Logo
१२ श्रावण २०८१, शनिबार
(August 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भरतपुर पुर्ननिवाचन : मेयरमा प्रचण्ड पुत्री रेणु दाहाल विजयी


चितवन : चितवनको भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस-माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहाल विजयी भएकी छिन्। वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणनाका क्रममा जेठ १४ गते मतपत्र च्यातिएपछि शुक्रबार वडा नम्बर १९ मा पुनः भएको मतदान भएको थियो ।

१९ र २० वडाको मतगणना बाँकी हुँदा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली सात सय ८४ मतले अगाडि थिए। १९ र २० वडाको मतगणनाका क्रममा ज्ञवालीसँगको मतान्तर घटाउँदै अन्तिम समयमा दाहाल विजयी भएकी हुन्। उपमेयरमा समेत कांग्रेस–माओवादी गठबन्धनकै पार्वती शाह निर्वाचित भएकी छिन्।

निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार दाहाल दुई सय ३ मत अन्तरले विजयी भएकी हुन् । दाहालले ४३ हजार १ सय २७ मत ल्याएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी देवी ज्ञवालीले ४२ हजार ९ सय २४ मत प्राप्त गरेका छन् । भरतपुर महानगरका २९ वडामध्ये १४ वडामा एमाले, १२ वडामा कांग्रेस र तीन वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

भरतपुर महानगरपालिकामा सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो जसअनुसार माओवादी केन्द्रलाई प्रमुख र कांग्रेसलाई उपप्रमुख पद विभाजन गरिएको थियो । प्रमुख पदमा विजयी दाहाल माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुन् ।

राप्रपाका मेयर उम्मेदवार बद्री तिमल्सिनाले ६ हजार आठ सय ४२ मत प्राप्त गरेका छन् । उपमेयरमा कांग्रेसकी पावर्तती साह ४७ हजार १ सय ९७ मत ल्याएर विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उपमेयर उम्मेदवार दिव्या शर्मा आचार्यले ३९ हजार ५ सय २५ मत ल्याएकी छिन् । राप्रपाकी उपमेयर उम्मेदवार रिना गुरुङले ७ हजार २ सय ५२ मत प्राप्त गरेकी छिन्।

सर्वाधिक चर्चा र बहसमा रहेको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा नेपाली कांग्रेसको प्यालन नै विजयी भएको छ। कांग्रेसका वडा अध्यक्ष उम्मेदवार कर्णबहादुर गुरुङ १४ सय ७८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाश तामाङले एक हजार ९७ मत प्राप्त गरे भने माओवादीका वडा अध्यक्ष उम्मेदवार खड्कबहादुर गुरुङले ६६ मत प्राप्त गरे। उता राप्रपाका वडा अध्यक्ष उम्मेदवार प्रजापति सापकोटाले भने २७ मत मात्र प्राप्त गरे।

जेठ १४ गते मतगणनाका क्रममा मतपत्र च्यातिएपछि १९ वडामा पुनः शुक्रबार मतदान भएको थियो। मेयरमा रेणु दाहालको जितका निम्ति वडा नम्बर १९ र २० नै निर्णय बनेको छ ।  भरतपुरमा भोलि हुने विजय जुलुसमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने भएका छन् ।

प्रकाशित मिति: Aug 6, 2017

प्रतिक्रिया दिनुहोस्