Logo
११ श्रावण २०८१, शुक्रबार
(August 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

करुणा कुँवर भन्छिन : ‘यौनका कुरा स्कुलदेखि नै सिकाउनुपर्छ’

यौनप्रति युवाको धारणा कसरी निर्माण भएको छ ?
पछिल्लो १० वर्षमा प्रविधिको विकास द्रुत गतिमा भयो । प्रविधिले दिने शिक्षा माथिल्लो तहसम्म पुग्यो भने समाजबाट आउने शिक्षा तल्लोस्तरमै रह्यो । अहिले इन्टरनेटमा सबैथोक हेर्न मिल्छ, तर समाजमा सेक्सबारे बोल्न लाज हुन्छ । यसरी यौनको कुरा गर्दा युवाले जसरी प्राकृतिक र स्वस्थ रूपमा बुझ्दै जानुपर्ने हो, त्यो हुन सकेन । एक्सप्लोर गर्ने नाममा उनीहरू पोर्न साइटमा पुग्न थाले । इन्टरनेटमा उपलब्ध असल कुरा के, कसो हो भनेर जान्नुभन्दा पहिले नै गलत अभ्यास भइसक्छ ।

अहिलेको पुस्ताले सेक्सलाई कुन रूपमा बुझ्छ ?
आधुनिक समाजले यौनप्रति अलि खुला हुन माग गरिरहेको छ, तर केहीले यसलाई पापसँग जोडेर पनि हेर्छन् । अर्काेतिर सामाजिक, सांस्कृतिक र अहिलेको आधुनिक कुरालाई सँगै जोडेर लगियो भने नेपालजस्तो देशमा मान्छेलाई अप्ठ्यारो पर्ने रहेछ । युवा दोधारमा छन् ।

सेक्सलाई कसरी लिनुपर्छ ?
सेक्स नितान्त आत्मासँग जोडिएको कुरा हो । एक किसिमको सम्मान र आत्मीयता भएको व्यक्तिसँग हुनुपर्छ । मन परेको मान्छेसँग जतिबेलासम्म मन मिल्छ, त्यसबेलासम्म स्वस्थ यौनसम्बन्ध राख्न सकिन्छ । यसो हुनसके आनन्ददायक पनि हुन्छ । सेक्स जोसँग पनि हुन सक्छ भनेर दिनैपिच्छे फरक मान्छेसँग सम्बन्ध राख्नु भनेको यौनप्रतिको सम्मान हैन । सेक्सलाई सम्मान नगर्दा मान्छेलाई पनि सम्मान हुँदैन । यसले विभिन्न अप्ठ्याराहरू समेत ल्याउन सक्छ । स्वस्थ यौनले सम्बन्धलाई प्रगाढ गर्न पनि सहयोग पु¥याउँछ । त्यसैले सेक्सलाई आनन्दको रूपमा मात्र नहेरौँ ।

समाजले यौनलाई कसरी हेर्नुपर्छ ?
पहिले समाजले यौनलाई चरित्रसँग जोडेर हेरेको थियो । यो लज्जास्पद कुरा हो भनिन्थ्यो । अब पाठ्यक्रममा पनि यो विषय राख्नुपर्छ । अब स्वस्थ यौन शिक्षाबारे कुरा गर्नुपर्छ । सानैदेखि यसलाई सामान्य रूपमा बुझ्न सक्ने बनाइनुपर्छ । जस्तो : अहिले पाठ्यक्रममा यस्ता विषय समावेश नहुँदा अचानक किशोर किशोरीले यस विषयमा कुरा उठाएमा खराब कुरा गर्‍यो भन्ने सोचिन्छ । यदि यौनबारे लुकाइयो भने त्यसले झनै असर गर्छ । त्यसैले, यौन/यौनिकताकाबारे स्कुल तहदेखि नै पढाइनुपर्छ । प्रस्तुति: किरण दाहाल @अन्नपूर्ण

प्रकाशित मिति: Aug 4, 2017

प्रतिक्रिया दिनुहोस्