Logo
४ जेष्ठ २०८१, शुक्रबार
(August 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजपामा अन्योलः भाग नलिँदा कार्यकर्ता भाग्ने, लिँदा मुद्दा गुम्ने डर

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालको बुधबारदेखि बसेको पदाधिकारी बैठक चुनाव केन्द्रीत भएको छ । अधिकांश नेताहरुले चुनावमा जानका लागि सुझाव दिएका रहेका छन् भने कतिपय नेताले कुनै पनि हालतमा चुनावमा जान नहुने तर्कहरु प्रस्तुत गरिरहेका छन् । कतिपयले संगठन जोगाउनका लागि भएपनि चुनावमा जानुपर्ने तर्क गरिरहेका छन् भने कतिपयले मुद्दा जोगाउनका लागि भएपनि चुनावमा जानु हुँदैन भनि तर्क गरिरहेका छन् ।

दोस्रो दिनको बैठकमा ३१ जनाले धारणा राखेका थिए । ती मध्ये अधिकांशले चुनावमा जानुपर्ने धारणा राखेको बैठकमा सहभागी नेताहरुले बताए । पार्टीका उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवले चुनाव गएपनि नगएपनि राजपा नेपाललाई घाटा रहेको तर्क प्रस्तुत गरे । ‘चुनावमा गएन भने कार्यकर्ता भाग्ने डर, चुनाव गए भने मुद्दा हराउने डर, यही भएर राजपा नेपाल सोचविचार गरेर निर्णय लिनुपर्छ’, उनको सुझाव थियो ।

अहिले तराई मधेशमा चुनावको वातावरण रहेको र निर्वाचनमै जनता रमाईरहेको उल्लेख गर्दै उनले यस अवस्थामा आन्दोलनको घोषणा गरेमा प्रभावकारी नहुने धारणा राखेका थिए । महासचिव अजय गुप्ताले जनता चुनावका लागि तयार भइसकेकाले चुनावमा भाग नलिए कुनै कार्यकर्ता राजपा नेपालमा नबस्ने धारणा बैठकमा राखेका थिए । संगठन जोगाउनका लागि भएपनि चुनावमा जानुपर्ने कुरामा उनले जोड दिएका थिए । जिल्लामा कतिपय व्यक्ति पार्टीमा प्रवेश गर्ने भनि तयारी भएर बसेको तर चुनावमा भाग नलिए पार्टीमा नआउने उनको धारणा थियो । मधेशी दल अहिलेको अवस्थामा चुनाव विथोल्ने अवस्थामा नरहेको पनि उनको भनाइ थियो ।

सचिव अमरेन्द्र साहले मधेशी जनता चुनावको तयारीमा लागि सकेको कारणले पार्टी पनि चुनावमा जाने निर्णय गर्नुपर्ने धारणा राखेका थिए । चुनावमा गएन भने कुनै पनि कार्यकर्ता राजपा नेपालसँग नबस्ने तर्क गर्दै उनले यो स्थानीय तहको चुनावमा भाग नलिए अर्को चुनावमा कुन नैतिकताले भाग लिने भनि प्रश्न गरेका थिए ।  चुनावमा भाग लिनुपर्ने पक्षमा डा.सुरेन्द्र तिवारी, जयप्रकाश ठाकुर, अल्लाहुदीन अन्सारी, सुरेश पाण्डे, राजेशकुमार यादव, किरण यादव, निलम वर्मा, ललितबहादुर थापा, काजीमान लोप्चन, गज्जाधर यादव, विश्वेश्वर यादव लगायत थिए । उनीहरुले प्राप्त उपलब्धीलाई रक्षा गर्नका लागि भएपनि चुनावमा जानुपर्ने धारणा राखेका थिए ।

उपाध्यक्ष उमाकान्त झाले तीन बुँदे माग पूरा नभएसम्म चुनावमा जान नहुने धारणा राखे । पटक पटकको आन्दोलनपछि यतिधेरैको शहादत भएको तर हालसम्म कुनै पनि माग पूरा नभएको भन्दै कुन मुखले चुनावमा जाने भनि भनी प्रश्न गरेका थिए । सहसचिव जेपी यादवले यथास्थितिमा चुनावमा सहभागि भए पार्टीका लागि ठूलो क्षति हुने भन्दै अन्य प्रदेशमा भाग नलिएकाले २ नम्बरमा मात्रै भाग लिनुको अर्थ नहुने उनको भनाई थियो । दुई नम्बर प्रदेशको चुनावमा भाग लिएर पार्टी २ नम्बरमा मात्रै सीमित हुने यादवको तर्क थियो ।

सहमहासचिव डा.सुरेन्द्रकुमार झाले मधेशी जनता चुनावको पक्षमा नभई, आन्दोलनको पक्षमा रहेको जिकिर गरे । अलि अलि आन्दोलन गरेर कसैलाई मन्त्री बन्ने, कसैलाई सांसद बन्ने लोभ छ भने अहिले नै स्पष्ट गर्न झाले सुझाए । ‘आन्दोलन मन्त्री बन्न वा सांसद वा मुखिया बन्नका लागि होइन, मुक्तिका लागि आन्दालन भएको थियो,’ झाले भने, ‘जसले अधिकारका लागि आफ्नो ज्यानको प्रवाह गरेनन् त्यसलाई एकपटक सम्झनुस् अनि चुनावमा जाने कि नजाने विषयमा निर्णय लिनुस् ।’

सहमहासचिव संजय यादवले पनि चुनावमा गएर मधेशको एजेण्डा समाप्त नगर्न अध्यक्ष मण्डललाई सुझाव दिए । चुनावमा जाने भए उपेन्द्र यादवलाई नेता मानेर जान यादवले नेताहरुलाई सुझाव दिए । प्रमुख तीन दलले मधेशमा जवर्जस्ती चुनावको वातावरण बनाउन खोजे पनि वातावरण नबनेको भन्दै झाले आन्दोलन घोषणा गरेपछि निर्वाचनको माहौल रोकिने पनि सुझाव दिए ।भन्दै रातोपाटीमा रिर्पोट छ ।

बुधबारदेखि शुरु भएको राजपा नेपालको बैठक शुक्रबार पनि बस्नेछ । एक सय ३३ जना पदाधिकारीमध्ये वैठकमा ८३ जनाको मात्र उपस्थिति रहेको छ । ती मध्ये ४४ जनाले धारणा राखिसकेका छन् । शुक्रबार धारणा राख्ने क्रम सकिएपछि अध्यक्ष मण्डलबाट प्रश्नहरुको जवाफ दिइनेछ । पदाधिकारी वैठकपछि साउन २२ गतेदेखि केन्द्रीय कार्यसमितिको बैठक बस्ने राजपा नेपालले जनाएको छ ।

प्रकाशित मिति: Aug 4, 2017

प्रतिक्रिया दिनुहोस्