Logo
११ श्रावण २०८१, शुक्रबार
(August 4, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनबारे सूचना तथा सञ्चारमन्त्रीको यस्तो भनाई

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल एक चीन नीतिको पक्षमै दृढ रहेको बताएका छन् । साइनो नेपाल मिडिया सोसाइटीले नेपाल–चीन दौत्य सम्बन्ध कायम भएको ६२औँ वर्षको अवसरमा आयोजना गरेको कार्यक्रममा उनले नेपाल र चीनबीच सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध अझ सुदृढ हुँदै गएको बताए ।

नेपालमा चीन विरोधी गतिविधि गर्न नदिन सरकार सदैव सचेत र सतर्क छ भन्दै मन्त्री बस्नेतले नेपालको आन्तरिक मामिलामा चीन मौन रहनु र दैवी विपत्तिमा चिनियाँ जनता नेपालीको घरदैलोसम्म पुग्नुले पनि नेपाल–चीन बीचको सम्बन्ध प्रगाढ, मैत्रीपूर्ण र भाइचारामा आधारित रहेको चर्चा गरे । उनले चीनसँग जोडिन बाँकी ११वटा नाका खुलेपछि चिनियाँ र नेपाली जनताबीच अझै सुमधुर सम्बन्ध कायम हुने जानकारी दिए ।

सांसद रूपा महर्जनले छिमेकी मुलुक चीन र भारतबाट नेपालले धेरै लाभ लिन सक्ने बताउँदै नेपाल दुई देशबीच सेतुका रुपमा रहनुपर्ने बताए । उनले चीनले लिएको वान रोड वान वेल्ट (ओआरओवी) अवधारणमा नेपालले सहमति जनाइसकेको जानकारी दिए । सन् २०१३ मा चीनका राष्ट्रपति सी जिन पिङले सो अवधारण अघि सार्नुभएको थियो । हाल सो अवधारणमा नेपालसहित ६८ राष्ट्रले सहमति जनाइसकेका छन् ।

नेपालका लागि चीनका राजदूत यू ह्वाङले नेपाल र चीन सरकारबीचको सम्बन्ध पुरानो र जनस्तरसम्म फैलिएको बताए । उनले नेपालको विकासमा चीन सरकार सदैव सकारात्मक रहेको उल्लेख गर्दै चिनियाँ लगानीबाट नेपालमा केही ठूला परियोजना सम्पन्न भएको स्मरण गराउनुभयो । पूर्व परराष्ट्रमन्त्रीद्वय महेन्द्रबहादुर पाण्डे र रमेशनाथ पाण्डेले नेपाल र चीनबीचको सम्बन्ध अनुपम रहेको जानकारी दिए ।

कार्यक्रममा चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्की तथा सोसाइटीका अध्यक्ष ध्रव पौडेलले भारत र चीनसँगको सम्पर्क सदैव सन्तुलित र व्यावहारिक हुनुपर्ने बताए । नेपाल र चीनबीच सन् १९५५ मा दौत्य सम्बन्ध कायम भएको थियो ।

प्रकाशित मिति: Aug 3, 2017

प्रतिक्रिया दिनुहोस्