Logo
५ जेष्ठ २०८१, शनिबार
(August 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कुलेखानीमा पानीको सतह घट्दो, पानी नपरेपछि समस्या

काठमाण्डौ । मुलुकको एकमात्र जलाशययुक्त जलविद्युत आयोजना कुलेखानीको जलाशयमा गत वर्षको वर्षायाममा भन्दा कम पानी जम्मा भएको छ । ९२ मेगावाट विद्युत उत्पादन क्षमताको कुलेखानी पहिलो र दोस्रो आयोजनाको जलाशय इन्द्रसरोवरमा साउन २० गते शुक्रबारसम्म समुन्द्रसतहदेखि १५०८ मिटरसम्म मात्र पानी सञ्चय भएको छ ।

जबकी गतवर्ष यही समयमा जलाशयमा पानीको सञ्चय १५१४ मिटरसम्म रहेको विद्युत प्राधिकरणका कुलेखानी जलविद्युत आयोजना प्रमुख बद्री फुयालले जानकारी दिए । गत वर्षको वर्षायाममा इन्द्रसरोवरको जलसतह १५२३.६७ मिटरसम्म पुगेको थियो। तर यसवर्ष साउन महिना १० दिनमात्र बाँकी रहँदाको अवस्थामा जलसतह १५ सय ८ मा नै रहँदा गत वर्षजति पानी जम्मा हुन नसक्ने हो कि भन्ने चिन्तामा विद्युत प्राधिकरणका अधिकारीहरु रहेका छन् ।

कुलेखानी जलाशययुक्त आयोजना भएकाले वर्षायाममा पानी सञ्चय गरेर हिउँदयाममा धेरै विद्युत उत्पादन गर्ने गरिन्छ। त्यस्तै विहान र बेलुका विद्युत धेरै माग हुने समयमा पनि मुलुकको उर्जाको माग यसै आयोजना सञ्चालन गरेर पूरा गर्ने गरिएको छ । अहिले पनि आयोजनाबाट पिक आवरमा मात्र पूरा क्षमतामा विद्युत उत्पादन गरिएको छ । अन्य समयमा भोल्टेजको समस्या देखिएका बेलामा मात्र विद्युत उत्पादन गरिने आयोजना प्रमुख फुयालले जानकारी दिए ।

हिउँदमा लोडसेडिङ नगर्न प्राधिकरणको मुख्य भरोसा यसै आयोजनाप्रति छ । इन्द्रसरोवरमा १५ सय ३० मिटरसम्म पानी जम्मा पार्न सकिन्छ। तर चार वर्षदेखि कुलेखानीको जलाशय पूर्ण क्षमतामा नभरिएको विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले जानकारी दिए। यसवर्ष हिउँदमा कुलेखानीको जलसतह १५ सय मिटरमा झरेको थियो । कुलेखानी जलविद्युत आयोजना पहिलोको ६० र कुलेखानी दोस्रोको ३२ मेगावाट विद्युत उत्पादन क्षमता छ ।

प्रकाशित मिति: Aug 5, 2017

प्रतिक्रिया दिनुहोस्