक बस्नेछ । उक्त बैठक अपराहन सकिनेछ । मन्त्रीस्तरीय बैठक बिहीबार दिउँसो सुरु हुनेछ । बैठकको उद्घाटन बिमस्टेकका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन् ।

बैठकको पहिलो दिन नै देउवाले विदेशमन्त्रीहरूलाई सामूहिक रूपमा भेट गर्नेछन् । भारतीय विदेशमन्त्री स्वराजले भने नेताहरूसँग छुट्टै राजनीतिक भेटवार्तासमेत गर्ने जानकारी कूटनीति स्रोतले दिएको छ । भारत र चीनबीच सीमामा द्वन्द्व चलिरहेकाले पनि स्वराजको भेटलाई महत्त्वसाथ हेरिएको छ । उनले साइडलाइन छलफलमा दुईपक्षीय सम्बन्ध र प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारीबारे समेत छलफल गर्नेछिन् ।

भारत, श्रीलंका, बंगलादेश र भुटानका विदेशमन्त्रीहरू क्रमश: सुष्मा स्वराज, रवि करुणनायके, अबुल हसन महमुद अली र दाम्चो दोर्जी बिहीबार नै काठमाडौं आइपुग्ने छन् । आसियन मुलुकहरू थाइल्यान्ड र म्यान्मारबाट उपविदेशमन्त्रीले पनि बैठकमा सहभागिता जनाउने छन् । अघिल्ला बैठकमा पहिचान भएका व्यापार, लगानी, प्रतिआतंकवाद, गरिबी निवारण, यातायात, पर्यटन, सञ्चार, ऊर्जा, कृषि, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता एक दर्जनभन्दा बढी विषयमा बैठकमा छलफल हुनेछ ।

पछिल्लो समय सबै सदस्य मुलुकका विदेशमन्त्रीको सहभागिता तय भएपछि नेपालले उक्त मन्त्रीस्तरीय बैठकको तयारी अघि बढाएको हो । नेपालले अध्यक्षता गरेको तीन वर्षपछि १५ औं मन्त्रीस्तरीय बैठक काठमाडौंमा हुन लागेको हो । बिमस्टेकका महासचिव बंगलादेशबाट दुई दिनअघि नै काठमाडौं आएर बैठकबारे छलफल गरिरहेका छन् । सबै बैठक सोल्टी होटलमा हुनेछन् भने सबै पाहुना त्यहीं रहने व्यवस्था मिलाइएको छ ।

पछिल्लो समय बिमस्टेकलाई छिमेकी भारतले बढी प्राथमिकतामा राखेको छ । यद्यपि भारतले सार्कका मन्त्रीस्तरीय बैठकहरूमा पनि सहभागिता जनाइरहेको छ । अघिल्लो सरकारका मन्त्रीहरूले पटक–पटक अब बिमस्टेक यो क्षेत्रमा अघि बढ्ने बताउँदै आएका थिए । बिमस्टेक स्थापना भएको २० वर्षमा चौथो शिखर सम्मेलन गर्ने चर्चाबीच यो बैठक हुन लागेको हो ।

 

प्रकाशित मिति: Aug 10, 2017

प्रतिक्रिया दिनुहोस्