Logo
२ असार २०८१, शनिबार
(August 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धनुषाको यूवालाई छिमेकी मुलुक चीनको उच्चतहमा जिम्मेवारी

काठमाडौं: क्यान्सर बिज्ञ नेपाली युवा प्राध्यापक राजीवकुमार झाले चीनको उच्चतहमा नियुक्ति पाएका छन् । धनुषाको प्रवाहामा ३८ बर्ष अघि जन्मिएका झा २० बर्ष अघि एमबिबीएस अध्ययनका लागि चीन गएका थिए । चीनको सान्सी प्रान्तमा रहेको चिनियाँ अर्धसरकारी अन्तर्राष्ट्रिय स्तरको बुद्धिजीवीहरुको संस्था (थिंक ट्याङ्क) को अन्तर्राष्ट्रिय विभागको संयोजकमा नियुक्त झा नियुक्त भएका हुन ।
चिनियाँ र अन्तर्राष्ट्रियस्तरका बुद्धिजीवीहरुको संलग्नतामा चीन सरकारद्वारा स्थापित संस्था ‘सान्सी इनोभेटिभ ट्यालेन्ट डेभलपमेन्ट रिसर्च इन्स्टिच्युट’ को अन्तर्राष्ट्रिय संयोजक तथा अनुसन्धातामा तीन वर्षका लागि प्राडा झा नियुक्त भएका हुन ।

उक्त पदमा नियुक्तिपछि प्रा डा झाले भने ‘मलाई लाग्छ चीनमा बसेर आफ्नो पेसा र व्यवसाय गरिरहेका नेपालीमा यति उच्च पदमा सम्भवतः पहिलो नेपालीका रुपमा आफूले नियुक्ति पाएको खबरले निकै खुसी तुल्याएको छ ।’
उक्त संस्थाले चीनको विकास र अनुसन्धानमा सहयोग गर्ने, चीनको महत्वाकांक्षी आयोजना ‘वानबेल्ट वान रोड’ को सफलताका लागि यस आयोजनासँग आबद्ध विश्वका देशहरुसँग समन्वय गरी ती देशको विकास प्रयासमा सहायता प्रदान गर्ने, चीनको आर्थिक, सामाजिक, कानुनीलगायतका विभिन्न क्षेत्रका लागि आवश्यक नीति निर्माण गर्ने र अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्ध विकास र विस्तार गर्ने काम गर्दछ ।

चीनको सान्सी प्रान्तमा रहेको चिनियाँ अर्धसरकारी अन्तर्राष्ट्रिय स्तरको बुद्धिजीवीहरुको संस्था ‘सान्सी इनोभेटिभ ट्यालेन्ट डेभलपमेन्ट रिसर्च इन्स्टिच्युट’ को अन्तर्राष्ट्रिय विभागको संयोजकमा नियुक्त नेपाली प्राध्यापक डा राजिवकुमार झा । तस्बिर : एकराज पाठक, रासस

उक्त संस्थामा चीन सरकारका उच्च पदस्थ वर्तमान तथा निवृत्त अधिकारी, नीतिनिर्माता, प्राध्यापक, बुद्धिजीवी, चिनियाँ तथा विदेशी विकासविद्, कानुनविद्लगायत संलग्न छन् ।
साथै, सो संस्थाले हरेक वर्ष विभिन्न क्षेत्रका १०० जना प्रतिभाशाली व्यक्ति ‘सय प्रतिभा’ (हन्ड्रेड ट्यालेन्ट) पनि छनौट गर्ने गर्छ । प्राडा झा सन् २०१४ मा सो प्रान्तको एक सय प्रतिभामा छानिएका थिए ।
विगत २० वर्षदेखि चीनमा रहेका प्राडा झा हाल सान्सी प्रान्तको राजधानी सहर सियानमा अवस्थित सियान मेडिकल युनिभर्सिटीमा प्राध्यापन र अनुसन्धानरत छन् ।
उनले चीनको सियान जियानतोङ विश्वविद्यालयबाट प्याङ्क्रियाटिजमा लाग्ने क्यान्सरका कोषहरुको वृद्धिदर कम गर्ने विषयमा विद्यावारिधी गरेका हुन ।
उनले सन् २०१३ मा सोही विश्वविद्यालयबाट सोही विषयमा महाविद्यावारिधी (पोष्ट डक) गरेका छन् ।
उनको नाममा चीन सरकारले सन् २०१५ मा युनिभर्सिटी अफ सियानमा ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजिवकुमार झा’ पनि स्थापना गरेको छ ।
त्यस संस्थामार्फत उनले मेडिकल क्षेत्रमा अनुसन्धान गरिरहेका छन् । उनले महाविद्यावारिधिमा प्याङ्क्रियाजमा लाग्ने क्यान्सरका कोषहरुको वृद्धिको गतिलाई कसरी र कुन उपचार विधिबाट कम गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गरेका थिए ।
उनले हाल यस विषयमा सियान मेडिकल युनिभर्सिटी बाहेकका अरु तीनवटा विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रुपमा प्राध्यापन गरिरहेका छन् ।
विसं २०३६ मा धनुषाको प्रवाहा गाउँमा जन्मिनुभएका डा झा २० बर्षअघि एमबिबीएस अध्ययन गर्न चीन गएका थिए । विद्यावारिधि सकेपछि झा चीनमा नै प्राध्यापनरत थिए ।

चीनले नेपालसँगको सम्बन्धमा पछिल्लो समयमा निकै महत्व दिएको रुपमा आफूले बुझेको र सोही परिणामस्वरुप आफूले चीनको यो अन्तर्राष्ट्रियस्तरको थिंक ट्याङ्क संस्थामा महत्वपूर्ण जिम्मेवारी पाएको झाले बताए । यसबाट नेपाल–चीन सम्बन्धको विकास र सम्बद्र्धनमा ठूलो सघाउ पुग्ने झाको धारणा छ ।
चीनले ओबोरलाई महत्व दिएको र यस संस्थामार्फत पनि ओबोरमा संलग्न राष्ट्रहरुको विकासमा सहयोग गर्ने भएकोले नेपालको कृषि, पूर्वाधार निर्माण, पर्यटनजस्ता क्षेत्रमा चिनियाँ लगानी भित्र्याउन र अरु विविध क्षेत्रमा अनुसन्धानका लागि पनि सहयोग पुग्ने धारणा उनको छ । रासस

प्रकाशित मिति: Aug 9, 2017

प्रतिक्रिया दिनुहोस्